काठमाडौँ । नेपालीहरूको मुख्य चाड दसैँ–तिहारकै मुखमा बजारमा चिनीको हाहाकार मच्चिएको छ । न्यून स्वदेशी उत्पादनसँगै अन्तर्राष्ट्रिय बजारबाट समेत समयमै चिनी आयात हुन नसक्दा चाडबाडकै बेला बजारमा चिनीको व्यापक अभाव देखिएको हो ।
प्रतिकेजी १६० रुपैयाँ तिर्न तयार हुँदासमेत सर्वसाधारण उपभोक्ताहरूले चिनी पाउन सकेका छैनन् । उसो त सरकारी दुई व्यापारिक संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट्र ट्रेडिङ कर्पोरेसनमा समेत चिनीको स्टक क्लियर अर्थात् मौज्दात सकिएको छ ।
आइतबारदेखि दसैँ–तिहार विशेष सुपथ पसल सञ्चालन गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी अभावकै कारण आफ्ना बिक्री केन्द्रहरूमा राखिएका मूल्य सूचीमा चिनी समावेश नगरिएको जानकारी दिएको छ ।
‘हामीसँग चिनीको स्टक निकै कम छ । सुपथ पसल उद्घाटनको दिन सम्ममा जम्मा ७२० केजी मात्र चिनी थियो । यो पनि आजबाट सकिदैछ’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले रातोपाटीसँग भन्नुभयो, ‘स्टकमै नभएपछि उपलब्ध मूल्य सूचीमा चिनी राखेनौँ ।’
आइतबारदेखि खुल्ला गरिएको सुपथ मूल्य पसलमा आउने ग्राहकलाई प्रतिव्यक्ति २ किलोका दरले चिनी उपलब्ध गराइएको न्यौपानेको भनाइ छ । अघिल्लो दिनै हारालुछको अवस्थामा चिनी बिक्री भएकोमा दोस्रो दिनमै चिनीको स्टक सकिनेवाला छ । यसपछि भने आफ्नो कुनै पनि बिक्री केन्द्रमा चिनी नहुने उहाँको भनाइ छ ।
‘जति छ, बेच्छौँ । थप चिनी भने आउने सम्भावना छैन,’ न्यौपानेले भन्नुभयो, ‘नयाँ टेन्डरमा जाने हो भने पनि कम्तीमा ४५ दिनको समय चाहिन्छ । दसैँअगाडि चिनी आउने सम्भावना भएन,’ उहाँले भन्नुभयो ।
साल्ट ट्रेडिङको अवस्था पनि उस्तै
यता साल्ट ट्रेडिङ कर्पोरेसनको अवस्था पनि उस्तै छ । संस्थामा चिनीको स्टक रित्तिदा सर्वसाधारण उपभोक्ताले किन्न पाइरहेका छैनन् । संस्थाको बिक्री केन्द्रमा चिनीको स्टक अत्यन्त न्यून रहेको र सो आजैभोलि सकिने अवस्थामा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका विभागीय प्रबन्धक ब्रजेश कुमार झाले बताउनुभयो । झाका अनुसार थप चिनी कहिले आउँछ भन्न सकिने अवस्था छैन ।
साल्ट ट्रेडिङ कर्पोरेसनले ढिला गरी आइतबार मात्र चिनी आयातका लागि नयाँ टेन्डर खुल्ला गरेको छ । दसैँको मुखैमा आएर मात्र टेन्डर गरेको संस्थाले १० हजार मेट्रिक टन चिनी आयात गर्ने भएको छ । तर, यो दसैँ र तिहारअघि आउने सम्भावना छैन ।
किन दसैँ–तिहारकै मुखमा आएर टेन्डर गरेको ? यसअघि नै गर्नुपर्दैन ? भन्ने हाम्रो प्रश्नमा विभागीय प्रमुख झाले भने, ‘सरकारको स्वीकृति विना हामीले कुनै पनि वस्तु आयात गर्न सक्दैनौ, पाउँदैनौ । सरकारले नै ढिला गरी अनुमति दिएकाले यस्तो हुन गएको हो’ ।
सरकारको असंवेदनशीलताको पराकाष्ठा
उसो त साल्ट ट्रेडिङ कर्पोरेसनले तीन वर्ष यता खुलेर चिनीको आयात गर्न पाइरहेको छैन । २०७७ भदौमा संस्थाले लगभग १० हजार मेट्रिक टन चिनी आयात गर्दै गर्दा सरकारले बाटोमा नै रोकिदिएको थियो ।
