चीनबाटै एटीएमको साँचो बोकर आउदै चाइनिजः नेपालका बैकहरु लुट्दै

  • ख-
  • ख+

ह्याकिङको ठूलो योजना विफल भएको प्रहरीको दाबी

काठमाडौं । काठमाडौँ महानगरपालिका–२७ स्थित ज्याठामा एकजना चिनियाँ नागरिक मेगा बैङ्कको एटीएम बुथमा छिरे । तर, त्यहाँ उनले कार्डबाट पैसा झिकेनन् । बरु, साँचो निकालेर मेशिन नै खोल्न थाले ।

यता, बैङ्कका सुरक्षा गार्डको आँखा सीसी क्यामेरामा थियो । चिनियाँ नागरिकले मेशिन खोल्न थालेपछि उनले महानगरीय प्रहरी वृत दरबारमार्गमा फोन गरेर भने, ‘विदेशी नागरिकले एटीएम लुट्दै छन् ।’

महानगरीय प्रहरी वृत दरबारमार्गका डिएसपी रामेश्वर पौडेल र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसी तत्काल घटनास्थलमा पुगे । त्यतिबेला चिनियाँ नागरिक वाङ जियाओलो एटीएम मेशिनको सिरियल नम्बरको फोटो खिचिरहेका थिए । जियोओलोलाई प्रहरीले पक्राउ गर्यो । मेशिन खोल्ने साँचोबारे सोध्दा उनले जवाफ दिए, ‘चीनबाट साँचो लिएर आएको थिएँ, साँचो छिराएँ मेशिन खुल्यो फोटो पठाउन भ्याएको छैन ।’

‘पैसा झिक्नेभन्दा सिरियल नम्बरको फोटो चीनमा पठाउने उनको मुख्य उद्देश्य देखिन्छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीसँग भने–‘नक्कली साँचो कसरी बनाए भन्नेबारे अनुसन्धान गरिरहेका छौँ ।’

चीनबाट नेपाल आउने बेला विमानस्थलमा साथीले आफूलाई ६५ डलर पैसा र साँचो दिएको वाङ जियाओलोले प्रहरीलाई बताएका छन् । प्रहरीसँगको बयानमा उनले भनेका छन्, ‘एटीएमको सिरियल नम्बर सहितको फोटो खिचेर पठाउनु भनेको थियो ।’ चैत १६ मा नेपाल आएका उनले नेपाल ओर्लेर पहिलो एटीएमा साँचो छिराउँदा नखुलेपछि दोस्रोमा प्रयास गरेका थिए ।

जियाओलो २९ वर्षका छन् । उनीसँग फेला परेको साँचोले एटीएम मेशिन खोलेर पैसा निकालेपछि पुरानै अवस्थामा लक गरेर हिँड्न सकिने प्रहरीको भनाइ छ ।

दीर्घकालिन योजना

मेशिनको सिरियल नम्बरको फोटो खिचेर चीन पठाउने वाङको मुख्य उद्देश्य रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुको निष्कर्ष छ । पहिलो चरणमा मेशिनको अध्ययन गर्ने र दोस्रो चरणमा ह्याक गर्ने उद्देश्यले उनी नेपाल आएको हुनसक्ने अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।

दुई दिनको लागी मात्र नेपाल आएका उनी ड्रिल मेशिन पनि लिएर आएका छन् । भिजिट भिसामा आउँदा किन ड्रिल मेशिन ल्याए भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

वाङको साथबाट प्रहरीले दुई प्रकारका १० वटा कार्ड बरामद गरेको छ । सो कार्डमा कस्ता डाटा छन् भन्ने परिक्षण गरिँदै छ । ‘दीर्घकालिन रुपमा सिस्टम ह्याक गर्ने उद्देश्य देखिन्छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘समयमै सूचना पाएको हुनाले सम्भावित लुट टरेको छ ।’

ठमेलस्थित सञ्चयकोष पछाडी रहेको होटल मन्टेशको कोठा नम्बर–४०५ उनले अनलाइनबाट बुक गरेका थिए । काठमाडौँ ओर्लेर होटलमा सामान राख्नासाथ उनि एटीएम बुथमा पुगे । आफ्नो टास्क पुरा गरेर उनी दुई दिनमा चिन फर्कंदै थिए । तर, दुई दिनमा चीन फर्कने उनको योजना अधुरो भएको छ । अहिले उनी टेकुस्थित काठमाडौँ प्रहरीको हिरासतमा छन् ।(रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?