धेरै अगाडिदेखि नै नेपाली कांग्रेसबाट व्यासनगरपालिकाको कांग्रेसको मेयरको उमेदवार को बन्ला ? धेरैको चासो र चर्चाको बिषय थियो । पंक्तिकारले नेपाली कांग्रेसका वरिष्ठ नेता श्रद्धेय रामचन्द्र पौडेलको भाषा सापटी लिएर भन्दा लठुवाहरु बस्ने दमौलीको एक चिया पसलमा निस्फिक्रीसग भनेको थिए ” २ सय % बैकुण्ठ न्यौपाने किनकी…. ।” ”यो त हुनै सक्दैन” भन्नेहरु थुप्रै मानिसहरु थिए । उहाँहरुको भनाईलाई त्यतिवेला बल पुग्यो जतिवेला ११ गते साँझ पर्न पर्न लाग्दा पोखरातिरबाट अलिकति सत्य हल्ला नै सहि दमौली बजारभर हल्ला फैलियो । ”पासा पल्टियो व्यासमा बैकुण्ठ युगको अन्त्य भयो । ” तर रातभरको फोनको व्यस्तता, धुर्कि, वार्गेनिगं र दौडादौडपछि ढिलो नै सहि पंक्तिकारको भनाई सत्य सावित भईछाड्यो । आखिर साँझतिरसम्म टिकट पाइसकेका व्यक्तिको राजनीतिक भविष्य नै चौपट पार्ने गरि पुनः बैकुण्ठनाथ न्यौपाने व्यास नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरको उमेदवार बन्न सफल हुनुभयो ।
उमेदवारी दर्ता गर्न निर्वाचन आयोगमा पुगेको बेला उहाँले ”मानव भएको कारणले आफुबाट अघिल्लो कार्यकालमा गल्ती कमजोरी भएको भए त्यस्लाई सुधार्ने छु ” भन्नुभएको छ तर उमेदवार बन्न एक रातमा नेताहरुको मन पल्टाएजस्तो सजिलो छैन अब व्यासमा जनताको मन पल्टाउनको लागि त्यो कुरा उहाँले चटक्कै बिर्सनुभएको छ । पार्टीमा भएका सानातिना काँढाहरु त नेपाली कांग्रेसका वरिष्ठको आर्शिवादले कटाउन सकियो होला तर जनताको मन अझ स्वयं आफुलाई जन्मजात कांग्रेसीहरु हौ भन्नेहरुका मनमा गढेका अनगिन्ति प्रश्नहरुको उत्तर दिन हम्मेहम्मे पर्ने देखिएको छ । हो बैकुण्ठ न्यौपानेसग कुनै पनि राजनीतिक विरासत छैन तर आदिकवी क्याम्पसको क्याम्पस प्रमुख हुदै व्यासको मेयर भईरहदा बैकुण्ठ न्यौपानेसग मानिसका थुप्रै प्रश्नका चागंहरु रहेका छन् । उहाँकै कार्यकालमा व्यास नगरपालिका बेरुजु फर्र्छौट नगर्ने नेपालकै नम्बर वान् नगरपालिकामा दरिएको छ । अहिलेको बर्षको बेरुजुलाई त भ्रष्टाचार होईन भन्न सकिएला तर स्थापना कालदेखिको बेरुजु अझ पछिल्लो पाँच बर्षको वेरुजुको रकम हेर्दा उहाँले शायदै ”मैले व्यासको मेयर भएपश्चात राम्रो काम गरे ” भन्न पक्कै पनि गारो पर्ने देखिन्छ । शिर्षक खुलाउन नसकिएको भन्दै बजेटमा करोडौ रकम हिनामिना, विकास निर्माणका नाममा आफ्ना गुटका कार्यकर्ता खुशी पार्न मनपर्दी रकम बाँडिनु , कागजमा मात्र लागु भएका फिण्डमा नदेखिने योजनाहरुमा करोडौ रकम हिनामिना, नियुक्ति, लाभका पद, सरुवा बढुवा, योजना, भ्रमणमा आफन्त र आसेपासेहरुको हालिमुहाली, आफ्नो गुटका लागि ३ ठाउँमा जागिर अर्को गुटका लागि नगरपालिका भित्रै नछिर् भन्ने अघोषित उर्दि, आफुलाई मन पर्नेलाई ज्यानै दिन तयार आफ्नो ईतर गुट र मन नपर्ने व्यक्तिको कुरा सुन्नै गारो मान्ने प्रवृत्ति, सबै बिषयमा ज्ञाता भएको कारण प्रत्येक क्षेत्रमा हस्तक्षेप गर्दै जताततै आफ्नै निर्णय लाद्नु , बिकास निर्माणका काममा अनावश्यक राजनीतिक हस्तक्षेप, स्कुल, कलेज, टोल, खानेपानी, आमा समुह, संघसंस्थाका पदाधिकारीहरुको निर्वाचनमा अनावश्यक हस्तक्षेप, चाकडिमा रमाउने पात्रहरुको मात्र कुरा सुन्ने चाहना, जनप्रतिनिधि भएपश्चात समग्र व्यास नगरपालिकाको जनप्रतिनिधि नसोचिकन आफुलाई कुनै गुटको जनप्रतिनिधिको रुपमा अगाडि बढाउनु , अवसरवादी र समाजमा नराम्रो छवि भएका व्यक्तिहरुलाई बढि