कोठा विवादमा मेयर उपमेयरका समर्थकबीच हानाहान

  • ख-
  • ख+

२६ मंसिर । काठमाडौं । वीरगञ्ज महानगरपालिकामा मेयर राजेशमान सिंह र उपमेयर इम्तियाज आलमका समर्थकबीच महानगर कार्यालयमै हानाहान भएको छ । प्रमुख प्रशासकीय अधिकृत रहेको कोठा खाली भएपछि महानगरले मेयर सिंहको निर्देशनमा कर्मचारी पञ्जीकरण शाखा सार्न खोज्दा उपमेयर आलमको सचिवालयले रोकेको थियो ।

‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत बसिरहनु भएको कोठा अहिले खाली भएको छ । उहाँको लागि अर्को कोठा बनेपछि त्यो खाली कोठमा पञ्जीकरण शाखा राख्ने तयारी थियो । तर उपप्रमुखज्यूले आफ्नो कार्यकक्ष बनाउने भनेपछि विवाद सुरु भएको थियो,’ महानगरका एक अधिकृतले भने ।

‘पहिले प्रमुखको सचिवालय र कर्मचारी विरुद्ध उपप्रमुखको सचिवालयबाट नसार्न दबाब आइरहेको थियो । तर उपप्रमुख र प्रमुखका समर्थकहरु सयौंको संख्यामा महानगर प्रवेश गरेपछि कार्यालयमा हानाहान भएको हो,’ ती अधिकृत कर्मचारीले भने ।

कार्यालयमा दिउँसो तनाव भएपछि दिनभर सेवा नै अवरुद्ध भएको महानगरका कर्मचारीले बताएका छन् । ‘प्रमुख र उपप्रमुख नै विवाद मिलाउने भन्दा इगो देखाउन थाले, पुलिस समयमै नआएको भए ठूलो दुर्घटना हुने थियो । ५(७ जना जुधेपछि प्रहरीले बल प्रयोग गरेको थियो,’ महानगरका ती कर्मचारीले अनलाइनखबरसँग भने । अहिले मेयर सिंह कार्यालयबाट निस्केका छन् भने उपमेयर आलम कार्यकक्षमै रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले डीएसपीको कमाण्डमा ५० भन्दा बढी प्रहरी परिचालित गरेको छ ।

प्रमुख सिंहको सचिवालयले भने उपप्रमुख आलमका समर्थकले कार्यालयमै दादागिरी देखाउन थालेपछि प्रमुखका समर्थक आउँदा विवाद भएको दाबी गरेको छ । सचिवालय सदस्य नवराज फुयाँलका अनुसार वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले पञ्जीकरण शाखा व्यवस्थित गर्न माग गरिरहेकाले खाली भएको कोठामा शाखाको लागि सामान राख्न खोज्दा उपप्रमुखको सचिवालयबाट अनुचित दबाब आएको बताए । ‘पञ्जीकरण शाखा व्यवस्थित गर्ने विषयमा उपप्रमुखसहित उनको सचिवालयको टोलीले वडाध्यक्षहरु र कर्मचारीलाई नै गालीगलौज गरेपछि विवाद भएको हो,’ उनले भने ।

कर्मचारीको विरोध

कार्यालय सार्दा अभद्र व्यवहार भएको भन्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरु आन्दोलित भएका छन् । स्थानीय तह कर्मचारी संघ, वीरगञ्ज महानगर इकाई समितिले महानगर प्रमुख राजेशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै बुधबारदेखि कालोपट्टी बाँधेर विरोध जनाउने जानकारी दिएका छन् ।

समितिले महानगरका विभिन्न महाशाखा, शाखामध्ये स्वास्थ्य तथा सामाजिक विकास महाशाखा अन्तर्गतको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखालाई व्यवस्थित गर्न लाग्दा प्रमुख प्रशासकीय अधिकृतमाथि नै कार्यपालिका सदस्य समेत रहेका कन्हैया ठाकुरले गालीगलौज गर्दै अभद्र व्यवहार गरेको कर्मचारीको आरोप छ ।

यस्तै पञ्जीकरण शाखा व्यवस्थित गराउन लागेका कर्मचारीहरु अमृता साह र रनु दासलाई पनि उपप्रमुख आलमको स्वकीय सचिव रहेका शेष हजराले अश्लील गालीगलौज गर्दै अभद्र व्यवहार गरेको उनीहरुले आरोप लगाएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्