तनहुँ । नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै परदेशमा रहेका नेपालीको पीडा, परिवारको सम्झना र श्रीमतीको प्रतीक्षालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको नयाँ दशैं गीत ‘भन परदेशी’ सार्वजनिक भएको छ।

दशैं–तिहारजस्ता महत्वपूर्ण चाडपर्वमा स्वदेश फर्किन नपाउँदाको पीडा र विदेशमा रहेका श्रीमान्को बाटो कुरेर बसेकी श्रीमतीको भावनात्मक वेदनालाई गीतको मुख्य विषय बनाइएको छ। परदेशी जीवनका दुःख, परिवारप्रतिको माया तथा चाडपर्वमा हुने विछोडलाई गीत तथा भिडियोमार्फत मार्मिक रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

गीतको भिडियो तनहुँको व्यास नगरपालिकाका विभिन्न स्थानमा छायांकन गरिएको हो। भिडियोमा चर्चित मोडल जुना गुरुङ, सुदिप पौडेल, हेमन्त सुवेदी, प्रभास भट्ट लगायतका कलाकारको अभिनय रहेको छ।

सुशान पन्थले छायांकन गरेको भिडियोको निर्देशन बीबी क्षेत्रीले गरेका हुन्। गीतमा पछिल्लो समय चर्चामा रहेकी गायिका अन्जिता विश्वकर्माको स्वर रहेको छ।

दशैंको अवसरलाई लक्षित गरी सार्वजनिक गरिएको ‘भन परदेशी’ले विदेशमा रहेका नेपाली र उनीहरूका परिवारले भोग्दै आएको भावनात्मक दूरी तथा प्रतीक्षाको कथालाई उजागर गरेको छ। विशेषगरी दशैंका बेला घरपरिवारसँगै हुन नपाएका परदेशी र उनीहरूका आफन्तको भावनासँग गीत जोडिने निर्माण पक्षको विश्वास छ।

परदेशी जीवनको पीडा, घर फर्किने चाहना र प्रियजनको प्रतीक्षालाई समेटिएको ‘भन परदेशी’ दशैंको सांस्कृतिक र भावनात्मक परिवेशमा दर्शक–श्रोताको मन छुने अपेक्षा गरिएको छ।