राजबिराज, चैत । जनमत पार्टीका अध्यक्ष डाक्टर सि. के. राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि संघर्षको राजनीति भने निरन्तर जारी राख्ने बताएका हुन्।
अध्यक्ष राउत यसपटक सप्तरी–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका थिए। तर उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादवले पराजित गरेका हुन् । उनले आफूले व्यक्तिगत इच्छाविपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताए। तर दुवै निर्णयप्रति आफू सन्तुष्ट रहेको उनको भनाइ छ।
राउतले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको र जनतामाझ जान रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अरू नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफू नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उनले उल्लेख गरेका छन्।
२०७९ सालको आमनिर्वाचनमा आफू प्रत्यक्ष वा समानुपातिक कतैबाट नलड्ने सोच बनाएको भए पनि पार्टीका नेताहरूको आग्रहपछि निर्वाचनमा भाग लिएको उनले बताए। सो निर्णयका कारण पार्टीले प्रत्यक्षतर्फ एक सिट र समानुपातिकतर्फ पाँच सिट जित्दै राष्ट्रिय पार्टी बन्न सफल भएको उनको दाबी छ।
त्यस्तै २०८२ को निर्वाचन नलड्ने निर्णय पहिल्यै गरेको भए पनि अन्तिम समयमा पार्टीका नेताहरू र कार्यकर्ताको मनोबल नघटोस भनेर फेरि उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्। परिणाम आएपछि पनि साथीहरूको सल्लाह मानेर चुनाव लडेको निर्णय सही भएको महसुस भएको उनले बताएका छन्।
राउतले अब संसदीय वा पदको राजनीतिबाट विश्राम लिने तर राजनीतिबाट भने अलग नहुने स्पष्ट पारेका छन्। उनले आफ्नो सिद्धान्त, एजेन्डा र जनताको अधिकारका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।
साथै उनले आगामी स्थानीय तह र प्रदेश निर्वाचनका लागि पार्टीलाई तयारी गराउने र जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।अघिल्लो पटकको चुनावमार्फत संसदीय राजनीतिमा आएका अध्यक्ष राउतको पार्टीले यसपटक समानुपातिक थ्रेसहोल्ड कटाउन समेत नसकेको हो । निर्वाचनमा सोचे जस्तो नतिजा ल्याउन नसकेपछि अध्यक्ष राउतले संसदीय राजनीतिबाट सन्यास लिएको घोषणा गरेको बुझिएको छ।








