कार्यालय सहयोगीमाथि हाकिमको ३ बर्षदेखि यौन शोषणः गर्भपतन गराएपछि बिरामी हुदाँ बाहिरियो घटना

  • ख-
  • ख+

१९ भाद्र । चितवन । जिल्ला तथ्यांक कार्यालय चितवनका प्रमुख यज्ञमूर्ति भण्डारीले एक कार्यालय सहयोगीलाई तीन वर्षयता यौन शोषण गरेको खुलेको छ । गत वैशाख १२ देखि नै महिनावारी रोकिएको र चार महिना नाघेको गर्भ पतन गराउँदा ३५ वर्षकी कार्यालय सहयोगीको ज्यान जोखिममा परेपछि यो घटना बाहिर आएको हो ।

कार्यालयमा कार्यरत आमा प्यारालाइसिस भएपछि उनी तीन वर्षयता सहयोगीको रूपमा काम गरिरहेको थिइन् । गर्भ बसेको चार महिना भएपछि ‘नचिनेको क्लिनिकमा गएर गर्भपतन गर’ भनेर दबाब दिँदा १४ हप्तामाथिको गर्भपतनको अनुमतिसमेत नभएको प्रगति पोलिक्लिनिक भरतपुरमा उनी गएकी थिइन् ।

चितवनमा भरतपुर अस्पतालबाहेक अरु अस्पताललाई १४ हप्तामाथिको गर्भपतन गराउने अनुमति छैन । प्रगति पोलिक्लिनिकले पनि गर्भपतन गराउन सूचीकृतको लागि आवेदन दिएपनि स्वीकृत भएरनभएको जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी फोकल पर्सन नन्दकली चापागाईँले बताइन् । अनुमति पाएपनि १४ हप्तामाथिको गर्भपतन गराउन भरतपुर अस्पतालमात्रै सूचीकृत छ ।

भरतपुरको अस्पताल रोडमा रहेको क्लिनिकमा गत मंगलबार भदौ १२ गते गर्भपतनको लागि पुगेकी थिइन् । उनलाई औषधि खुवाएर गर्भपतन गराउँदा अत्यधिक रक्तश्राव भएपछि भदौ १३ गते राति भरतपुर अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो ।

अस्पतालकी ओसीएमसी शाखाकी नर्स कल्पना खनालले भदौ १३ गते राति अत्यधिक रक्तश्राव भएपछि क्लिनिकका डाक्टर आफैंले अस्पतालको आईसीयूमा ल्याएर भर्ना गरिदिएको बताइन् । उनका अनुसार गर्भ राम्रोसँग नगएकोले अस्पतालमा लगेर महिलाको पाठेघर पुन: सफाइ समेत गर्नुपरेको थियो ।

तर, उनलाई तीन दिनसम्म पनि भेट्न आफ्नो मान्छे नगएपछि अस्पतालमा कार्यरत डाक्टर तथा नर्सले नै सोधपुछ गर्दा यौन शोषणपछिको घटना भन्ने थाहा पाएको नर्स खनालले जानकारी दिइन् । हाल उनी भरतपुर अस्पतालमा नै उपचाररत छिन् । उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । कुराकानीमा उनले आफूलाई तीन वर्षयता पटक-पटक यौन सम्पर्कको लागि दबाब दिने गरेको बताइन् ।

उनले भनिन्, ‘म अफिसको तल बस्थेँ, त्यही घरको बीच तलामा कार्यालय थियो, कार्यालयको माथिल्लो भागमा हाकिम सर बस्नुहुन्थ्यो । उहाँले हाकिमले भनेपछि जतिबेला पनि आउनुपर्छ भनेर दबाब दिनुहुन्थ्यो त्यहि भएर म बोल्न सक्थिनँ ।’

उनलाई अहिले अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले हेरचाह गरिरहेको छ ।

उनी विवाहित भएपनि विवाह पछि श्रीमान्‌सँग सम्बन्ध राम्रो नभएपछि एक्लै बस्दै आएकी थिइन् । उनको माइतीमा बुबा र सौतेनी आमा छन् भने आफ्नो आमा प्यारलाइसिसका कारण थला परेकोले अरुको सहायता लिनुपर्ने अवस्थामा रहेको बताइन् ।

प्रमुख भण्डारीलाई हिरासतमा लिएर आइतबार जबरजस्ती करणीअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय चितवन स्रोतले जानकारी दिएको छ । ४४ वर्षका भण्डारीको स्थायी घर पूर्वी नवलपुरस्थित सुनवल नगरपालिका(१२ हो ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?