गंगामा शव बगेर आउन थालेपछि बिहारले राख्यो उत्तर प्रदेशको सीमामा जाली

  • ख-
  • ख+

शंकास्पद कोरोना संक्रमितका शव गंगामा धमाधम बगेर आउन थालेपछि भारतको विहार राज्यका अधिकारीहरूले छिमेकी राज्य उत्तर प्रदेशको सीमामा गंगा नदीभित्र जाली राखेका छन्।

विहारका जलस्रोत मन्त्री सञ्जयकुमारले उत्तर प्रदेशको सीमा जोडिने ठाउँमा गंगाभित्र जाली राखिएको जानकारी दिएका छन्।

केही दिनयता गंगा नदीमा तैरिरहेका ७१ वटा शव विहारका अधिकारीहरूले फेला पारेका थिए। उत्तर प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव दाह संस्कार नगरी नदीमा फालिएको हुन सक्ने स्थानीयहरूले आशंका गरेका छन्। पोस्टमार्टम रिपोर्टमा बगेर आएका शवहरू चार(पाँच दिन पहिला मृत्यु भएकाहरूका भएको देखिएको छ।

संक्रमितका शव त्यसरी नदीमा फालिँदा धार्मिक नदीको रूपमा रहेको गंगाबाट तल्लो क्षेत्रका मानिसमा कोरोना फैलिन सक्ने भन्दै विहारका अधिकारीहरूले शव बग्न नदिन सीमामै जाली लगाएका हुन्।

उत्तर प्रदेशमा संक्रमणबाट मृत्यु भएकाका आफन्तले जलाउने ठाउँ नपाएर वा जलाउने दाउरा किन्ने पैसा तिर्न नसकेर शव नदीमा फालिदिएको हुन सक्ने आशंका गरिएको छ।

भारत अहिले कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त छ।

केही दिनयता त्यहाँ दैनिक चार हजार बढी संक्रमितले ज्यान गुमाइरहेका छन्। बुधबारमात्रै ४ हजार १ सय ३६ संक्रमितको मृत्यु भएको थियो। सरकारी विवरणमा एकदमै थोरै मृत्युमात्रै समावेश भएकाले मृतकको संख्या धेरै बढी हुने विज्ञहरूले बताएका छन्।

(सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?