के अब व्यास नगरपालिका महायज्ञ लगाएर चलाउने हो ?

  • ख-
  • ख+

रोजगारी र अनेक सिलसिलामा देशको राजधानी काठमाण्डौमा बस्दै गर्दा घर अर्थात व्यास नगरपालिका वडा नं. १० आउ जाउ अलि कम हुने गर्दथ्यो । सामाजिक संजालको प्रचुर प्रयोग गर्ने पेशा भएकोले तनहूँका खबरहरुबाट अछुतो रहने कुरै भएन । दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा २०७२ माघ ५ देखि १२ गतेसम्म आदिकवि भानुभक्त धार्मिक तथा शैक्षिक महोत्सव २०७२ लगाएको खबर धुमधामसग छायो ति खबरहरुसगै दानविरहरुको नाम देख्दा मलाई अचम्म पनि लाग्यो मैले चिनेको एकजना व्यक्ति जो लिखोको बोसो काड्न सिपालु हुनुहुन्थ्यो उहाँले पनि हजारौ रुपैया दान दिनुभएछ । अविर जात्रा लगायत अनेक देखियो । सोचे मान्छेको मन बदिलिन कतिबेर लाग्छ र ? होला उहाँलाई पनि दानविरमा आफ्नो नाम लेखाउन रहर लाग्यो होला र आफै काम गरिरहेको कलेजमा त्यति धेरै रकम दान गर्नुभयो भन्ने सोचे र आफ्नो दैनिकीमा लागे ।
समयक्रमसगै माघ १२ गते धार्मिक तथा शैक्षिक महोत्सव सकियो मलाई माघ १५ गते दमौली आउने काम पर्यो । बिहानै ७ बजे जमलमा टुरिष्ट बस कुरिररहेको थिए , पछाडिबाट कसैले मलाई बोलाए जस्तो लाग्यो फर्केर हेरेको त त्यहि धार्मिक तथा शैक्षिक महोत्सवमा दान गर्ने दानविर हुनुहुदो रहेछ । सगै गाडीमा चढियो । एउटै सिटमा बसियो । हाय हेल्लो औपचारिकताबाट शुरु भएको कुराकानी बिस्तारै घरपरिवार हुदै धार्मिक तथा शैक्षिक महोत्सवमा आईपुग्यो । जब मैले उक्त प्रसंग उठाए उहाँको अनुहार एकाएक कालो भयो मानौ मैले कुनै अशुभ समाचार सुनाएको झै उहाँ टोलाउन थाल्नुभयो । कतै मैले केहि नराम्रो शब्द बोलेछु कि भनेर मैले आफुले बोलेका कुराहरु रि गरेर सम्झे ”ओहो ! तपाई त निकै दानविर हुनुभएछ है त्यत्रो रकम दान गर्नुभएछ , समाचार पढ्दा त मलाई सारै खुशी लाग्यो ” भनेको रहेछु । तर सुन्ने मान्छे खुशी दान गर्ने मान्छे दुः खी भएको देख्दा म पनि दुः खित हुन पुगें । केहिवेरको सन्नटामा म फोल्डिगं सिटमा आडेस लाएर उहाँलाई कर्के नजरले हेर्दै थिए उहाँ गहिरो चिन्तामा भेटें । त्यसपछि मैले पनि हामी नेपालीले मन दुखाएपछि सजिलै प्रयोग गर्ने शब्द बोलिदिईहाले ” सरि है” मैले तपाईको मन दुखाए । बल्ल उहाँले फिस्स अमिलो हाँसो हाँस्दै भन्नुभयो ”के दुख्न बाँकि छ र मन साथी ? बिहान ४ बजे उठेर तयारी गर्यो , ईष्टमित्र साथीभाईलाई आदिकवि कलेजको जागिरे भन्यो अनि यस्तै धार्मिक एवं शैक्षिक महोत्सवमा आफुले कमाएको जति फच्चे हुने गरेर दान गर्यो । हाम्रो पनि परिवार छ , घोटिएर काम गरेपछि पाउने तलबले धेरथोर खाँउला रमाउलाँ भन्दै तलब आउछ भन्ने आशमा काम गर्यो मेरो त यति हजार पुग्यो नि बुढि कलेजमा लिनुपर्ने भनेर गफ चुट्यो लाष्टमा त्यहि दान गर्यो सिद्धियो ” साथीले एकै सासमा बोलेको कुराले मेरो मन अमिलो भयो । आलो घाउमा नुनुचुक छकिर्नु ठिक नलागेर मैले यात्राभर त्यस बिषयमा कुरा नै गरिन ।

