मुगुमा एकै परिवारका चारजनाको सामूहिक हत्या

  • ख-
  • ख+

मुगु । मुगुको छायानाथ रारा नगरपालिका-६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृत अवस्थामा फेला परेका छन् । उनीहरूको सामूहिक हत्या भएको प्रहरीले जनाएको छ ।

छायानाथ रारा-६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर मृत भेटिएका हुन् । धारिलो हतियार प्रहार गरी रातिको समयमा चार जनाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको उनले बताए ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।

श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । हत्या कसले के उद्देश्यले गर्‍यो भन्ने खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताए ।

प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडास्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएको हुनसक्ने अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फोडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्