श्रद्धेय जनप्रतिनिधिज्यु तपाईहरुलाई अख्तियारको बाटो देखाउनु नपरोस्

  • ख-
  • ख+

आदरणिय तनहूँ जिल्लाका सम्पूर्ण नगरपालिकाका मेयर, उपमेयर, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडासदस्य लगायतका जनप्रतिनिधिहरु सबैमा जय नेपाल , लालसलाम, अभिवादन, नमस्कार लगायत पार्टीगत नमस्कार ।
सर्वप्रथम त यहाँहरु विजयी हुनुभएकोमा हार्दिक बधाई । बडो दुःख र कष्टका साथ विजयी हुनु भएको छ सफल कार्यकालको शुभकामना । यहाँहरुको बधाई , सम्मान, फुलमाला अविर जात्राको कार्यक्रम सकियो होला भन्ने बुझेर शिर्षक पढ्दा नै तपाईहरुलाई कन्सिरिको रौं तात्ने कुरा लेख्न गईरहेको छु ।
श्रद्धेय जनप्रतिनिधिहरु यहाँहरुलाई अवगत नै छ संघियता आएपछि गाउँ गाउँमा सिहदरवार भन्ने अवधारणाको विकास भएपनि जनताले खासै त्यस्को अनुभुति गर्नुको साटो गाउँ गाउँमा नवमहाराजहरुको उत्पत्ति भएको रुपमा बुझेका छन् । त्यो कुरा त मेरो मुखबाट सुन्नुभन्दा पनि निर्वाचनको प्रचारका क्रममा हिड्दा तपाईहरु आफैले राम्रैसग अनुभव गर्नुभएकै होला । अब त यहाँहरुले चुनाव जितिहालियो के नमस्कार गर्नु यीनीहरुलाई ? भनेर होईन फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र ? हामी तलब खाएर काम गर्ने जनप्रतिनिधि जनताका सेवक हौ भनेर काम गर्नुभयो भने यहाँहरुले नवमहाराजको पदवी पाउनु हुनेछैन भन्ने आशा गर्दछु ।
श्रद्धेय जनप्रतिनिधिज्युहरु अब कामको कुरा गरौ, मैले देखेको छु निर्वाचन ताका यहाँहरुले आश्वासन उल्फाको धन फुपुको श्राद्ध भने झैं जताततै बाड्नुभएको छ । जस्ले जे माग गर्छ त्यो हुदैन है, भोट दिएपनि त्यतिसम्म त गर्न सक्दिन है भनेर तनहूँ जिल्लाका मात्र होईन प्रायशः नेपालभरका कुनै पनि उमेदवारको भनेको सुनिएको छैन । जागिर, विभिन्न समितिमा नियुक्ति, सरुवा, बढुवा, ठेक्कापट्टा त सामान्य बाचाहरु नै भईहालेका छन् । स्थानिय निकायको नियामावलिमा टेकेर आफ्ना पार्टीका मानिसहरुलाई अझ बिशेषत चुनाव जिताउन खटिएका मानिसहरुलाई कतिसम्म व्यवस्थापन गर्न सकिन्छ यहाँहरुले हिसाव किताब गरिसक्नुभएको छ तर होशियार तपाईलाई पदमा पुर्याएको जनताको सेवा गर्नको लागि हो है तपाईका पार्टीका कार्यकर्ताहरुको , तपाईको आसेपासेहरुको अभिष्ट ईच्छा पुरा गर्नको लागि होईन है !
जनप्रतिनिधिज्युहरु तपाईहरुलाई थाहा छ कि छैन तपाई निर्वाचित भएको पालिका, वाड कार्यालयहरुमा पहिलादेखि नै चाहिने नचाहिने संख्यामा कर्मचारीहरु हुनुहुन्छ । फोहोर नउठेपनि फोहोरका कर्मचारी हुनुहुन्छ, कम्प्युटर चलाउन नजान्नेले कम्युटर अपरेटरको नियुक्ति लिनु भएकै छ । पत्रकारसग सुमधुर सम्बन्ध बनाउन कतै कतै एकजना होईन २, २ जना प्रेस सल्लाहकारहरु पनि राखिएका थिए, अब तपाईको पालो होला हैन ? तपाईकै पालिकामा भवन बनाउदा पानीको निकास चाहिन्छ भनेर अनुमान गर्न नसक्ने, सडक बनाउन नालीको डिजाईन गर्न नसक्ने, खोला, खोल्सी, नदिको मापदण्ड कति हो ? मापदण्ड छोडेर घर बनाउन स्विकृति दिनुपर्छ भन्नेहरु ज्ञान नहुने पनि प्राविधिक पदमा कार्यरत भएको त जगजाहेर नै भईरहेको छ ।
