भानु १० लौडारी भञ्ज्याङको कालिका प्राथमिक विद्यालय एक परिचय

  • ख-
  • ख+

तनहूँ जिल्लाको भानु नगरपालिका वडा नम्बर १० लौडारी भञ्ज्याङमा रहेको कालिका प्राथमिक विद्यालयमा को ४९ अ‍ौ वार्षिकोत्सब कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । उक्त अवसरमा त्यसै विद्यालयका पुर्व शिक्षक तथा वडा नं. १० का वडा सदस्य सन्तोष घलेले लेख्नुभएको विद्यालयको ऐतिहासिक पृष्ठभूमिबारे सानो लेखः
सन्तोष घले / कालिका प्राथमिक विद्यालय तनहूँ जिल्लाको भानु नगरपालिका वडा नम्बर १० लौडारी भञ्ज्याङमा बिक्रम सम्बत २०३१ सालमा स्थापना भएको पाइन्छ । तत्कालीन अवस्थामा यस क्षेत्र वरपर कुनैपनि विद्यालय खुल्न नसकेका कारण त्यतिबेला समाजको नेतृत्व प्रदान गर्ने र शिक्षाको महत्व बुझ्ने आदरणीय समाजसेवी स्वर्गीय नन्दप्रसाद लौडारी, र श्रीराम प्रसाद सेढाई जस्ता अग्रजहरूको सक्रियतामा विद्यालय स्थापनाका लागि अहोरात्र खटिनुभएको थियो । तत्कालिन अवस्थामा एउटा सानो टहरा निर्माण गरी पठनपाठनको कार्य आरम्भ भएको बताईन्छ भने यस विद्यालयको नाम नजिकै रहेको कालिका देवी मन्दिरको श्रद्धाले मन्दिरकै नामबाट नामाकरण गर्ने गरी समुदायको आम मानिसबाट सर्वसम्मत निर्णय भएअनुसार विक्रम सम्वत् २०३१ पौष ५ गतेदेखी विधिवत रुपमा यस विद्यालय श्री कालिका प्राथमिक विद्यालय चोक चिसापानीको नामबाट संचालनमा आएको हो । मुलुक नयाँ संघीय संरचनामा गए अनुसार हाल यो विद्यालय गण्डकी प्रदेश, तनहूँ जिल्ला, भानु नगरपालिका, वडा नम्बर १० अन्तर्गत लौडारी भञ्जयाङ नामक सुन्दरबस्तीको आडमा रहेको छ । तत्कालीन अवस्थामा विद्यालयको कुनैपनि आयस्रोत नभएको कारण स्थानीय बासिन्दाबाट जनश्रमदान, चन्दा, देउसी भैलो जस्ता कार्यक्रम सञ्चालन गरी अध्ययन तथा अध्यापनको कार्य शुरु गरिएको थियो । हाल यस विद्यालयमा दुई वटा भवन, खानेपानी, कम्पाउण्ड, फर्निचर, बिद्युत , इन्टरनेट सेवा रहेको छ भने विद्यालयसम्म आईपुग्न कच्ची सडक छ भने विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्था ररहेको छ । विद्यालय वर्तमान समयमा प्रारम्भिक बालविकास देखि कक्षा ५ सम्म सञ्चालित अवस्थामा रहेको पाइन्छ ।

