तनहुँ । तनहुँको व्यास नगरपालिकामा वडास्तरीय प्रथम व्यास मेयर कप–२०८३ फुटबल प्रतियोगिता कार्तिक १३ गतेदेखि सञ्चालन हुने भएको छ। व्यास नगर खेलकुद समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा कुल १३ खेल हुने आयोजकले जनाएको छ।
प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यास नगरपालिकाका नगरप्रमुखले युवाहरूको खेलप्रतिको उत्साहलाई सम्बोधन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। उहाँले खेलकुदको विकाससँगै स्थानीय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। साथै, नगरभित्रका खेलमैदानलाई स्तरीय बनाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो।
समितिका अध्यक्ष तथा व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङ (कुमार) ले पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, तयारी तथा सञ्चालनसम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो।
वडास्तरमा आयोजना हुन लागेको प्रतियोगितामा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिताले स्थानीय स्तरमा फुटबल खेलको विकास गर्न, युवाहरूको खेलकौशल अभिवृद्धि गर्न तथा नयाँ खेलाडी उत्पादन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने आयोजकको विश्वास छ।
कार्तिक १३ गते बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर १३ र वडा नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ।
वडास्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय तहमा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।









