पोखरा । कास्की जिल्लामा आज बिहान ५ बजेदेखि लागू हुने गरी आगामी जेठ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । स्थिति भयावह हुन् नदिन भन्दै यस अघि वैशाख भर लागु गरिएको निषेधाज्ञाको समयावधि सकिनासाथ लागू हुने गरी थप एक साताका लागी कडा निषेधाज्ञा जारी गरिएको हो ।
कास्की जिल्लामा वैशाख १५ गतेदेखि निषेधाज्ञाको आदेश जारी भएको थियो । त्यसपछि वैशाख २१ गते पुनः वैशाख महिना भरसम्मका लागि समय थपिएको थियो । सङ्क्रमण दर बढ्दै गएपछि पुनः एक साता थप गरिएको हो । आजबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ । पोखरासहित जिल्लामा अनावश्यक हिडडुलमा समेत कडाइ गरिएको छ । बिना काम हिड्ने तथा कार्यस्थलमा जानका लागि हिड्ने मजदुरहरूलाई समेत रोक लगाइएको छ ।
कास्की प्रशासनले आजदेखि उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना र बासको व्यवस्था गरी सञ्चालन गर्न सकिने भनी आदेश जारी गरेकाले कार्यस्थलमा जानका लागि भनेर हिँड्ने व्यक्तिलाई समेत रोक लगाइएको कास्की प्रहरी प्रमुख, एसपी जीवन कुमार श्रेष्ठले बताउनुभयो ।
उनीहरूलाई आज पहिलो दिन भएकाले २ घण्टा होल्ड गराएर प्रशासनको आदेश र कोरोना संक्रमणको जोखिमको बारेमा सम्झाएर पठाइएको उहाँले जानकारी दिनुभयो । त्यसबाहेक अनावश्यक हिडडुल गर्ने पैदल यात्री तथा साइकल यात्रीलाई होल्ड गराएर चेतावनी दिएर पठाइएको उहाँले बताउनुभयो ।
आज बिहान ९ बजे सम्म अनावश्यक हिडडुल गर्ने झन्डै पाँच सय जनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो । “आज बिहान ५ बजेदेखि ९ बजे सम्म ४९५ पैदल यात्री र साइकल यात्रीलाई नियन्त्रणमा लिएका छौँ’, उहाँले भन्नुभयो नियन्त्रणमा लिएकाहरूलाई २ घण्टा होल्ड गराएर सचेत गराउने र अटेर गर्नेलाई चेतावनी दिएर पठाएका छौँ ।”(पोखरा न्युज)








