महन्थ ठाकुरलाई उपेन्द्रको अल्टिमेटमः २४ घण्टाभित्र स्पष्टीकरण नदिए निष्काशन

  • ख-
  • ख+

काठमाण्डौ । पछिल्लो समय नेपालको राजनीतिको केन्द्रमा रहेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन अल्टिमेटम दिएको छ । यसअघि स्पष्टीकरण दिन भन्दै पत्राचार भएकोमा प्राप्त नभएकाले दोस्रो पटक २४ घण्टाको अल्टिमेटम दिएर स्पष्टीकरण पत्र पठाइएको हो ।

केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ नआए राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधानको ६४(५) अर्थात हाल संशोधित धारा ६९(५), ५०(१) र जेठ ८ मा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम निष्काशन समेतको कारबाही हुने चेतावनी दिइएको छ ।

ठाकुरले पार्टी विधान तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १८(३), २५(१),(२) र पार्टी विधानको दफा ४९ को १,२,३,५ र ८ का साथै दफा ५० को १ विपरित काम गरेको आरोप लगाइएको छ । सोही आरोपमा यादव समूहले जेठ ११ गते ठाकुरलाई स्पष्टीकरण सोधेपनि उनले जवाफ दिनुभएको छैन ।

यादव पक्षले वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पनि तीन दिनभित्र स्पष्टिकरण दिन पत्र पठाइएको थियो । तीन दिनको दिनको म्याद सकिए पनि अध्यक्ष ठाकुरबाट कुनै प्रतिकृया नआएपछि बाध्य भएर २४ घण्टे स्पष्टीकरण सोधिएको अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो ।

पार्टी विधि र पद्धतिमा चल्नुपर्ने भन्दै उहाँले पार्टीको अनुशासन उल्लघंन गर्नेलाई पार्टीको विधानअनुसार कारवाही हुने बताउनुभयो ।

पार्टीभित्र चर्किँदो विवादका बीच ठाकुर समूहले पनि उपेन्द्र यादवलगायतलाई स्पष्टीकरण सोधेको थियो । तर यादवले पनि स्पष्टिकरण दिनुभएको छैन ।

विवादको श्रृखंला स्पष्टीकरण हुँदै कारबाही गर्नेसम्मको अवस्थामा पुगेसँगै जनता समाजवादी पार्टी विभाजनको संघरामा पुगेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?