काठमाडौँ। विभिन्न २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड प्रदान गरिएको छ । मङ्गलादेवी सिंह फाउन्डेसन र गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले तिजको अवसर पारेर काठमाडौँमा एक कार्यक्रम गर्दै सम्मान प्रदान गरेको हो ।
मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंह, पटोखा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बाबुकाजी महर्जन, महिला वडा सदस्य लीला देवी अधिकारीलगायतले सम्मान प्रदान गरे ।
तारकेश्वर नगरपालिका बाल विकास तथा सामाजिक शाखा प्रमुख प्रतिमा मिश्र, समाजसेवी स्मृति महर्जनको समेत सहभागिता रहेको कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले महिलाहरू सक्रिय रूपमा अगाडि बढ्न अनुरोध गरिन् । जवसम्म महिला अगाडि बढ्दैनन् देशको विकास सम्भव नहुने उनको भनाई रहेको थियो ।उनले महिलाले मङ्गलादेवी सिंहले देखाएको मार्गमा सबै दिदीबहिनीहरू हिँड्नुपर्ने धारण राखिन् ।
कार्यक्रममा सम्मानित हुनेहरूमा वरिष्ठ सौन्दर्यकर्मी सुषमा महरा, सौन्दर्यविद् कमला श्रेष्ठ, डाक्टर राजश्री श्रेष्ठ, रिता तिवारी, सुमा चित्रकारलगायत रहेका छन् ।








