तनहूँको गठबन्धन सकस: नखाँउ भने दिनभरको शिकार खाँउ भने कान्छा बाउको अनुहार

  • ख-
  • ख+

स्थानिय तहको निर्वाचनमा सत्तारुढ दलहरु बिच मिलेर जाने केन्द्रिय तहमा सहमति भएपनि देशभर जस्तै तनहूँमा पनि गठबन्धनको आगो भुसमा लागेको अगो जसरी फैलिएको छ । अघिल्लो निर्वाचनमा प्रदेश र केन्द्रिय सांसदहरुको निर्वाचनमा आफ्ना उमेदवारहरु विजयी गराउन नसकेपनि स्थानिय तहको विगतको नतिजा हेर्दा तनहूँलाई नेपाली कांग्रेसको गढ नै हो भन्दा खास्सै फरक पर्दैन भने सोहि दम्भबाट ग्रसित तनहूँ कांग्रेस यतिबेला गठबन्धन गर्नुपर्ने निर्देशनले नराम्ररी गाँजिएकोछ ।
हुन त गठबन्धनको कुरा चल्ने बित्तिकै ठुलो दल नेपाली कांग्रेसले घिरिगं र देवघाट गाउँपालिकामा सहयात्री दललाई दिने चर्चा चलेपनि त्यतिमा मात्र अरु दलले चित्त बुझाउने सम्भावना छैनको बराबर रहेको छ । कांग्रेस अरुलाई साईजमा राखेर आफु बहुमत ल्याउन चाहन्छ भने अरु दलका स्थानिय नेताहरु गठबन्धनको नाममा, कांग्रेसको भजन गाएर हिजो सरापेको कांग्रेसको मत लिएर आफु जनप्रतिनिधि बन्न चाहन्छन् ।
त्यसो त गठबन्धनका दलहरुबिच सिट बाँडफाँडमा सबै पालिकाहरुमा समस्या रहेपनि बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा सबैभन्दा बढि सकस पर्ने देखिएको छ । बन्दिपुर गाउँपालिकामा मात्र विजयी भएको नेकपा माओवादी केन्द्र आफ्नो शक्ति बढेको कारण अब आँबुखैरेनीतिर नजर लगाउदै दुवै गाउँपालिका प्रमुखको कुर्सी कत्ति पनि छोड्न चाहेको छैन । हामी कांग्रेसीहरु जुधेर हो नत्र बन्दिपुरमा कांग्रेसबाहेक अरु कसैले चिहाउन पर्र्र्दैन भनेको कांग्रेस आँबु छोड्न त पर जावोस् बन्दिपुरमा पनि प्रमुख हामीले पाउनुपर्छ भन्दै दावि गरिरहेको छ । भानुमा त नेकपा एकिकृत समाजवादीले हाम्रो पकड भनेकै भानु नगरपालिकामा हो भन्दै युवा नेता श्रीराम पौडेललाई मेयरको उमेदवारको रुपमा अगाडि बढाईसकेको छ ।
माथि उल्लेखित तिन पालिकाहरुमा गठबन्धनको सवालमा चर्को रस्साकस्सि रहेपनि अन्य पालिकाहरुमा पनि कम्ता सजिलो हुनेछैन । एउटा वडामा कम्युनिष्ट उमेदवारहरु विजयी भएको व्यास नगरपालिकामा कांग्रेसले नेकपा एकिकृत समाजवादीलाई उपमेयर कसरी दिन सक्ला ? मान्छेहरु कल्पना बाहिरको कुरा भनिरहेका छन् भने माओवादी केन्द्र र एकिकृत समाजवादी व्यासमा उपमेयर र ५ वडा अध्यक्ष पाए गठबन्धन गरिने बताउदै आउनुभएको छ ।
नेपाली कांग्रेसबाट एकसेएक आंकाक्षीहरु भएको शुक्लामा पनि माओवादी र समाजवादीको चित्त बुझाउदै गठबन्धन गर्नु त्यति सजिलो छैन । क्षेत्रिय सभापतिमा विजयी हुदै मेयरको आंकाक्षी रहेका युवानेता चुडामणी खनाललाई पनि भिमाद नगरपालिकामा गठबन्धनको भाग पुर्याउन अरु त परै जाउन् आफ्नै कांग्रेसीहरुलाई मनाउनु फलामको च्युरा चपाउनु सरह हुनेछ । रिसिगंमा नेपाली कांग्रेसको गढ भएको कारण अरु दलले त्यति आश नगर्ने हुदाँ त्यहाँ गठबन्धन गर्न सजिलो हुनेछ ।
नेकपा एमालेलाई कसरी पत्ता साफ गर्न सकिन्छ भनेर यो तनहूँमा यस्तो किसिमबाट गठबन्धन भयो भने नेपाली कांग्रेसभित्र ठुलै विद्रोह हुने र अहिलेको निर्वाचनमा मात्र होईन आँउदा निर्वाचनमा पनि कांग्रेसलाई ठुलै धक्का पुग्ने देखिएको छ । यदि माओवादी र एकिृकत समाजवादीका यी मागहरु पुरा गरेको खण्डमा आम मानिसहरुले बिचरा कांग्रेस तनहूँमा पनि यति कमजोर भएछ भनेर सबैले खिसि पनि गर्नेछन् भने अर्कोतर्फ निर्वाचनमा हराउने शक्ति रहेको गोविन्दराज जोशी समुहलाई वास्ता पस्ता नगर्ने कम्युनिष्टहरुलाई भने भाग दिने भन्दै सच्चा कांग्रेसीहरु नै बिच्किसक्ने प्रचुर सम्भावना रहेकोे छ ।
गठबन्धन त गर्ने कसरी गर्नेभन्दा पनि भारेटाकुरे सबै नेताहरु आफु अनुकुल गठबन्धन लागु गर्न र गराउन उद्यत रहेकोले एमालेलाई तह लगाउन बनेको गठबन्धन तनहूँमा लागु भएपनि नभएपनि गठबन्धनका सबैदललाई गठबन्धन नखाँउ भने दिनभरको शिकार खाँउ भने कान्छा बाउको अनुहार भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्