भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, एकतला माथिबाट हाम्फालेर बचाए ज्यान

  • ख-
  • ख+

काठमाण्डौ । बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको छ । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताउनुभयो ।

‘बिहीबार राति करिब ८ बजेको थियो होला । सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन सकिरहेको थिएन’ डा. थापाले भने, ‘चिकित्सकहरुले उहाँलाई बचाउन हरसम्भव प्रयास गरिरहेका थिए । अन्ततः उहाँको मृत्यु हुन गयो ।’

उहाँको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक भने झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको उहाँले बताउनुभयो । आक्रमणबाट बच्न भागेर ट्वाइलेटसम्म पुगेका केही चिकित्सक तथा नर्सलाई भने उनीहरुले लखेटीलखेटी आक्रमण गरेको थापाको भनाइ छ ।

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको डा. थापाको भनाइ छ । उनीहरुले पीपीई लगाएका नर्सहरुको घाँटी अठ्याउने, लात हान्ने लगायतका अमानवीय व्यवहार प्रदर्शन गरेको थापाले बताउनुभयो ।

चिकित्सकमाथि आक्रमण भएसँगै अहिले अस्पतालको वातावरण त्रसित रहेको उहाँले बताउनुभयो ।

‘आईसीयूमा अहिले पनि १५ जना संक्रमितहरु उपचाररत छन् । सबैको अवस्था क्रिटिकल छ’ उहाँले भन्नुभयो, ‘चिकित्सकहरु यस्तो त्रसित अवस्थामा कसरी बिरामीको सेवामा खट्न सक्छन् । रातिको १२ बज्दा समेत चिकित्सकहरु बिरामीको उपचारमा जान सक्ने सहज वातावरण छैन ।’

चिकित्सकमाथि चारजनाको समूहले आक्रमण गरेको भए पनि दुईजनालाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

थापाका अनुसार ज्यानको बाजी लगाएर, पानी समेत नखाई बिरामीको सेवामा निरन्तर खटिंदा समेत आफूहरुमाथि भौतिक आक्रमण भएको भन्दै चिकित्सकहरुले सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म काममा नखटिने बताउनुभएको छ ।

सुरक्षाको प्रत्याभूति हुनुपर्ने, आक्रमण गर्ने समूहमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग चिकित्सकहरुको छ ।

चिकित्सकमाथि आक्रमण भएपछि अहिले अस्पताल प्रशासन, नेपाल मेडिकल एसोसिएसन लगायतको सहभागितामा आकस्मिक बैठक बसिरहेको उनले बताउनुभयो। (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?