खत्तमै खत्तमको भिडमा के.पी. ओली उत्तम

  • ख-
  • ख+

केपी ओलीलाई लतारेर सडकमा ल्यायौ भनेर लड्डु खानेहरुले पनि सिंहदरवार नजिकैको धरहरा, रानीपोखरी, चोभारको बन्दरगाह, अनेकौ सुरुगंमार्ग, तराईमा बन्दै गरेको बिशाल राजमार्ग, गाउँ गाउँमा निर्माण हुन लागेको तर वर्तमान् सरकारले बजेट काँटेका सयौ स्वस्थ्यचौकीहरु, माडिमा बन्दै गरेको राम मन्दिर, लुम्बिनी र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल अनि आफ्नो घरको भित्तामा झुण्ड्याईएको चुच्चे नक्शा देख्दा पक्कै के.पी. ओलीलाई पटक पटक याद गर्नेछन् र ऐनामा आफुलाई हेर्दै मुखले भन्न नसकेपनि मनमनै भन्नेछन् ” हामी खत्तमै खत्तमको भिडमा केपी ओली उत्तम ।”

राजनीतिमा एउटा भनाई छ कोहि स्थायी शत्रु र कोहि स्थायी मित्रु हुदैनन् तर नेपालको राजनीतिक सवालमा र कम्युनिष्ट पार्टी नामधारी पार्टीका नेताहरुमा त्यो कुरा कहिल्यै लागु भएको पाईदैन । एउटै पार्टीमा भएपनि भित्रभित्र खुट्टा तान्ने प्रवृत्ति अचकालि हावि रहेको पाईन्छ त्यस्तै प्रवृत्तिको चरम विकासले गर्दा दुई तिहाई नजिकको कम्युनिष्टको सरकार गल्यागं गुर्लुगं ढलेको कुरा बताईरहनु नै पर्दैन ।
जस्ले जे भनेपनि एकपटक नेपाली कांग्रेसले सन्त नेता कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीको उमेदवार बनाएर बहुमत ल्याएको थियो भने पछिल्लो समय कम्युनिष्टहरुको बहुमत आउनुमा भारतसग मज्जाले पैठेजोरी खेलेका के.पी. ओलीलाई प्रधानमन्त्री उमेदवारको रुपमा अगाडि सारेको कारणले हो भन्दा शायदै अन्यथा होला । के.पी. ओलीलाई प्रधानमन्त्रीको रुपमा त अगाडि सारियो शायदै यसरी अत्याधिक बहुमत आउछ र केपी ओलीको चार्म यत्तिको बढ्छ भन्ने जानेको भए माओवादीका सुप्रिमो पुष्पकमल दाहाल र नेकपा एमालेका वरिष्ठ नेता एवं केपी ओलीसग अध्यक्ष पदमा पराजित माधब नेपालले ओलीलाई कहिल्यै त्यसरी अगाडि बढाउने थिएनन् । दुईतिहाईको नजिक पुगेका के.पी. ओली पार्टी एकिकरण पश्चात, सरकारको नेतृत्वमा पुगेपश्चात यति शक्तिशाली भए कि पार्टीमा आफुभन्दा अगाडि कसैलाई बढेको देखिनसहने माधब नेपाललाई हजम हुने कुरै भएन ।
