पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय (विज्ञप्तिसहित)

  • ख-
  • ख+

काठमाण्डौ । सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको सीसीएमसी स्रोतले बताएको छ ।

स्रोतका अनुसार यो सिफारिस नभएर सोमबारदेखि नै लागू हुनेगरी निर्णय नै गरिएको हो । कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण देशभरका शिक्षालयमा तय भएका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय भएको हो । कोरोनाको जोखिम कम भएपनि उपयुक्त समयमा परीक्षाको नयाँ तालिका तय गरिने बताइएको छ ।
यसअघि बसेको मन्त्रिपरिषद बैठकले विद्यालय र कलेजको पठन पाठन भौतिकरुपमा गर्न नपाइने भने पनि परीक्षा चाहिँ नरोकिने बताएको थियो । त्यसैगरी मेडिकल कलेजको पढाइ पनि नरोकिने क्याबिनेटको आदेशमा उल्लेख थियो ।

तर, आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि हुने सबै परीक्षाहरु स्थगित गरेको हो । सोमबारदेखिका सबै परीक्षा स्थगित गर्ने सीसीएमसीले निर्णय गरे पनि जेठमा हुने एसईई परीक्षाका सम्बन्धमा भने कुनै निर्णय भएको छैन । स्रोतले भन्यो, ‘एसईई परीक्षाबारे पछि निर्णय लिइनेछ ।’​

परीक्षा स्थगनको निर्णयबारे सीसीएमसीले निकालेको प्रेस विज्ञप्तिः

आज मिति २०७८ साल बैशाख १२ गते बसेको सीसीएमसी निर्देशक समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।

खगराज बराल

सचिव तथा संयोजक

सीसीएमसी सचिवालय

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?