नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको झण्डा बोकेर सरकारी पुलहरु उद्घाटन गर्दै हिड्नु लज्जास्पद र निर्लज्ज: नेकपा तनहूँका सांसदहरु

  • ख-
  • ख+

तनहूँ । पछिल्लो समय तातेको तनहूँको राजनितिमा शुक्रवार नेकपाबाट निर्वाचित सांसदहरुले पत्रकार सम्मेलनको आयोजना गर्नुभयो । तनहूँमा उत्पन्न समसामयिक परिस्थिति र क्षेत्राधिकार सवालमा आयोजित पत्रकार सम्मेलनमा माननिय सांसद तथा नेकपा तनहूँका अध्यक्ष केदार सिग्देल, तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान, प्रतिनिधि सभा सदस्य कलिला खान, राष्टिय सभा सदस्य भगवति न्यौपाने र प्रदेश सभा सांसद रामबहादुर गुरुगंको उपस्थिति रहेका थियो । कार्यक्रममा गण्डकी प्रदेशका मन्त्रीद्धय किरण गुरुगं र हरिबहादुर चुमान र प्रदेश सांसद आशा खनाल कार्यब्यस्तताले उपस्थित हुन नसकेको माननिय सिग्देलले बताउनुभएको थियो ।
कार्यक्रमको संचालन गर्दै माननिय सांसद भगवति न्यौपानेले पछिल्लो समयमा नेपाली कांग्रेसका वरिष्ठ नेता र नेपाली कांग्रेस तनहूँले अविछिन्न रुपमा पार्टीका सांसद तथा पार्टीप्रति व्यक्तिगत लान्छाना लगाउदै गाली गलौजमा उत्रदै हिडेको कारण आजको पत्रकार सम्मेलनको आयोजना गरिएको बताउनुभएको थियो ।
कार्यक्रममा सहभागी माननिय सांसद कृष्णकुमार श्रेष्ठ किसानले तनहूँमा पछिल्लो दिनमा नेपाली कांग्रेसले र नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले विधि प्रक्रिया र क्षेत्राधिकार मिचि कार्य गरेकोले यो अवस्था सिर्जना भएको बताउनुभएको थियो । यस्तो अवस्था सिर्जना हुनुमा आफ्नो केहि हात नरहेको बताउनुभएको थियो साथै वहाँले आफ्नो सम्पत्तिमाथि प्रश्न उठाउने नेपाली कांग्रेसका नेताहरुलाई आउनुस् सगै मिलेर तपाईको र मेरो सम्पत्तिको निष्पक्ष छानविन गर्न लगाउ भन्नुभएको थियो ।

उक्त पत्रकार सम्मेलनमा वहाँले जनताले नेकपाको उमेदवारलाई जिताएको कारण जनताको मतको कदर गर्न पनि कांग्रेस नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको थियो साथै वहाँले कुनै पार्टीको ठुलो नेता भन्दैमा जनमत , बिधि प्रक्रिया र स्थापित मान्यता मिच्दै चारतारे झण्डाको जथ्था लिएर गएर सरकारी सम्पत्तिबाट बनेको पुल उद्घाटन गर्न नपाईने पनि बताउनुभएको थियो ।
कार्यक्रममा सांसद केदार सिग्देलले त्यत्तिको जानेको, बुझेको नेताले लोकतन्त्र, नियम कानुनको खिल्ली उडाउदै हिड्न शोभा नदिने बताउनुभएको थियो । २६ बर्षसम्म जनप्रतिनिधि हुनुभएका रामचन्द्र पौडेलले सयौ पुल बनाएर उद्घाटन गर्नुपर्नेमा नेपाल सरकारले बनाएको पुल र सडक डिभिजन कार्यलयबाट निर्माण भएको पुलहरुमा नेपाली कांग्रेसले बनाएको मैले बनाएको भनेर छाप हान्न नहुनेपनि बताउनुभयो उक्त अवसरमा वहाँले हामीले त नेपाल सरकारले बनाएको भन्नुपर्छ भनेर आफ्ना सांसदहरुलाई सिकाएको पनि बताउनुभएको थियो ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुगंले पनि आफ्नो भनाई राख्नुभएको थियो । उक्त अवसरमा वितरित प्रेस विज्ञप्तिमा सेति नदिको सुढे पुल र तालघरेको बुल्दिखोलामा रहेको पुल उद्घाटन सम्बन्धित विभागिय मन्त्रालय र कार्यालयले निकट भविष्यमै गर्ने तयारी भईसकेको अवस्थामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै प्रक्रिया र बिधिलाई वाइपास गरि कथित उद्घाटनको मन्चन गरि आफ्ना पार्टीका चारतारे झण्डाहरु बोकि सरकारी सम्पत्ति माथि राजनितिकरण गर्दा भएको कार्य लज्जास्पद र निर्लज्ज छ । यस्तो कार्य लोकतन्त्रको मुल्य मान्यता विपरित हुने ठहर गर्दछौ भनिएको छ ।
कार्यक्रममा उपस्थित हुन नसक्नुभएका गण्डकी प्रदेशका मन्त्रीद्धय किरण गुरुगं र हरिबहादुर चुमानले विज्ञप्ति मार्फत नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमको विरोध गरिसक्नुभएको छ । स्मरणिय छ २६ बर्षसम्म सत्तामा रहदा पनि आफ्नो गाउँमा पक्की पुल निर्माण नगर्नुभएका रामचन्द्र पौडेलको गाँउमा केहि दिन अगाडि एउटा पक्की पुलको गण्डकी प्रदेशका मन्त्रीबाट सिलन्यास भएको थियो भने आज बिहानै गण्डकी प्रदेशका सांसद रामबहादुर गुरुगंले पक्की पुलको सिलन्यास गर्नुभएको छ उक्त कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाई तथा व्यास नगरपालिका वडा नं. ८ का अध्यक्ष ओजराज पौडेल छमछमी नाँचेको सामाजिक संजालमा निकै चर्चा र परिचर्चा भईरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?