के.पी. ओलीले पालामा काम कति भयो ? उनले के कति काम कति गरे ? इतिहास र के.पी. ओलीले शिलन्यास गरेका बिकास निर्माणका कामहरुको समुद्धघाटन गर्ने दलका कार्यकर्ताले मुल्यांकन गर्लान् तर हरेश खाईसकेका नेपालीहरुलाई के.पी. ओलीले यत्ति मजासग सपना बाँडे कि के युवा, के बृद्ध धेरैजना के.पी. ओलीका फ्यान बन्न पुगे । भारतका साधारण कर्मचारीसग पनि लमतन्न पर्ने अन्य सरकार प्रमुखजस्तो नभईकन उन्ले सानो देशको वा ठुलो देशको भन्ने कोहि हुदैन सबै समान हो भन्ने सन्देश मज्जाले दिए जस्ले उन्को राष्ट्रवादी शैलीलाई सर्लक्कै माथि उचाल्ने काम गर्यो । केपी ओलीको त्यो राष्ट्रवादी छविलाई उनकै पार्टीभित्रकै प्रतिष्पर्धीले पचाउने कुरै भएन । राति सपनीमा पनि यो के.पी. ओलीले जसरी सपना बाँडेको छ, मुर्झाएको नेपालीको मनमा पानी छम्केको छ त्यसरी नै काम गर्यो भने त नेपालमा कम्युनिष्ट नेता अझ यो देशकै नेता भनेको मात्र के.पी. ओली हो भन्नेछन् आफ्नो त अस्तित्व मेटिनेछ, हुदाँखादाको राजनितिक व्यापार चौपट हुनेछ भन्ने छटपटाहट पैदा भईरह्यो । अर्कोतर्फ सधै नेपालीलाई हेप्न पल्केका विदेशीहरुलाई पनि ओली त एउटा काँउसो नै सावित हुनपुग्नुभयो । जी जी हजुरी र गुलामी मै रमाईरहेका नेपालका सरकार प्रमुखहरु भेटेका विदेशीहरुलाई कम अध्ययन गरेको भनेर खिसि गरिएका ओलीले के बिषयमा तर्क गर्ने ? विश्व, ईतिहास, कला, संस्कृति , सभ्यता, राजनीति, आयुर्वेद ? के भाषामा तर्क गर्ने ? हिन्दी, अंग्रेजी, संस्कृत, नेपाली ? नेपालका प्रधानमन्त्रीको झ्याको झार्छु भनेर वालुवाटार छिरेको भारतिय टेलिभिजन मार्फत सबैलाई खुईल्याईदिएको उहाँका बिरोधी र मनमा कुण्ठा लिएर बसेका कसैलाई पनि पचेन । बिचरा नेपाली नेताहरुलाई आँखा जुधाउन नदिने गरि अन्र्तवार्ता लिने पत्रकार केपी ओलीसग ईतिहासको ट्युशन लिएर जानुपर्यो ।
जनताले ५ बर्ष के.पी. ओलीको नेतृत्वमा सरकार भनेर मत दिएपनि ओलीलाई नेपालको ईतिहासमा अजर अमर बनाउने काम गर्ने मौका उनकै पार्टीका नेताहरुको कुण्ठाले नदिएको कुरा कहि कतै छिपेको छैन । जनताको चाहना थियो विश्वको नेता बन्न अग्रसर मोदीजस्तो मान्छेसग नझुकेको के.पी. ओली जे सुकै गरुन् तर देशको बिकास गरुन् , नेपाल र नेपालीको शिर नझुकाउन् , पंचायतदेखिका शोषकहरुलाई पाता फर्काकाउन् , जनबिरोधी अनेकन काण्डहरु धमिजा काण्ड, वाईडवडि काण्ड, वालुवाटार जग्गा काण्ड, पूर्व प्रधानमन्त्रीदेखि अन्यले उठाएका लडाकु भ्रष्ट्राचार काण्ड लगायतका काण्डमा मुछिएकाहरुलाई जेल दर्शन गराउन् ।
भागवण्डा नपुगेर पार्टीभित्रै छटपटाईरहेका झुण्डहरुलाई यसो चारो हालिरहेको भए त्यतैतिर भुल्ने थिए, प्रतिपक्षी दलका नेताहरु सासुलाई राजदुत बनाइदिदा मख्ख नै थिए पार्टीको खिचातानीलाई एडजष्ट गर्छु भन्दा भन्दै के.पी. ओलीको हातबाट मौका नराम्ररी फुत्केको छ , न त उहाँलाई त्यतातर्फ अगाडि बढ्न आफ्नै सहकर्मीले नै हौस्याए, ओली न त त्यसतर्फ अगाडि बढ्न साथ पाउने वातावरण नै बन्यो ।
