इजरायलमा ज्यान गुमाएका ४ जनाको शव परिवारले बुझे

  • ख-
  • ख+

कैलाली । इजरायलमा मृत्यु भएका कैलाली र दार्चुलाका चार जनाको शव परिवारका सदस्यहरूले बुझेका छन् । नेपाली सेनाको स्काई भ्यान मार्फत धनगढी ल्याइएका ती शवहरू आजै परिवारका सदस्यहरूले बुझेका हुन् ।

कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन ४ का लोकेन्द्रसिंह धामी र दार्चुलाकै लेकम ५ का दीपेशराज बिस्टको शव धनगढी पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले सबै शवहरू परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएको जानकारी दिए ।

सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी शव परिवारसम्म पुराउने व्यवस्था गरिएको थियो । सबैको शव भोलि नै अन्त्येष्टि गर्ने तयारी रहेको छ ।

४ जनाको शवसँगै नेपाली सेनाको स्काई भ्यानमै नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी पुगेका थिए । उनले विमान स्थलमा मृतकका आफन्तलाई भेटघाट गरेका थिए ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका हुन् । आज चार जनाको शव आए पनि अझै ६ जनाको शव भने आउन बाँकी छ । ती ६ जना मध्ये सुदूरपश्चिमका तीन जना छन् ।
२० गते बाटै कञ्चनपुर भीमदत्त नगरपालि ३ का विपिन जोशी बेपत्ता छन् । उनको अवस्था अझै अज्ञात छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्