
१५ मंसिर, विराटनगर । कोशी प्रदेश सरकारले प्रमुख तीन दलको कार्यालय भवन बनाउन बजेट छुट्याएको पाइएको छ ।
प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत बुधबार पारित गरेको आर्थिक वर्ष २०८०(८१ को बजेटमा तीन ठूला पार्टीको भवन बनान बजेट बजेट छुट्याएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली कांग्रेससँगै नेकपा एमाले, र माओवादी केन्द्रको कार्यालय भवन बनाउन ४ करोड ७५ बजेट विनियोजन गरेका हुन् ।
कांग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका– २ मा निर्माणधीन छ । पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ । गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको यो कार्यालयका लागि यो वर्ष २ करोड ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
सुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा १ करोड ५० लाख र शुशील विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुट्याइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको कांग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।
एमाले मोरङको कार्यालय विराटनगर ११ पाञ्चालीमा पर्छ । मदन स्मृति नाम दिइएको दुई तले भवनको पहिलो तल्लामा जिल्ला कमिटी र दोस्रो तल्लामा प्रदेश कमिटीको कार्यालय छ ।
एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी छ । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ ।
सत्तारुढ माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको यो भवन बनाउन गत वर्ष ४० लाख बजेट विनियोजन भएपनि खर्च भएन ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड ७५ लाख रुपैयाँ छुट्याएको छ । डोलराज कोइराला स्मृति सामुदायिक भवनका लागि १ करोड ५० लाख र डोलराज कोइराला स्मृति सभाहलका लागि २५ लाख रुपैयाँ छुट्याएको हो ।
कांग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङले गरिरहेको छ । यही कार्यालयले एमालेको भवनमा तला थप्नेछ । कार्यालयका निमित्त प्रमुख रुद्रनारायण मिश्रका अनुसार कटहरी –२ मा गत वर्ष एक तले भवनको स्टमेट अनुसार निर्माण सुरु भएको थियो ।
एउटा शौचालयका लागि पाँच करोड
प्रदेश सरकारले इलामको पर्यटकीय क्षेत्र श्रीअन्तुमा एउटै शौचालय बनाउन पाँच करोड बजेट छुट्याएको छ ।
इलाम क्षेत्र नम्बर १ ९२० बाट निर्वाचित प्रदेश सांसद शम्शेर राई बिनाविभागीय मन्त्री छन् । सरकारको प्रवक्ता समेत रहेका उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने श्रीअन्तुमा चेन्जिङ रुम सहितको शौचालय बनाउन पाँच करोड रुपैयाँ रातो किताबमा पारेका हुन् ।
यसबारे प्रदेशसभामा प्रश्न उठेको थियो भने खर्च कटौतीका लागि प्रस्ताव पनि परेको थियो । प्रदेशसभामा उठेको प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले कानुनको सुविधा प्रयोग गरेर नमिलेको ठाउँमा मिलाउने बचन दिएपछि खर्च कटौतीको प्रस्ताव राख्ने संसदले त्यसलाई फिर्ता लिएका थिए ।
साभारः अनलाइनखबर