गण्डकी प्रदेशमा बजार अनुगमन टाेली तत्काल गठन गर्न उपभाेक्ताकाे माग

सर्वज्योति
  • ख-
  • ख+

पोखरा, चैत । विश्व उपभोक्ता दिवस २०८२ को अवसरमा पोखरामा आयोजित कार्यक्रममा सहभागीहरुले उपभोक्ता सचेतनामा जोड दिएका छन् । मार्च १५ लाई विश्वभर उपभोक्ता दिवसका रुपमा विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।

साेही अवसर पारेर उपभोक्ता अधिकारबारे आमनागरिकलाई सचेत गराउने उद्देश्यले आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयको आयोजना एवं उपभोक्ता मञ्च गण्डकी प्रदेशको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा  प्रमूख अतिथि गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मोतिराम सापकोटा र उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले व्यानरमा हस्ताक्षर गरि संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमूख अतिथि मन्त्रालयका सचिव सापकोटाले आमउपभोक्ता सचेत भएमात्र वस्तु तथा सेवा गुणस्तरीय भए नभएको थाहा पाउन सक्ने बताए। मन्त्रालय र उपभोक्तावादी संस्थाले वस्तु, तथा सेवामा मात्र नभइ वौद्धिक सम्पतिको क्षेत्रमा पनि  उपभोक्ता ठगिएका छन् कि छैनन् भन्नेबारे अनुगमन कार्यलाई निरन्तरता दिनु पर्ने उनले बताए । उनका अनुसार नेपालमा राजनीतिक संरक्षणमा नै भ्रष्टाचार र कालोबजारी बढ्ने गरेको छ ।

कार्यक्रमका सभापति तथा उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले नेपालमा उपभोक्ता अधिकार, बजारको अवस्था र समाधान विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए । उनले उपभोक्ता, निजी क्षेत्र र सरकार गरी बजारका तीन पक्ष हुने भन्दै सबैले आआफ्नो भूमिका इमान्दारी र सचेत भएर पूरा गर्नुपर्ने बताए । पछिल्लो समय खर्च कटौति गर्न गण्डकी प्रदेश सरकारले बजार अनुगमन गर्ने निकाय खारेज गरेको भन्दै मन्त्रालयको महाशाखा प्रमूखको संयोजकत्वमा अनुगमन टोली गठन गरी कार्यान्वयनमा लैजान आवश्यक रहेको उनको भनाइ छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बस्तु र सेवा गुणस्तरीय दिन सके विदेशी पर्यटकहरु समेत ढुक्क भएर नेपाल आउने बताए । कानूनविपरीत कुनै पनि बस्तु तथा सेवा संचालन गरिन्छ भने त्यस्ता व्यवसायी तथा संस्थालाई कानूनी कारबाहीको दायरामा ल्याउने उनको दावी थियो । बजारमा एलपी ग्यास र पेट्रोलियम पदार्थको कृत्रिम अभाव देखाएर कालोबजारी गरेको फेला परेमा त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी उनले दिए ।

सो अवसरमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका महाशाखा प्रमूख महराज ढकालले उपभोक्ता अधिकार र कानूनी प्रावधानबारे आधारपत्र प्रस्तुत गरेका थिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले निजी उद्योगलाई बचाउँदै उनीहरुले प्रदान गर्ने गुणस्तरीयतामा सुधार गर्दै लैजानुपर्नेमा जोड दिइन् ।

लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विक्रम कर्माचार्यले व्यवसायी सधैं उपभोक्तालाई कसरी गुणस्तरीय सेवा दिने भन्ने चिन्तामा मात्र लागिरहने दाबी गरे । कार्यक्रममा उपभोक्तातर्फबाट तारानाथ पहारी, मीना रानाभाट, अस्मिता त्रिपाठी, रमेश पौडेल, कमल पौडेललगायतले उपभोक्ता अधिकारबारे आमनागरिकको चासो कम हुने गरेको बताए ।

उपभोक्ता मञ्च गण्डकीका उपाध्यक्ष रमेश पौडेलले स्वागत गरेको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल र कार्यक्रमकाे संचालन मञ्च कास्कीका सचिव मिलन तिवारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्