सुन बरामद प्रकरण: एक भारतीयसहित ६ जना पक्राउ, सुन जोख्न आज राष्ट्र बैंक लगिने

  • ख-
  • ख+

४ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।

विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।

यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।

बरामद भएको सुनको परिमाण एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्