पृष्ठपोषण, पाँच बर्षमा नगरपालिकामा एउटा डम्पिगं साईट बनाउन नसक्नु, उल्लेख्य मात्रामा सडक कालोपत्रे गर्न नसक्नु , बनेका सडकहरुको मर्मत नहुनु, रोजगारीमुलक कार्यक्रमलाई अगाडि बढाउन नसक्नु , नगरपालिकाका आर्थिक अनियमितताका मुद्धाहरुमा मौन, चाकडि गर्न नपाएर उहाँलाई असफल पार्न उद्धत असन्तुष्ट कर्मचारीतन्त्र, आदिकवी भानुभक्त क्याम्पस जसरी नै ५ बर्षे कार्यकालको अन्तिम समयसम्म आईपुग्दा नगरपालिका ऋणमा चुलुम्म डुबेर कर्मचारीलाई समेत समयमा तलब खुवाउन नसक्ने अवस्थामा पुग्न लाग्नु आदि यी र यस्तै दर्जनौ प्रश्नहरुले निवर्तमान मेयर र नेपाली कांग्रेसका तर्फबाट व्यासको ममेयरका उमेदवार बन्नुभएका बैकुण्ठनाथ न्यौपानेलाई यो निर्वाचनमा नराम्ररी लखेट्नेछ ।
अर्कोतर्फ गोविन्दराज जोशी पुत्र दिपकराज जोशी हालसम्म कुनै पदमा नभएको कारण खासै व्यक्तिगत प्रश्नहरु बाहेक विशेष असन्तुष्टि देखिएका छैनन् । मानिसको मनका अन्तरकुन्तरमा दिपकराज जोशी गोविन्दराज जोशीको छोरा र गोविन्दराज जोशीको मुद्धा अदालतमा छ भन्ने बिचार उब्जेपनि ”लामो समयसम्म मुद्धा लम्ब्याईरहेर गोविन्दराज जोशीको राजनीतिक भविष्य वर्वाद पार्न खोजिएको रहेछ ” भन्ने मानिसले भनिरहेका छन् । दिपकराज जोशीसग जो भेटिने छन् उहाँको सादगीपुर्ण जीवन, उहाँका समकक्षी तथा सहपाठी तथा उहाँलाई जान्ने बुझ्नेहरुका भनाईलाई आधार मान्दा उहाँको बारेमा लेख्दा बिन्दास तालले हात्तिछाप चप्पल पड्काउदै हिड्ने बानी, सपना बाँड्न नचाहने र स्टे«ट फरवार्ड स्वभावबाट अनि युवा जोश र उर्जा देखर दंग पर्नेछन् ।
लामो समयसम्म अमेरिकाको बसाईले गर्दा जुनसुकै काम पनि सिस्टमेटिक हुनुपर्छ , सोर्स फोर्स अनि माग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भन्ने विचार अनि मेयरमा विजयी भएपश्चात गर्न सक्ने काम मात्र म निर्वाचनको दौरानमा बाचा गर्छु म पैसाको आशा , असामाजिक ईच्छा आकांक्षा भएको मान्छबाटे मतको आशा गर्दिन भनेर हाँकाहाकी भन्ने स्वभावले गर्दा ”कस्तो मान्छे होला यो चुनावी कुरा गर्ने नजान्ने ?” भनेर एकपल्ट दिपकराज जोशीको बारेमा सोच्न पक्कै बाध्य बनाउनेछ। ”म मेयर बन्न खोजेको आफु सुखसुविधा पाउछु भनेर होईन व्यास नगरपालिकालाई सबै व्यास नगरवासीले गर्व गर्ने ठाउँ बनाउछु भनेर हो” भन्ने कुराले यो केटाले केहि गर्छ कि भनेर आशा जगाउनेछ तर यो त नेताहरुले चुनाव बोल्ने भाषा त हो नि भनेर भोट दिउँ भन्ने मन बनाउन पनि गारो पर्ने देखिन्छ ।।
व्यासको निर्वाचनको रणभुमिमा माओवादी केन्द्रका शालिन अतेन्द्रकेशरी न्यौपानेदेखि विवेकशिल साझाका रमेश आचार्य, स्वतन्त्र पार्वती कार्की र राप्रपा लगायतका अन्य दलहरुबाट उमेदवारहरु मैदानमा भएपनि ४६ सालमा प्रजातन्त्र आएदेखि नै नेपाली कांग्रेसका २ नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको टकरावका कारण रणभुमी बनेको व्यास यसपाली अन्तिम युद्धको तयारीमा छ । जो युद्धका सेनापति मध्ये एकसग मानिसका दर्जनौ प्रश्न र हजारौ असन्तुष्टिहरु छन् भने अर्को सेनापतिसग अग्रजको धमिलो विगत र थुप्रै आशा, भरोशा र विश्वास रहेको छ । थाहा छैन निर्वाचनको मैदानमा व्यासका जनताहरुले कुन नेताको सेनापतिलाई साथ दिन्छन् ? दर्जनौ प्रश्न र असन्तुष्टिलाई थाँति राखेर स्वार्थको पछि लाग्छन् कि एउटा आशा जगाउने व्यक्तिको पछि लाग्छन् ? त्यस्को फैसलाको लागि बैशाष ३० सम्मको प्रतिक्षा गर्नुपर्नेछ ।








