गए राति एम्बुलेन्स दुर्घटना हुँदा पाँचथरमा १ जनाको ज्यान गएको छ भने २ जना घाइते हुनुभएको छ ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनुभएकी पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाकी ५० वर्षीय ममता राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा बिहान ३ः४० मा चिकित्सकले मृत घोषित गर्नुभएको थियो ।
दुर्घटनामा सोही स्थानका हेमन सुब्बा र ताप्लेजुङको सिदिङवा गाउँपालिका–३ का डोडकुमार राई घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
टाउको, हात तथा छातीमा चोट लागेका घाइतेहरुको जिल्ला अस्पताल फिदिममा उपचार भइरहेको छ । मृतक तथा घाइतेहरु उपचारका लागि झापा गई उपचारपश्चात घर फर्कँदै हुनुहुन्थ्यो।
दुर्घटनापछि प्रहरीले उक्त एम्बुलेन्सका चालक पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुरका वीरेन्द्र धिताललाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । उक्त एम्बुलेन्समा चालकसहित चार जना सवार हुनुहुन्थ्यो। (रासस)








