काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं सांसद राजन गौतमले रसुवामा बाढीका कारण अभिभावकविहीन भएका १० जना बालबालिकाको पालनपोषणसहित कक्षा १० सम्मको सम्पूर्ण अध्ययन निःशुल्क गराउने घोषणा गर्नुभएको छ।
सांसद गौतमले आज एक प्रतिबद्धता सार्वजनिक गर्दै विपत्तिका कारण अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित गर्नु सबैको दायित्व भएको बताउनुभएको हो।
उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित पक्षसँग समन्वय गरेर बालबालिकाको पालनपोषण तथा शिक्षाको व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
“विपत्तिले उनीहरूका अभिभावक खोसेको छ, तर उनीहरूको भविष्य खोसिन दिनु हुँदैन,” गौतमले भन्नुभएको छ।
उहाँले ती बालबालिकाको शिक्षा र पालनपोषणमा आफ्नो तर्फबाट सक्दो जिम्मेवारी निर्वाह गर्ने बताउँदै आज उनीहरूलाई आवश्यक परेको सहारा भोलि देशका सक्षम नागरिक निर्माणको आधार बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
सांसद गौतमले आफ्नो प्रतिबद्धतालाई ‘आजको सानो प्रतिबद्धता, भविष्यका लागि ठूलो आशा’ का रूपमा प्रस्तुत गर्नुभएको छ। उहाँले भन्नुभएको छ, “आज उनीहरूलाई सहारा चाहिएको छ, भोलि यही सहाराले देशका सक्षम नागरिक जन्माउनेछ।”









