तनहुँ । पछिल्लो समय देशका विभिन्न जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि तनहुँको म्याग्दे गाउँपालिकाले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

म्याग्दे गाउँपालिकाले जारी गरेको सूचनाअनुसार २०८३ साल भदौ १० गतेदेखि सुर्खेत जिल्लाबाट सुरु भई नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन हुँदै नवलपरासीसम्म फैलिएको विनाशकारी बाढी तथा पहिरोका कारण ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएकोप्रति गाउँपालिकाले दुःख व्यक्त गरेको छ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनेहरूप्रति गाउँपालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण नागरिकप्रति ऐक्यबद्धता समेत प्रकट गरेको छ।

विपद्बबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले गाउँपालिकाको २०८३/०५/१९ गते बसेको कार्यपालिकाको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।

त्यसैगरी गाउँपालिकाको कार्यालयमा कार्यरत सम्पूर्ण पदाधिकारी तथा कर्मचारीहरूबाट समेत आ–आफ्नो पाँच (५) दिनको तलब बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ।

म्याग्दे गाउँपालिकाले विपद्को यस दुःखद् घडीमा गाउँपालिकाभित्रका सम्पूर्ण नागरिकहरूलाई समेत आ–आफ्नो सामर्थ्यअनुसार बाढी तथा पहिरो पीडितका लागि राहत सहयोग गर्न आग्रह गरेको छ।

गाउँपालिकाले विपद्का बेला पीडित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सबैको साथ र सहयोग आवश्यक रहेको भन्दै मानवीय सहयोगका लागि अपिल गरेको छ।