बुटवल । ट्रकको ठक्करबाट कपिलवस्तुमा एकजना पत्रकारको मृत्यु भएको छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका करिब ५० वर्षीय पत्रकार नन्दराम पौडेलको मृत्यु भएको हो ।
मंगलबार राति पत्रिकाको काम सकेर लु.५९ प. ६४४१ नम्बरको मोटरसाइकलमा घर जाँदै गरेका उनलाई बाणगंगा नगरपालिका(८ चप्परगाउँमा पश्चिम दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
पौडेल स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यररत थिए । उनी इन्सेकका जिल्ला प्रतिनिधि पनि हुन् । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उनी प्रदेश कोषाध्यक्षका उम्मेदवार थिए ।
ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । पौडेलको मृत्यु भएपछि बाणगंगा वडा नं. ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।(अनलाईन खबर)