सामुदायिक कलेजको रुपमा स्थापित आदिकवी भानुभक्त क्याम्पसको देशभर भिन्नै पहिचान छ । पछिल्लो समय उत्कृष्ट क्याम्पसको रुपमा स्थापित कलेज सरकारी कलेज बनाउन नसकिएपनि यसबाट तनहूँ , लम्जुगं र यस वरपरका जिल्लाका विद्यार्थीहरुले ठुलो लाभ पाएको पनि कहि कतै छिपेको छैन । तैपनि केहिसमय अगाडिसम्मको अवस्था हेर्ने हो भने कलेज आर्थिक रुपमा खासै राम्रो थिएन त्यसैको फलस्वरुप आर्थिक अवस्था मजवुत बनाउन पहिलो पटक २०६३ चैत्र १४ देखि २२ गतेसम्म महायज्ञको आयोजना गरियो । उक्त महायज्ञबाट करिब १ करोड २० लाख रुपैया संकलन गरिएको थियो । भकारीमा प्वाल भएपछि त्यतिले के पुग्छ र ? संस्थालाई गारो पर्दा पनि सरकारीकरण गर्न नखोजिकन फेरि आदिकवी भानुभक्त क्याम्पसमा अर्कोपटक २०७२ माघ ५ देखि १२ गतेसम्म आदिकवि भानुभक्त धार्मिक तथा शैक्षिक महोत्सव २०७२ को आयोजना गरियो । महोत्सव नाम दिईएको महायज्ञमा मनकारी दानविरहरु, मैले जमलमा भेटेका जस्ता केहि कर्मचारी तथा प्राध्यापकहरुको दानबाट करिब ४ करोड रुपैया संकलन भयो त्यसपछि दैवको लिला हो कि लायन्स क्लब लगायतका दाताहरुको मन फराकिलो भएर हो ”आजका मितिसम्म आईपुग्दा पहिलोपल्ट कर्मचारी लगायत सबैलाई दशैं पेश्की दिन सकिएको ‘‘उक्त क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनाले केहि महिना अगाडि बताउनुभएको थियो ।

तनहूँको शान आदिकवि भानुभक्त क्याम्पसको आर्थिक अवस्था सुघ्रिईरहेको खबर आउदा हामी व्यास नगरवासीको आशाको धरोहर, हाम्रो मुटु व्यास नगरपालिका आर्थिक संकटमा फसेको खबर बाहिरिएको छ । जनताले तिरेको करबाट तिरेका संस्थामा नियम विपरित भर्ना गरिएका दर्जनौ कर्मचारीहरु छन् , स्थापनाकालदेखिको करोडौ बेरुजुको हिसाब मिलाउन नसकेर त्यो त भ्रष्टाचार होईन क्या भनेर भन्नुपरेको छ , ५, ७ करोड त शिर्षक नखुलेको नाममा खर्च भएको देखिएको छ । डम्पिगं साईट भनेको के हो ? व्यास नगरको डम्पिगं साईट कता छ भनेर कसैले सोध्दा कहिले उत्तर, कहिले प्रर्व कहिले पश्चिम त कहिले दक्षिण देखाउनुमा हामीले गर्व गरेका छौ । सानो दमौली बजारको फोहोर उठ्न कि त प्रधानमन्त्री या त मुख्यमन्त्रीको सवारी हुनुपर्ने भएको छ । बिना उद्धेश्य प्लाष्टिकजन्य पदार्थमुक्त व्यास नगर बनाउने भन्दै लाखौ रुपैया कुनै संस्थालाई दान दिए बराबर बाँडिएको छ । नियम विपरित भर्ना गरिएका कर्मचारीलाई तलब ख्वाउदा करोडौ रकम अपचलन भएको महालेखाले औल्याएको छ । व्यास नगरपालिकाले जति ”राम्रो काम गरेका छौ ” भने पनि कस्तो काम भएको छ ४५ सयको साडिको मुल्य ९ हजार, कामै नगर्ने कर्मचारीले पनि प्रोत्साहन भत्ता खाएको महालेखाले छर्लगं देखाएको छ । हामीले राजश्व बृद्धि गरेका छौ भनेर जति नै भनेपनि सामान्य खर्चको विल तिर्न नसकेको खबर तनहूँ उद्धघोष दैनिकमा बाहिरिएको धेरै भएको छैन । निर्वाचन पश्चात पनि यस्तै अवस्थाबाट चलिरहने हो भने हाम्रो मुटु व्यास नगरपालिकालाई टाट पल्टिनबाट कसैले रोक्न सक्ने देखिएको छैन त्यसैले अब एउटा महायज्ञ लगाऔ र व्यास नगरपालिकालाई समृद्धिको दिशामा अगाडि बढाऔ । यसैमा हामी सबै व्यास नगरवासीको भलो छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्