प्रचण्डद्धारा आफु मानसिक तनावमा भएको घोषणा

  • ख-
  • ख+

काठमाण्डो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताउनुभएको छ । कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीका ४९ जना सांसदको मन्त्री बनाउन दबाब आएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो ”हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठूलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ । हामी कुरा गर्दा कम्युनिस्ट पार्टी यस्तो हुनुपर्छ भनेर आदर्शका कुरा गर्ने तर चित्त भने मन्त्री पद पाइन्छ कि पाइँदैन भन्ने छ ।’

उहाँले अहिले पद चाहिने संस्कृति विकास हुँदै गएको बताउँदै नरबहादुर कर्माचार्य कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गर्नुभयो । सरल, सहज र निःस्वार्थ भावको नेता रहेको बताउँदै नेता कर्माचार्यसँगै छलफल गरेर आफूले जनयुद्धको थालनी गरेको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो ।

उहाँले अहिले सङ्घर्षबाट प्राप्त भएको सबै उपलब्धि गुम्ने हो कि भन्ने अवस्थामा पुगेको बताउँदै संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको उल्लेख गर्नुभयो । उहाँले एकपछि अर्को गर्दै एकता गरेको पार्टीका नेता केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘उनीहरूले ठाने क्रान्तिकारी पार्टी विभाजित छ, तिनका नेता र कार्यकर्तामा फ्रस्टेसन छ, बिचार र नेतृत्वप्रतिको आस्था र विश्वास घट्दै गएको छ, त्यस कारण यही बेला यिनीहरूलाई सिध्याउन सकिन्छ भन्ने ठानेर निकै ठुलो मोर्चाबन्दी एकातिर देखापर्यो । अर्कोतिर हामी थकित जस्ता, उत्साहहीन जस्ता, जोस जाँगर हराएका जस्ता देखियौँ । खतराको घण्टी बजिरह्यो । जीवन मरणको अवस्था आयो हामी माओवादीहरूका लागि । यसलाई परास्त गर्न जे गर्न सकिन्छ त्यो गरौँ भनेर हामी नेतृत्व तहबाट लाग्यौँ ।’

प्रतिगमन परास्त पार्न सडक र जनतामा जानुको विकल्प नभएकोले पुरै शक्ति र इमानदारिताका साथ आन्दोलनमा गएको अध्यक्ष प्रचण्डले बताउनुभयो । सर्वोच्च अदालतले जनभावना अनुसार फैसला गरेकोले जनताको जीत भएको उल्लेख गर्नुभयो । (रातोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्