आलाकाँचा सल्लाहकार, नियुक्तिमा भाईभतिजालाई प्रश्रय दिने नेताहरुलाई अलिकति पनि चारो नहाल्ने बानी, थोरै हौसिने बानी, सबैको कुरामा ज्ञानले गर्दा समकक्षीहरुको रिस र कुण्ठा अनि पछिल्लो समयमा मित्र राष्ट्रका प्रमुखहरुले बढाएको सम्बन्धको सहि बिश्लेषण गर्न नसक्नाले पनि के.पी. ओलीलाई आफ्नैले सत्ताच्युत गर्न सजिलो बन्यो । विदेशीहरुले ओलीलाई केहि कुरामा पनि सकिएन … नाकावन्दि, डर, धाँक, त्रास देखाएर पनि केहि लागेन भनेर विभिषणको सहायतामा सत्ताच्युत गर्न सकेका हुन् नत्र त्यति चतुर के.पी. ओलीलाई यति सजिलै कसैले सत्ताबाट निकाल्लान् भनेर कसैले अनुमान गरेकै थिएन । के.पी. ओली असफल बनाउनमा कम्युनिष्टहरु बिच एकता नचाहने देशी विदेशी शक्ति, केपी ओलीको उचाई बढ्दा आफ्नै उचाई घटेको देख्ने पार्टीका नेताहरुको कुण्ठा, नेपाललाई क्रिडास्थल बनाउन उद्धत डलरमा पालिएकाहरुको मुख्य भुमिका रहेको कुरा कहि कतै छिपेको छैन ।
ईतिहाँसले अनेक सपना देखाउने, पूर्व प्रधानमन्त्री भनेर के.पी. ओलीलाई सम्झला नसम्झला तर मेरो देशको नक्शा भनेर देखाउन गारो मान्ने नेताहरु, भारतिय कर्मचारीसग पनि चुक्क बोल्न नसक्ने शासक र आफुलाई ठुल्दाई सम्झिने भारतसग यो जमिन मेरो देशको हो भनेर केपी ओलीले छापेको चुच्चे नक्शा, चिनसग गरेको पारवहन सन्धि, रेलको सपना, पानी जहाजको सपना, घरघरमा ग्यास पाईपको सपना, प्रत्येक गाउँमा स्वस्थ्य चौकी, अनि जस्लाई पनि जुनसुकै बिषयमा प्रवचन दिन सक्ने ल्याकत भएको, धेरै बिषयमा ज्ञान भएको नेता भनेर अहिलेको पुस्ताले सधैसधै सम्झिरहनेछ र केपी ओलीलाई लतारेर सडकमा ल्यायौ भनेर लड्डु खानेहरुले पनि सिंहदरवार नजिकैको धरहरा, रानीपोखरी, चोभारको बन्दरगाह, अनेकौ सुरुगंमार्ग, तराईमा बन्दै गरेको बिशाल राजमार्ग, गाउँ गाउँमा निर्माण हुन लागेको तर वर्तमान् सरकारले बजेट काँटेका सयौ स्वस्थ्यचौकीहरु, माडिमा बन्दै गरेको राम मन्दिर, लुम्बिनी र पोखराको अन्तर्राष्ट्रिय विमानस्थल अनि आफ्नो घरको भित्तामा झुण्ड्याईएको चुच्चे नक्शा देख्दा पक्कै के.पी. ओलीलाई पटक पटक याद गर्नेछन् र ऐनामा आफुलाई हेर्दै मुखले भन्न नसकेपनि मनमनै भन्नेछन् ” हामी खत्तमै खत्तमको भिडमा केपी ओली उत्तम ।”

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्