पोखरा । पोखरामा पनि निःशुल्क एम्बुलेन्स अभियान सञ्चालन हुने भएको छ । गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितको उपचारार्थ निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने हेतुले काठमाण्डौबाट शुरु भएको अभियान पोखराबाट पनि सञ्चालन हुने भएको हो ।
ॐ समाज डेन्टल हस्पिटलसँगको सहकार्यमा नेपाल प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालको नेतृत्वमा विभिन्न कलाकार तथा अभियन्ताको पहलकदमीमा काठमाण्डौबाट करिब तीन साता अघि शुरु भएको निःशुल्क एम्बुलेन्स अभियान बुधबारबाट पोखरामा पनि सञ्चालन गर्न लागिएको अभियान टोलीका सदस्य एवम् प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिनुभयो ।
बुधबारदेखि पोखरामा हेल्प डेस्क स्थापना गरेर कास्कीसहित गण्डकी प्रदेशका ११ जिल्लाभर सेवा प्रदान गर्ने उद्देश्यले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन हुने शाहीले बताउनुभयो । त्यसका लागि अक्सिजन सहितको एउटा एम्बुलेन्स लिएर पोखरा आइपुगेको टोलीले गण्डकीमा अभियानको नेतृत्व गर्ने जिम्मा देवेन्द्र राज सुबेदीलाई दिएको उहाँले बताउनुभयो ।
प्रदेशमा अभियानका संयोजक सुबेदी तथा सहसंयोजक आनन्द तिमिल्सिना र अविषेक भण्डारीले अन्य सदस्यहरू तथा सरकारी तथा निजी सङ्घ संस्था सँगको सहकार्यमा कोरोना संक्रमितलाई निःशुल्क अस्पताल पुर्याउने तथा आवश्यक परामर्श दिने कार्य गर्ने प्रवक्ता शाहीले बताउनुभयो । अहिले अक्सिजनसहितको एउटा एम्बुलेन्स लिएर आएको बताउँदै शाहीले सम्बन्धित पक्ष सँग सहकार्य गरेर विभिन्न एम्बुलेन्स मार्फत प्रदेशभर गरिब तथा न्यून वर्गका कोरोना सङ्क्रमितहरूको उद्धार गरिने उल्लेख गर्नुभयो ।
स्वास्थ्यकर्मी जिता बरालसहित आफूहरू पोखरा आएर स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा। विनोद विन्दु शर्मा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। भरत खत्री लगायत सँग अभियानका विषयमा कुरा गरेको बताउँदै शाहीले उनीहरू सँगको समन्वयमा अभियान अघि बढाइने बताउनुभयो । गण्डकी प्रदेशमा १९० वटा एम्बुलेन्स सञ्चालनमा रहेको जानकारी आफूहरूले पाएको बताउँदै शाहीले सञ्चालनमा रहेका र नरहेका अन्य समेतको तथ्याङ्क सङ्कलन गरेर तिनीहरूलाई प्रभावकारी ढङ्गले सञ्चालनमा ल्याइने बताउनुभयो ।
कोरोना सङ्क्रमणको अवस्थामा कतिपय सरकारी र सार्वजनिक एवम् निजी एम्बुलेन्सहरू विविध कारणले पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन् हामीले तिनीहरूलाई सबैको साथ, समर्थन र सहयोगमा भरपुर प्रयोगमा ल्याउन प्रयत्न गर्नेछौ, शाहीले भन्नुभयो बिग्रे भत्किएकालाई मर्मत गर्ने, ड्राइभर, स्वास्थ्यकर्मीको अभाव भएमा परिपूर्ति गर्ने कार्य अभियान मार्फत हुनेछ ।
हुने खाने वर्गले आफ्नै निजी सवारीसाधनको प्रयोग गर्ने तथा महँगो तिरेर भएपनि एम्बुलेन्स प्रयोग गर्ने गरेको तर निम्न वर्गका संक्रमित हुदा समयमा अस्पताल समेत पुग्न नसकेकोले यस्तो अवस्था हुन् नदिन अभियान सञ्चालन गरिएको शाहीले बताउनुभयो । अभियानको सञ्चालन आफूहरूले खल्तीको रकम खर्चेर गरेको उहाँको भनाइ छ । अभियानमा स्व स्फूर्त रूपमा सहयोग गर्नेलाई स्वागत गरिएको तर कसैलाई करकापमा नपारिएको शाहीले जनाउनुभयो । अभियान देशभर सञ्चालनमा लगिने पनि उहाँले बताउनुभयो ।
अभियानका गण्डकी प्रदेश संयोजक देवेन्द्र राज सुबेदीले भोलि बुधबारबाट पोखराको जिरो किलोमिटरमा हेल्प डेस्क स्थापना गरेर अभियानको सुरुवात गरिने बताउनुभयो । उहाँले अभियानको शुरु हुनु पूर्व नै मङ्गलवार ६३ हजार ३ सय ३३ रुपैयाँ नगद सङ्कलन भएको बताउनुभयो ।
आफूले रु १५ हजार रुपैयाँ छुट्टाएर अभियानका लागि सहयोगको सुरुवात गरेको बताउँदै संयोजक सुबेदीले कोरोना सङ्क्रमणबाट अकालमा ज्यान गुमाएका पोखरा चाउथेका स्वर्गीय राम राजा कार्कीको परिवारले १३ औँ दिनको पुण्य तिथिको अवसरमा छोरीहरू नलिना कार्की, सलिना कार्की, छोरा आख जङ्ग कार्की, दाजु मनोज कार्की, भाइ नेपाली सेनाका कर्नेल जनमत कार्की, दिदी शान्ता केसी र शीतला केसीको तर्फबाट रु २५ हजार सहयोग प्राप्त भएको बताउनुभयो ।
अभियान पूर्व मङ्गलवार , ज्ञानेन्द्र शाही, आनन्द तिमिल्सिना , शोभा गुरुङ, खेम राज कोइरालाले जनही ५ । ५ हजार तथा सुरेश रायमाझीबाट ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त भएको सुबेदीले जानकारी दिनुभयो । भोलि अभियान शुरु गरेर सर्वसाधारण जनताका लागि सेवा प्रदान गर्न सम्पर्क व्यक्तिको नाम र नम्बरहरू प्रदान गरिने सुबेदीले बताउनुभयो । (पोखरा न्युज् )