लेखक: सन्तोष घले

२. भौगोलिक अवस्था
तनहूँको जिल्ला भानु नगरपालिका वडा नम्बर १० लौडारी भञ्ज्याङ भन्ने ठाउँमा यो विद्यालय अवस्थित रहेको छ । यो विद्यालय रहेको पवित्रभूमि समुद्र सतह बाट लगभग ९२४ मिटरको उचाइमा अवस्थित रहेको छ । यसको अवस्थिति हेर्दा ८४ डिग्री चार मिनेट पूर्वी देशान्तर देखि ८३ डिग्री ९ मिनेट पूर्वी देशान्तर र २८ डिग्री ९ मिनेट उत्तरी अक्षांश देखि ३० डिग्री ५ मिनेट उत्तरी अक्षांस सम्म अवस्थित रहेको छ । कालिका देवीको नामबाट राखिएको यो विद्यालय दुई सुन्दर पहाडको खोच तथा भञ्ज्याङमा रहेकोले यहाँको सुन्दरता थप बढाएको छ , भने यहाँको चेतना अभिवृद्धि गर्न यसले अहम भूमिका समेत खेलेको छ । २०३१ साल यता विद्यालयमा पढेर आएका स्थानीयहरु नेपाली सेना, शिक्षाक, निजामती कर्मचारी, नेता, राजनीतिज्ञ, कुशल व्यापारिक आदि समेत भएबाट यस विद्यालयको उल्लेखनीयता थप बढेर गएको प्रष्ट हुन्छ । विद्यालय रहेको पहाडिया भूमि प्राय भिरालो प्रकृतिको रहेको छ । विद्यालयको दक्षिण पश्चिम र पूर्वी भाग जंगलले ढाकेको छ भने यहाँको वातावरण स्वच्छ,सुन्दर तथा हराभरा रहेको छ । यस ठाउँबाट चुदी खोला, चितीखोला, थानीमाई, मिर्लुङकोट, तनहुँसुर, बरभञ्ज्याङ, राइनासकोट, लिगलिगकोट जस्ता ऐतिहासिक र धार्मिक स्थानहरूको रमणीय दृश्यहरुको अवलोकन पनि गर्न सकिन्छ ।

३. विद्यालय वरपर बसोवास गर्ने समुदाय
यस विद्यालयको सेवाभित्र बसोबास गर्ने समुदायहरु मिश्रित अवस्थामा रहेको पाइन्छ । अधिकरुपमा ब्राह्मणहरूको बसोबास रहेको यस ठाउमा अन्य जातजातिहरुको रुपमामा मुस्लिम, क्षेत्री, गुरुङ, लामा, दलित, नेवार, मगर आदि जातिका मानिसहरु समेत धार्मिक सहिष्णुता र सामाजिक सद्भाव का साथ मिलेर बसेका छन् । यहाँका मानिसहरूको मुख्य भाषा नेपाली नै हो तर यहाँ न्यून संख्यामा मातृभाषाको रुपमा मुस्लिम,नेवार, मगर, गुरुङ आदि भाषा बोल्ने भाषिक समुदाय पनि रहेको छ । त्यस्तै मुख्य चाडपर्वको रुपमा दशैं, तिहार, इद बकर इद, तमु ल्होसार माघी आदि धुमधामको साथ मनाउँदै आएको पाइन्छ । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिसको आर्थिक अवस्था सामान्य किसिमको छ । तर वर्तमान समयमा नेपालको सरकारी तथा निजी सेवाको अतिरिक्त बैदेशिक सेवामा यहाँका परिश्रमी र मिहेनती युवाहरूको लहरले आर्थिक रुपले समृद्ध हुने सम्भावना रहेको छ । त्यसले गर्दा एकातिर आर्थिक विकास भएको देखिन्छ भने अर्कातिर शहर केन्द्रित बसाइँसराइ र निजी शिक्षा तर्फको आकर्षणले गर्दा सरकारी स्कुलमा विद्यार्थीको भर्ना न्यून तथा सोचनीय अवस्थामा पुगेको छ ।यस श्री कालीका प्रा. वि. को संस्थापक शिक्षक म सन्तोष घले, प्रेजेण्ट लाल श्रेष्ठ र मुक्त बहादुर घर्ति २०३१ सालमा र मैले एस. एल. सी. दिएपछि फागुन महिना देखी २५ जना बिद्यार्थीलाई महिनावारी ९० रुपैया तलव खानेगरी कक्षा १ संचालन गरेको हुँ । यो विद्यालय कोटा ल्याउने काममा तत्कालीन जि.पं.सदस्य रामलाल श्रेष्ठको देन रहेको थियो भने उक्त समय विद्यालय संचालक समितिको अध्यक्ष बाबुराम लौडारी हुनुहुन्थ्यो ।

( लेखक सन्तोष घले उक्त विद्यालयको पुर्व शिक्षक एवं हालका वडा नं. १० को वडा सदस्य हुनुहुन्छ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्