सत्रसय फाँट, तनहुँ । आँधीमुल नेपाली कल्याण समाज, सत्रसय रातमाटे, तनहुँले आँबुखैरेनी गाउँपालिका–१ का शैक्षिक सत्र २०८२ मा SEE, कक्षा १२ तथा स्नातक तह उत्तीर्ण गर्ने दलित विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

समाजका अध्यक्ष थमानसिं नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्याल, पालुङटार नगरपालिका–८ का वडाध्यक्ष होपबहादुर नेपाली र आँबुखैरेनी गाउँपालिका–१ का वडाध्यक्ष प्रेमबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा SEE उत्तीर्ण पाँच जना, कक्षा १२ उत्तीर्ण छ जना र स्नातक तह उत्तीर्ण एक जना गरी जम्मा १२ जना दलित विद्यार्थीलाई सम्मान गरिएको थियो। विद्यार्थीहरूको शैक्षिक उपलब्धिको कदर गर्दै उनीहरूलाई आगामी दिनमा उच्च शिक्षा हासिल गर्न र समाजमा आफ्नो पहिचान स्थापित गर्न प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ।

कार्यक्रममा प्रमुख अतिथि चुमानले दलित तथा अन्य उत्पीडित समुदायको शैक्षिक, सामाजिक र आर्थिक सशक्तीकरणका लागि सकारात्मक विभेद तथा आरक्षणको आवश्यकता र औचित्यबारे धारणा व्यक्त गर्नुभएको थियो। उहाँले शिक्षा र अवसरको पहुँच विस्तारले सामाजिक विभेद न्यूनीकरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै समाजले शिक्षा तथा सरसफाइको क्षेत्रमा गर्दै आएका गतिविधिको प्रशंसा गर्नुभएको थियो।

समाजका पदाधिकारी तथा सहभागीहरूले शिक्षालाई सामाजिक रूपान्तरण, समानता र आत्मसम्मानको आधारका रूपमा जोड दिँदै विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न, आफ्नो क्षमता विकास गर्न र समाजको प्रगतिमा योगदान पुर्‍याउन आग्रह गरेका थिए। कार्यक्रममा बडादसैँको शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

चार दशक लामो सामाजिक यात्रामा आँधीमुल नेपाली कल्याण समाज

आँधीमुल नेपाली कल्याण समाजको इतिहास वि.सं. २०४२ साल जेठ २५ गतेसँग जोडिएको छ। तत्कालीन आँबु गाउँ पञ्चायतका विभिन्न बस्तीमा छरिएर रहेका सार्की समुदायका परिवारलाई मृत्यु संस्कार तथा सामाजिक सहयोगका काममा आइपर्ने कठिनाइ समाधान गर्न संगठित गर्ने उद्देश्यले नेपाली समाज गुठी स्थापना गरिएको थियो। मित्रता माध्यमिक विद्यालयका तत्कालीन शिक्षक हर्कबहादुर नेपालीको विशेष सक्रियतामा यान्चोक, सत्रसय फाँट, रातमाटे, पोखरीटार, जोगीटार तथा बरादी क्षेत्रका १७ घरधुरीलाई समेटेर प्रतिघर पाँच रुपैयाँका दरले रकम संकलन गरी ८५ रुपैयाँको हितकोष स्थापना गरिएको थियो।

समयक्रममा विभिन्न उतारचढाव, संगठनात्मक परिवर्तन र विभाजन पार गर्दै रातमाटे क्षेत्रका सदस्यहरूबाट वि.सं. २०५८ मा नेपाली समाज गुठी रातमाटे गठन भयो। यही संस्था वि.सं. २०७६ मा आँधीमुल नेपाली कल्याण समाजका नाममा विधिवत् दर्ता भएको हो।

वि.सं. २०८२ साउन ३१ गते समाजले आफ्नो नवनिर्मित भवन उद्घाटनसँगै SEE तथा कक्षा १२ उत्तीर्ण दलित विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा विद्यार्थीहरूका अतिरिक्त समाजका जीवित संस्थापक सदस्य, ज्येष्ठ नागरिक, पूर्वअध्यक्ष, दलित शिक्षक, विभिन्न पेसा तथा व्यवसायमा संलग्न व्यक्तित्व र शिक्षा, स्वास्थ्य तथा श्रद्धाञ्जली कोषमा योगदान गर्ने दाताहरूलाई समेत सम्मान गरिएको थियो। भवनको उद्घाटन गाउँपालिका अध्यक्ष शुक्र चुमानले गर्नुभएको थियो।

यसअघि पनि समाजले SEE, कक्षा १२ तथा कृषि विषयमा प्राविधिक डिप्लोमा उत्तीर्ण विद्यार्थीलाई नगद तथा सम्मानपत्र प्रदान गर्दै आएको थियो। विद्यार्थी सम्मान, शैक्षिक सहयोग, सामाजिक एकता र सरसफाइ अभियानमार्फत समुदायको विकासमा योगदान पुर्‍याउँदै आएको समाजले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रमका अवसरमा आँधीमुल नेपाली कल्याण समाजले सञ्चालन गरेको दुईमहिने सरसफाइ अभियानलाई सफल बनाउन आर्थिक तथा अन्य सहयोग पुर्‍याउने दाताहरूलाई समेत सम्मान गरिएको थियो। आँधीमुल मन्दिर क्षेत्रको सरसफाइ तथा वातावरणीय स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा सहयोग गर्ने दाताहरूको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो। समाजले सामुदायिक विकास, धार्मिक तथा पर्यटकीय क्षेत्रको स्वच्छता र सामाजिक उत्तरदायित्व अभिवृद्धिमा सहयोगी दाताहरूको भूमिका महत्त्वपूर्ण रहेको जनाएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, शिक्षक, विद्यार्थी, अभिभावक तथा समाजका सदस्यहरूको उपस्थिति रहेको थियो।