बौद्धमा बोराभित्र शवः दुबो टिप्न गएकाले प्रहरीलाई गरे खबर, शरीरका केही भाग मात्रै भेटियो

  • ख-
  • ख+

काठमाण्डौ । राजधानीको बौद्धमा बोराभित्र भेटिएको शव विभत्स तरिकाले हत्यापछि फ्याँकिएको पाइएको छ । प्रहरीका अनुसार दुई साताअघि नै हत्या भएर शरीरका केही भाग मात्रै फ्याँकिएको पाइएको हो ।

महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुबेर खापुङले शवको प्रकृति हेर्दा दुई साताअघि नै हत्या भएको जस्तो देखिएको बताए ।

परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको उनको भनाइ छ । तर, बोरामा शव पुरा भेटिएन । जलाइएको जस्तो देखिने शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न नसकेको उनले बताए ।

उनले शव पोस्टमार्टम र डीएनए प्रोफाइलका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको जानकारी दिए । मंगलबार बिहान घटनाको जानकारी पाएसँगै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंह र महाशाखाका कुवेर कडायतसहितका प्रहरी अधिकारी घटनास्थल पुगेका थिए ।

घटनास्थल बौद्धको नयाँबस्तीस्थित दिब्य पार्टी प्यालेसबाट ५०० मिटरभित्र चौरमा रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा पर्ने सो स्थानमा मंगलबार बिहान दुबो टिप्न गएकी एक महिलाले बोरा देखेर शंका लागेपछि प्रहरीलाई खबर भएको थियो ।

घटनास्थलमा पुगेसँगै हेर्दा प्रहरीले शवका अवशेष फेला पारेका थियो । प्रहरीले पैतालाको अवशेष हेर्दा अधबैंसे मानिसको जस्तो देखिन्छ ।

शवको पहिचान नै नभएकाले प्रहरीले हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन भने अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?