सहकारी ठगी आरोपमा पक्राउ पुर्जी जारी भएका लमजुङका घिमिरे दम्पती फरार

  • ख-
  • ख+

लमजुङ । प्रहरीले बेंसीसहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडसम्बद्ध ६ जनालाई पक्राउ गरे पनि मुख्य दोषी भनिएका २ जना १ सातादेखि फरार छन् ।

सहकारीले बचत फिर्ता दिन नसकेपछि सहकारीका अध्यक्षसहित ६ जनालाई मंसिर १० गते आइतबार पक्राउ गरेको थियो । तर, सहकारी रजिष्ट्रार कार्यालयले गरेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आर्थिक गतिविधि तथा वित्तीय विवरण सम्बन्धमा गरिएको छानबिनउपर रायसहितको प्रतिवेदनमा मुख्य दोषी देखाइएका तत्कालीन कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मृगेन्द्र घिमिरे र उनकी श्रीमती तत्कालीन कालिका सहकारीका प्रबन्धक हाल एकीकरणपछि बनेको कालिका सहकारीका कोषाध्यक्ष विनिता घिमिरे फरार छन् ।

केही बचतकर्ताको निवेदन परेपछि लमजुङ प्रहरीले कात्तिक ३ गते एक सूचना जारी गरी मंसिर १० गतेभित्रमा बचतकर्ताहरुलाई उजुरी दिन आग्रह गरेको थियो । सूचनाको म्याद सकिएको दिन सहकारीका अध्यक्ष शिवराम सिलवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्णबहादुर खत्री, सदस्य मिलन शर्मा दनाइँ, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई पक्राउ गरे पनि घिमिरे दम्पती भने फरार हुन सफल भएका हुन् । उनीहरुलाई राजनीतिक संरक्षण र प्रहरीले नै भगाएको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका ६ जनामध्ये कृष्णबहादुर खत्रीको नाम प्रतिवेदनमा कहींकतै उल्लेख छैन ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले फरार रहेकाको खोजी तीव्र पारिएको बताए । ‘उनीहरु लमजुङमै रहेको वा नरहेको केही अत्तोपत्तो छैन । अहिले फरार रहे पनि एक दिन नआएर सुख छैन,’ उनले भने । अनुसन्धानका लागि पक्राउ गरिएका ६ जनालाई शुक्रबार थप ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान थालिएको उनले बताए ।

प्रहरीका अनुसार सहकारीले निक्षेपकर्ताहरुको बचत रकम फिर्ता नगरेको भन्दै ३५ जना बढीको निवेदन उजुरी परेपछि ‘सहकारी ठगी’ मुद्दामा अनुसन्धान गर्न पहिलो चरणमा ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । मुख्य दोषीलाई पक्राउ नगरी आफूहरुलाई मात्रै पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको भन्दै थुनामा रहेकाहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

२०५६ मंसिर ६ गते डिभिजन सहकारी कार्यालय दमौलीमा दर्ता गरेर सञ्चालनमा रहेको कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २०७७ असार १ गते साविकको सम्पदा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई एकीकृत गरी कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नामबाट सहकारी सञ्चालन गर्दै आएको छ । यसअघिको कालिका सहकारीमा भएको समस्याका कारण अहिलेको सहकारीलाई अप्ठ्यारो परेको सञ्चालकहरु बताउँछन् ।

बेंसीसहर नगरपालिका-८, शेरामा कार्यालय रहेको कालिका सहकारीको मध्यनेपाल नगरपालिका-७ मा रामबजार सेवा केन्द्र, सुन्दरबजार नगरपालिका ८ मा सुन्दरबजार सेवा केन्द्र, दोर्दी गाउँपालिका ४ मा दोर्दी सेवा केन्द्र रहेका छन् । यो सहकारीको ४ हजार ५ सय ९ जना सेयर सदस्य रहेको र शेयर रकम २ करोड ११ लाख ९ हजार ७ सय रुपैयाँ रहेको सहकारी रजिष्ट्रार कार्यालयका तर्फबाट छानबिनकर्ता निर्मल गौतमको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा तत्कालीन कालिका सहकारीका अध्यक्ष एवं एकीकरण अभियानका संयोजक मृगेन्द्र घिमिरे, घिमिरेपत्नी बिनिता घिमिरे (अधिकारी) र एकीकरण समितिका आर्थिक विश्लेषण उपसमितिका संयोजक एवं लेखापरीक्षक महेन्द्र शर्मा पौडेललाई बढी दोषी देखाएको छ । उनीहरुले अनुसन्धान नै प्रभावित पार्न कार्यालयका प्रमाण तथा तथ्यांकहरु नस्ट गर्ने, व्यक्तिगत लाभ उठाउने मनसायले बचतकर्ताको सम्पती आफ्नो नाममा पास गराएर बचतकर्तालाई ठगी गर्नेजस्ता कार्य गरेको प्रतिवेदनमा उल्लेख छ ।
साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्