खैर करारमा आफ्ना कार्यकर्ता भर्ना गर्ने त नेपालभरकै रोग रहेको छ तर श्रद्धेय जनप्रतिनिधिज्युहरु अब त्यस्तो नहोस् है । म तपाईको भलो चाहान्छु त्यसैले लेख्दैछु म ग्यारेन्टिका साथ भन्न सक्छु तनहूँको कुनै पनि पालिका वा वडा कार्यालयमा कर्मचारी थप्नुपर्ने आवश्यकता नै छैन त्यसैले कर्मचारी नथप्नुहोला मिल्छ भने कर्मचारी खर्च कम गराउनुस् , कर्मचारीले अनावश्यकरुपमा लिने गरेको प्रोत्साहन भत्ता बन्द गर्नुस् , बजेट आफ्नो पार्टीको कार्यकर्ता हेरेर होईन आवश्यकता हेरेर बाँड्नुस् , सडक बिस्तार, मर्मत सम्भार, निर्माणमा हाम्रो होईन राम्रो ठेकेदारलाई काम लगाउनुस् । धेरै जसो जनप्रतिनिधिहरुलाई लाग्ने गरेको आरोप डोजर साहुको आरोपबाट मुक्त हुने गर्नुस् । गिटी बालुवा, ढुगां खानी बिक्री गर्दा अघिल्लो बर्षहरुभन्दा यो बर्ष बढि मुल्यमा बिक्री गर्नुस् । हावा नचलिकन पात हल्लिदैन भने झै कमिशन लिने गरेको, ठेक्कपट्टा गर्नेहरुसग साँठगाँठ गरेको भन्ने आरोपबाट टाढा बस्नुस् । शिक्षक सरुवा बढुवामा हस्तक्षेप नर्गुस् , तपाईहरुले गठन गर्ने जुनसुकै प्राधिकरण, आयोग, समितिहरुमा योग्यताको कदर हुने वातावरणको श्रृजना गर्नुस् । ”तँ को होस् र हामीलाई सिकाउने ? हामी त चुनाव जितेर आएका जनप्रतिनिधिहरु हौ अब लाईसेन्स पाएका छौ, चुनावमा त्यत्रो खर्च भाछ अब उठाउनेतिर लाग्छौ ” भनेर कर्मचारी भर्ना, सरुवा बढुवामा हस्तक्षेप, ठेकेदारसग साँठगाँठ, वालुवा , ढुगां खानीमा साँठगाँठ, डोजर साहु बन्नतिर लाग्ने , पालिकामा विभिन्न योजना ल्याउदै कमिशनको चलखेल गर्ने, योजना टुक्र्याउदै कार्यकर्ता पोस्ने, कागजपत्र मिलाएर कार्यकर्ता भर्ति गर्ने, मिलाएर कार्यकर्ता पोस्ने, विभिन्न समिति निर्माण गर्दै चुनावमा वार्गेनिगं गरेकालाई राजश्वमा दाँई हाल्ने अवसर श्रृजना गर्नेतर्फ लाग्नुभयो भने महालेखा परिक्षकले तपाईहरुको गल्ती देखाउनुभन्दा पहिला नै म तपाईहरुको शुभचिन्तक माधब पौडेल तपाईहरुलाई अख्तियारको बाटो देखाउछु है । रिसानि माफ होस् भोलि ”यस्ले पूर्व सूचना नै दिएको थिएन एक्कासी अख्तियारमा हालेछ ” भनेर मलाई सराप्न पाईदैन है । म तपाईहरुले प्रगति गरेर तपाईहरुलाई यो भन्दा माथिल्लो पदमा गएको हेर्न चाहन्छु त्यसैले सचेत गराएको छु । अख्तियार धाउन मन छ मनपर्दी गर्नुस् नत्र जनताको काम गर्नुस् मैले मात्र होईन सबैले तपाईको गुणगान गाउनेछन् । अख्तियार धाउने काम गर्ने कि नगर्ने तपाईको मर्जी !
तपाईहरुको शुभचिन्तक माधब पौडेल

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्