काठमाडौं । गत वर्षको भदौमा जेन जी आन्दोलन चर्केका दिन देशभरिका विभिन्न कारागारबाट फरार भएकामध्ये साढे तीन हजार कैदीबन्दीलाई अझै जेल फर्काउन नसकिएको अधिकारीहरूले बताएका छन्।
कारागार व्यवस्थापन विभागका प्रवक्ताका अनुसार असोज २८ गतेसम्म ३,५२० जना कैदीबन्दीहरू जेलबाहिरै रहेको तथ्याङ्क छ।
फरार भएका सबै कैदीबन्दीलाई फर्काउने प्रयास जारी रहेको भन्दै विभागका महानिर्देशकले सो सन्दर्भमा प्रगति चाहिँ अलि सुस्त देखिएको बताए।
प्रमुख चाडबाडका बेला कतिपय कैदीबन्दीहरू घर फर्किन सक्ने भएकाले सोहीअनुरूप सुरक्षा रणनीति अपनाउन एक पूर्वउच्च प्रहरी अधिकारीले सुझाएका छन्।
देशमा ठूलो उथलपुथल निम्त्याएको जेन जी आन्दोलनको एक वर्ष बितिसक्दा पनि फरार सबै कैदीबन्दीलाई जेल फर्काउन नसकिएकोमा चिन्ता व्यक्त हुँदै आएका छन्।
फरार कैदीहरु अधिकांश पुरुष
हाल फरार रहेका कैदीबन्दीहरूमध्ये नेपालीपछि भारतीय नागरिकहरू रहेका कारागार व्यवस्थापन विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ।
तथ्याङ्कअनुसार अहिले २,९८५ जना नेपाली र ५३५ जना विदेशी कैदीबन्दी फरार रहेका छन्।
हाल फरार रहेकामध्ये अधिकांश पुरुष कैदीबन्दी रहेका छन्। फरारमध्ये पुरुष कैदीबन्दीको सङ्ख्या ३,३४४ रहेको विभागले जनाएको छ।
फरार विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै ४४८ जना भारतीय रहेका छन्। चीनका २१ जना, बाङ्ग्लादेशका १४, दक्षिण अफ्रिकाका १०, म्यान्मारका ५ जनासहित अरू विदेशी कैदीबन्दी पनि फरार रहेका छन्।
विभागको अद्यावधिक रेकर्ड अनुसार देशभरिका २६ वटा कारागारबाट १३,५८५ जना कैदीबन्दी फरार भएका थिए।
तीमध्ये १० हजारभन्दा केही बढी जेल फर्किसकेका छन्। सुरक्षाकर्मीद्वारा समातिएका र आफैँ उपस्थित भएका कैदीबन्दी पनि त्यो सङ्ख्यामा पर्छन्।
साभारः बिबिस नेपाल









