बेसीशहरका किसानलाई मिनिटिलर मर्मत तालिम

सर्वज्योति
  • ख-
  • ख+

बेसीशहर/ कृषिमा आधुनिकरण तथा उत्पादन वृद्धिका लागि अनुदानमा कृषि सामाग्रि उपलव्ध गराउदै आएको बेसीशहर नगरपालिकाले कृषि औजार मर्मत तालिम पनि प्रदान गरेको छ । विगतका वर्षमा किसानलाई अनुदानमा मिनिटिलर अर्थात हातेट्याक्टर वितरण गरेको नगरपालिकाले यसवर्ष मर्मत तालिम प्रदान गरेको हो ।

बेसीशहर नगरपालिका कृषि विकास शाखाले कृषकहरुलाई मिनिटिलर मर्मत सम्वन्धी सात दिनको तालिम प्रदान गरेको हो । वडा नं. ३ रानीकुवामा सञ्चालन भएको तालिमको बुधवार एक कार्यक्रमका विच समापन गरिएको हो ।

तालिम समापन कार्यक्रम कृषि शाखा प्रमुख दिपेश अधिकारीको अध्यक्षता एवं नगप्रमुख गुमानसिहं अर्यालयको प्रमुख आतिथ्यतामा भएको हो । नगरप्रमुख अर्यालले तालिममा सिकका ज्ञान सिप व्यवहारमा लागु गर्न सहभागिलाई आग्रह गर्नुभयो । सात दिनको तालिम पूर्ण नभएपनि यसअवधिमा सिकेका कुराहरुलाई आफूमा मात्र सिमित नराखि छर छिमेकमा पनि उपयोग गर्न उहाँको सुझाव थियो ।

गत वर्षहरुमा किसानहरुको माग अनुसार मिनिटिलर वितरण गर्दै आएको नगरपालिकाले यसवर्ष सिप विकासका कार्यक्रमलाई प्राथामिकतामा राख्दै तालिम सञ्चालन गरेको नगरप्रमुख अर्यालले वताउनुभयो । तालिम समापन कार्यक्रममा बेसीशहर ३ का वडा अध्यक्ष चित्रवहादुर दनाई, वडा सचिव शोभा दिक्षित, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख सावित्री न्यौपाने लगायतको उपस्थिती थियो । कार्यक्रमको सञ्चालन कृषि विकास शाखाका नायव प्राविधिक सहायक मिलन श्रेष्ठले गर्नुभएको थियो ।

तालिममा सहभागि किसानको तर्फबाट आफ्रना भनाई राख्दै वडा नं. १० का मिनवहादुर तामाङ र ७ का भरत सुयल थापाले छोटो अवधिको तालिमबाट पनि धेरै कुराहरु सिक्ने अवसर पाएको वताएका थिए । मिनिटिलर अर्थात हातेट्याक्टर प्रयोग गर्दा बिग्रीरहने र समान्य कुराहरु पनि थाहा नहुदाँ धेरै समस्या हुने भन्दै सहभागिहरुले तालिममा धेरै समस्याबारे थाहा भएकाले अब सहज हुने बताएका थिए । सात दिनको तालिम पर्याप्त नहुने भन्दै उनिहरुले थप तालिमको माग समेत गरेका थिए ।

तालिममा बेसीशहर नगरपालिका अन्र्तगत वडा नं. ५, ६ र ८ वाहेक अन्य वडाका १६ जना किसानहरु सहभागि थिए । तालिम अवधिभर राजकुमार भण्डारी, जिवन वज्राचार्य र सलिन श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।

नगरपालिकाले सुचना प्रकाशन गरी तालिममा सहभागि हुन चाहने कृषकहरुको आवेदन माग गरेपनि वडा नं. ५, ६ र ८ बाट कुनै पनि किसानको आवेदन नपरेको कृषि शाखा प्रमुख दिपेश अधिकारीले वताउनुभयो । तालिममा सहभागि किसानहरुलाई मर्मत सहयोगी औजार समेत प्रदान गरिएको छ ।

मर्स्याङदी समाचार

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्