झण्डै चार महिना वीरगञ्ज भन्सारमा थन्किएको चिनीका लागि साल्ट ट्रेडिङले करोडौँ घाटा व्यहोरेको थियो । त्यस यता सरकारले स्वदेशी उत्पादन र उद्योगको क्षमता वृद्धि गर्दै आन्तरिक उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भन्दै चिनी आयातमा प्रायः प्रतिबन्ध लगाउँदै आएको छ ।
उता सोही समयमा भारतले समेत वार्षिक चिनी निर्यातको कोटा तोकिदिएपछि समस्या आएको साल्ट ट्रेडिङका विभागीय प्रमुख झा बताउँनुहुन्छ ।
‘पछिल्लो पटक भारतले ६० हजार मेट्रिक टन मात्र चिनी निर्यात गर्ने गरी कोटा तोकिदिएको छ । यसले नेपालले पाउने चिनीको परिणाम स्वतः घट्ने भएको छ । अर्कोतर्फ नेपाल आफैले चिनी आयातको नीति परिवर्तन गरिरहेको छ । यसले पनि उपभोग्य बजार प्रभावित भइरहेको छ,’ झाले भन्नुभएको छ ।
हाल नेपालमा चिनी खपतको बजार वार्षिक ३ लाख मेट्रिक टन हाराहारी छ । तर, स्वदेशी १२–१३ वटा उद्योगले वर्षमा मुस्किलले १ लाख ४० हजार मेट्रिक टन जति मात्र उत्पादन गरिरहेका छन् ।
बाँकी अपुग १ लाख ६० हजार मेट्रिक टन बराबरको चिनी भारतबाट हुने आयातले धानिरहेको छ । तर, सो समेत रोकिन पुग्दा पछिल्लो समय बजारमा चिनीको हाहाकार नै मच्चिन पुगेको हो ।
तर, यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने हाल बजारमा भएको चिनीलाई नै व्यवस्थित गरेर उपभोक्तालाई दिने गरी तयारी भइरहेको जवाफ दिएको छ ।
‘स्वदेशी उत्पादन हाल विभिन्न उद्योगहरूले किनेर राखेको चिनीको परिणाम १८८ क्वीन्टल रहेको छ । यो चिनीलाई बजारमा पठाउने र पछि चिनी प्राप्त भएपछि उद्योगलाई दिने गरी गृहकार्य भइरहेको छ,’ विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक आनन्दराज पोखरेलले बताउनुभयो।
विभागले चाडबाड आउनुपूर्व नै चिनीको सम्भावित अभावलाई ध्यानमा राखेर आवश्यक प्रक्रिया पुर्याएर मन्त्रालयमा पठाएको थियो । तर, सम्बन्धित मन्त्रालय, अर्थमन्त्रालयले आवश्यक निर्णयसहित बजेट विनियोजन नगरिदिँदा समस्या आएको उहाँले बताउनुभयो ।
यद्यपि, विभागले मन्त्रालय, साल्ट ट्रेडिङ कर्पोरेसनसँग समन्वय गरेर आवश्यक चिनी आयातको तयारी गरिरहेको उहाँले बताउनुभयो । ‘अस्ति मात्र विभागले साल्ट ट्रेडिङलाई जफत गरिएको ७ सय क्वीन्टल चिनी उपलब्ध गराएको छ । यसले बजारको केही माग पुरा गर्छ । थप चिनी आपूर्तिका लागि तयारी हुँदैछ,’ पोखरेलले भन्नुभयो ।
यता बजारमा अभावको मौका छोपी महँगोमा चिनी बिक्री वितरण भइरहेकोमा त्यस्तो सूचना आए आफूहरू कारबाही गर्न तयार रहेको उहाँले बताउनुभएको छ ।
‘चिनी अभावको मौका छोपेर केही व्यवसायीहरूले महँगोमा उपभोक्ता ठगिरहेको भन्ने सुनिएको छ । तर, कुनै उजुरी तथा गुनासो आएको छैन । यदि उजुरी परे सम्बन्धित कम्पनी फर्म वा व्यक्तिलाई विभागले कानुन बमोजिम कडा कारबाही गर्नेछ,’ निर्देशक पोखरेलले भन्नुभयो ।
हाल सरकारी सुपथ मूल्य पसलमा प्रतिकेजी ९७ रुपैयाँमा चिनी उपलब्ध गराइरहेकोमा बाहिर बजारमा व्यापारीहरूले प्रतिकेजी १६० रुपैयाँसम्म उठाइरहेका छन् ।
साभारः रातोपाटी