कर्णालीमा मृत्युदर बढ्दो, ५ दिनमा ४७ जनाको मृत्यु

  • ख-
  • ख+

कर्णाली प्रदेशमा कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या उच्च रहेको छ । पछिल्ला केहीदिन यता दैनिक सरदर ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने एकै दिन १२ जनासम्मको मृत्यु भएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ​बितेको ५ दिनको तथ्यांकलाई हेर्दा सो अवधिमा ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ। निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीका अनुसार २६ गते आइतबार ८ जनाको मृत्यु भएको थियो । सो दिनमा प्रदेश अस्पताल सुर्खेतमा मात्र चार, सल्यान होम आइसोलेशन रहेका २ जना, मेहलकुना अस्पताल सुर्खेत १ र दैलेख अस्पतालमा १ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

यस्तै २७ गते सोमबार ५ जनाको मृत्यु भएको छ । सोही दिनमा पनि प्रदेश अस्पतालमा ३ , १ दैलेख अस्पताल र सल्यानमा होम आइसोलेशनमा १ जनाको मृत्यु भएको थियो । २८ गते मंगलबारका दिन ९ जनाको मृत्यु भएको थियो । जसमा ५ जनाको प्रदेश अस्पतालमै मृत्यु भएको छ । यस्तै कालिकोटमा होम आइसोलेशनमा १, सल्यानबाट बुटवल लैजाँदै गर्दा बाटोमा एक, सल्यान अस्पतालमा १ र चौकुने गाउँपालिका (पश्चिम सुर्खेत) मा एकजनाको होम आइसोलेशनमा मृत्यु भएको छ ।

यस्तै २९ गते बुधबार सबैभन्दा धेरै १२ जनाको मृत्यु भएको छ । जसमा प्रदेश अस्पतालमा मात्र ९ जनाको मृत्यु भएको थियो । यस्तै मेहलकुना अस्पतालमा १, सल्यानमा होम आइसोलेशनमा १, धनवाङ हेल्थपोष्ट सल्यानमा १ जनाको मृत्यु भयो ।

बिहीबार १० जनाको मृत्यु भएको छ । दैलेख अस्पतालमा २, सल्यान अस्पतालमा १, रुकुम पश्चिम अस्पतालमा १, रुकुम होम आइसोलेशनमा १ र अस्पताल ल्याउँदै गर्दा रुकुमकै एकजनाको बोटोमा मृत्यु भएको छ भने प्रदेश अस्पतालमा ४ जनाको मृत्यु भएको छ ।

यस्तै २६ गते २ र २८ गते १ जना गरी ३ जनाको मृत्यु भएको तर रिपोर्टमा छुटेकाको बिहीबार निर्देशनालयले समावेस गरेको छ ।

हाल सम्म कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको जम्मा संख्या १२९ पुगेको छ । दैनिक यसरी कोरानाका बिरामीको मृत्यु हुनुमा अक्सिजन अभाव, समयमा अस्पताल नपुग्ने जस्ता समस्या छन् । पछिल्लो समय होम आइसोलेशनमा रहेकाहरुको मृत्यु हुने गरेको छ ।

निर्देशनालयका निर्देशक डा।रविन खड्का भन्छन् अवस्था भयावह बनिरहँदा निषेधाज्ञा लगाइए पनि मान्छेहरुले अझै यसको पालना गरेको खासै पाइँदैन् । मुख्य कुरा आफै सचेत हुनुपर्छ । यदी कोरोनाको लक्षण देखिएको खण्डमा समयमानै पीसीआर चेक गर्ने र चिकित्सकको सल्लाह लिनुपर्छ ,उनले भने तर, कतिपय बिरामीहरु बिरामी भएर शरिरमा अक्सिजनको अभाव भइसकेपछि अस्पताल आउने गर्नुहुन्छ यो अवस्थामा बिरामीलाई बचाउन मुस्किल पर्छ ।

कर्णालीमा अक्सिजनको पनि चरम अभाव छ । अस्पतालमा बेड पाउन मुस्किल छ । मृत्यु हुनेका सबै उमेर समुहका छन् भने महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?