ललिता निवासको २२ रोपनी जग्गा सासु, श्रीमती र सालोको नाममा कर्मचारीलाई बकस (सूचिसहित)

  • ख-
  • ख+

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सरकारी लिखत कीर्ते गरेर हडप्न ९ जना कर्मचारी र दुई विचौलियालाई २२ रोपनी १० आना जग्गा बकस दिएको पाइएको छ ।

सरकारी छाप दस्तखत कीर्ते र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । त्यसमा जग्गा हडप्न सहयोग गरेवापत २२ रोपनी १० आना जग्गा घुस लिने कर्मचारी र विचौलियाको विवरण उल्लेख गरिएको छ ।

ती जग्गा २०४९ देखि ०५१ सालको अवधिमा व्यक्तिको नाममा गएको प्रतिवेदनमा उल्लेख छ । रायसहितको प्रतिवेदनमा उल्लेख भएअनुसार मालपोत विभागमा २०४६ सालको मंसिरदेखि ०४७ सालको केही समयसम्म मालपोत अधिकृत रहेका प्रेमबहादुर खापुङले १ रोपनी १४ आना २ पैसा जग्गा लिएका थिए । उनले श्रीमती खिमादेवी आङबुहाङ र भिनाजु मोहनप्रसाद भट्टराईको नाममा जग्गा लिएको अनुसन्धानबाट खुलेको छ ।

सीआईबीसँग कागज गर्दै उनकी श्रीमती खिमादेवीले अरु केहीसँग मिलेर जग्गा प्राप्त गरेको भएपनि कसरी किनेको भन्ने थाहा नभएको बताएका छन् । ‘त्यो जग्गा सुवेदी थरका व्यक्तिहरुलाई २०६१ सालतिर बेचेको भन्ने सुनेको हुँ’, उनले भनेका छन् । ललिता निवासको हडप्ने क्रममा तयार गरिएको केही सरकारी कागजातमा उनको हस्ताक्षर पनि फेला परेको छ । तर, उनले ‘सम्बन्धित फाँटवालाले ल्याएको कागजातहरु विश्वासमा परेर सही गरी पठाएको’ भनेका छन् ।

मालपोत कार्यालय, भक्तपुरका तत्कालीन शाखा अधिकृत ९पूर्वनिर्वाचन आयुक्त० सुधीर शाहले श्रीमती उर्मिला शाहको नाममा ११ आना २ पैसा जग्गा लिएको उल्लेख छ । शाह अहिले सीआईबीको हिरासतमा छन् ।

त्यस्तै, राष्ट्रिय योजना आयोगका तत्कालीन शाखा अधिकृत गेहनाथ भण्डारीले श्रीमती भुवनकुमारी चापागाईंको नाममा ३ रोपनी ५ आना जग्गा लिएको प्रतिवेदनमा उल्लेख छ । शाह र चापागाईं दुवैले सीआईबीसँग आफूहरुले जग्गा खरिद गरेको दाबी गरेका छन् ।

सुधीर पत्नी उर्मिला शाह र गेहनाथ पत्नी भुवनकुमारी चापागाईंको नाममा कित्ता नं. ३६ को १ रोपनी २ पैसा जग्गा भेटिएको छ । भण्डारीले सासु सोदाकुमारी चापागाईंको नाममा कित्ता नं. १९ को १० आना जग्गा राखेको देखिएको सीआईबीको रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

मालपोत विभागका शाखा अधिकृत प्रेमबहादुर खापुङले सालो मोहनप्रसाद भट्टराई र उनकी श्रीमती शशीकला सुब्बाको नाममा कित्ता नंं १३ को १ रोपनी ३ आना जग्गा लिएको भनिएको छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा जगत पुडासैनीले दिदी मिठुदेवी चापागाईंको नाममा कित्ता नम्बर २७ को १ रोपनी १० आना २ पैसा जग्गा लिएको उल्लेख छ । सरकारले राजनीतिक कारणले जफत गरेको जग्गा २०४७ सालमा हदबन्दी टुंगो लगाएर गृह मन्त्रालयमार्फत फिर्ता दिने निर्णय भएको थियो । तर, त्यसको विपरीत सुनीति राणा समेतको नाममा जग्गा दर्ता गर्न पुडासैनी समेतको संलग्नता रहेको सीआईबी निष्कर्ष छ ।

पुडासैनी नासु रहेका बेला प्रमुख मालपोत अधिकृत कलाधर देउजाले साढु दाइ इन्द्रबहादुर थापाको नाममा कित्ता नं. २८ को २ रोपनी ८ आना जग्गा लिएका छन् । मालपोत विभागका तत्कालीन निर्देशक मुकुन्दप्रसाद आचार्यले १ रोपनी जग्गा ज्वाईं बैकुण्ठ शर्मा रेग्मीको नाममा लिएको भेटिएको छ ।

देउजाको निर्णयका आधारमा २३ पुस २०४९ मा मिसिल नम्बर १०२४ को आधारमा २८ रोपनी १५ आना १ पैसा क्षेत्रफलको १९ कित्ता सरकारी जग्गा व्यक्तिको नाममा गएको सीआईबीको अनुसन्धानले देखाएको छ । ‘श्री ५ को सरकार गुठी’को नामको श्रेस्ता खारेज गरेर उनले सुनीति राणा, हेमन शमशेर जबरा र हाटक शमशेर जबरा समेतको नाममा जग्गा पास गरिदिएका थिए ।

कित्ता नं. २५ समेतको ७ रोपनी १४ आना जग्गा पनि श्री ५ को सरकार गुठी नामको श्रेस्ता खारेज गरेर व्यक्तिको नाममा लगेको खुलेको छ ।

समरजंग कम्पनीका तत्कालीन सह–लेखापाल विनोदप्रसाद पौडेलले श्रीमती विद्या पौडेल गौतमको नाममा कित्ता नं. २१ र ३४ को २ आना र ११ आना जग्गा लिएको पाइएको छ । गृह मन्त्रालयको समरजंग कम्पनीमा अर्जुन भण्डारीको प्रमुख रहेका बेला विचौलियाले ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा नक्कली पशुपति टिकिन्छा गुठीको नाममा लैजाने प्रयास थालेका थिए ।

अनुसन्धान अधिकृतहरूका अनुसार, २०१७ सालको अंशबण्डाको लिखतमा गुठीको नाम उल्लेख छैन । २०२३ सालको नापीमा पनि गुठीको नाम श्री ५ को सरकार उल्लेख छ । २०४१ र २०४७ सालको नापीको फिल्ड बुकमा अहिले हडपिएको भनिएको जग्गाको धनी श्री ५ को सरकार समरजंग कम्पनी उल्लेख रहेको अधिकृतहरू बताउँछन् । तर, समरजंग कम्पनीको नाममा भएको २१ कित्ता जग्गा पशुपति टिकिन्छा गुठीको भएको भन्दै आशामाया महर्जनसहित १३ जना मोही भनिएकाको वारेसमा रामकुमार सुवेदीले गुठी संस्थानमा निवेदन दिएका थिए ।

त्यसक्रममा संस्थानको तहसिल शाखाले ३२ असार २०५९ मा ‘सो जग्गाहरू समरजंग कम्पनी अन्तर्गतको कस्तो प्रकृतिको जग्गा हो रु निवेदकको मागदाबी अनुसार गुठी कायम गर्न मिल्ने जग्गा हो वा होइन रु सो सम्बन्धी कार्यालयको प्रतिक्रिया पठाइदिन’ भन्दै पत्राचार गरेको थियो । जवाफमा भण्डारीले ‘उल्लेखित जग्गाको रेकर्ड नभेटिएको’ जवाफ पठाएका थिए । त्यही आधारमा जग्गा हडप्ने प्रक्रिया सुरु भएको अधिकृतहरुको भनाइ छ ।

पछि गुठी संस्थानबाट त्यो जग्गाहरुको सम्बन्धमा अभिलेख पठाउन भनेर पत्राचार हुँदा विनोदले गलत प्रलोभनमा परेर आफ्नो जिम्मामा रहेको जग्गाको अभिलेख नष्ट गरेको सीआईबीको निष्कर्ष छ । उनले गुठी संस्थानले सार्वजनिक सूचना जारी गर्दा समेत ‘मौन बस्दा समरजंग कम्पनीको हक मर्न गएको’ सीआईबीको निष्कर्ष छ ।

मालपोत कार्यालय, डिल्लीबजारका खरिदार युक्तप्रसाद श्रेष्ठले बहिनी निर्मलादेवीको नाममा कित्ता नं. २० र २६ को क्रमशः ५ आना र १ रोपनी ८ आना जग्गा लिएका रायसहितको प्रतिवेदनमा उल्लेख छ ।

विचौलिया रामकल्याण अधिकारी र रामनाथ घिमिरेले पनि ललिता निवासभित्रको जग्गा लिएका छन् । अधिकारीले कित्ता नं. ९२ को ८ आना र कित्ता नं. ७० को २ रोपनी ४ आना जग्गा लिएका छन् । घिमिरेले कित्ता नं. ८३ को ३ रोपनी ४ आना जग्गा लिएका छन् ।

अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?