कथा: व्यास पुराण

  • ख-
  • ख+

प्रस्तुत छ बिक्रम सम्वत् २०७९ साल पुष २१ गते बृहस्पतिवार पुष शुक्ल चर्तुदशीका दिनदेखि ऐ. ऐ. साल पुष २७ गते माघ शुक्ल चर्तुदशी बुधवारसम्म व्यास राज्यमा चलेको कथाः व्यास पुराण
हे वेथिति, स्थिति र काम कारवाहीलाई देख्नुभएका सम्पूर्ण मान्यवरहरु आज म तपाईहरुलाई आफ्नो मुखारविन्दुबाट पुष २१ गते बृहस्पतिवार दिनदेखि पुष २७ गते बुधवारसम्म एकादेशको व्यास राज्यको दरवारमा घटेका घटना सविस्तार वयान गर्न चाहन्छु ।
मेरो कथाको शिर्षक ”व्यास पुराण” मान्यवरहरु कथा काल्पनिक भएपनि कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ भनेर पनि सबैलाई अग्रिम बिन्ति बिसाउन चाहान्छु र हजुरहरुको आज्ञा लिएर कथा वाचन गर्न चाहान्छु :
हे मान्यवर. एकादेशमा व्यास भन्ने एउटा राज्य थियो । उक्त राज्यमा पनि देशका अन्य राज्यहरुमा जस्तै प्रत्येक ५/५ बर्षमा मुखियाहरु चुन्ने गरिन्थ्यो । विशेष परिस्थिति उत्पन्न भएर केहिबर्ष सम्पूर्ण राज्यहरुमा मुखिया छनौट गर्न विलम्ब भयो र जनताले तिरेको कुतबाट तनखा खाने सेवकहरुलाई राज्य संचालनको जिम्मा दिईयो । मुखिया नभएपनि एकादेशका मुखियाले प्रत्येक राज्यमा १ जना आफ्ना दुतलाई जिम्मलको रुपमा पठाउने गरेका थिए ।
एकादेशको परिस्थिति फेरिएपछि अन्यत्र जस्तै व्यास राज्यमा नयाँ मुखिया, सहायक मुखिया र टोल टोलका मुखियाहरुको छनौट भयो । जनताहरुबाट चुनिएका मुखियाहरु आएपछि सेवकको रुपमा छिरेर मुखियाहरुको अनुपस्थितिमा आफुलाई नै सधैको मुखिया सोच्नेहरुको निदहराम भयो तथापि मुखियाहरुले सेवकहरुको चाँकडी र चाप्लुसीमा चिप्लिएर राज्य संचालन गरिरहेका थिए । एकादेशका मुखियाले पठाउने जिम्मलमा उक्त राज्यको मुख्य हर्ताकर्ता र भण्डारको तालाचाबीको सुरक्षा गर्ने व्यक्ति ”म हो” भन्ने दम्भ हुन्थ्यो भने आफुलाई जनताले छनौट गरेको दम्भ गर्ने मुखियाको दम्भ बयानै गनै नसक्ने हुन्थ्यो ।

केहि समय अगाडि व्यास राज्यका जिम्मलले उक्त राज्यको राजधानीमा नै महल भएर पनि राज्यबाट घरभाडा सुविधा लिने, राज्यको दरवारलाई ससुरालीको घरवार सोच्नेहरुलाई सचेत गराउदा ति जिम्मलको धेरैसग सम्बन्ध बिग्रिएको थियो ।

हे मान्यवर, सेवकहरुको बानी यतिसम्म बिग्रेको थियो कि चाकडि गर्ने ध्याउन्नमा कहिले मुखियासग, कहिले जिम्मलसग त कहिले देशका चौथौ अंगसग आफुसगै राज्यमा काम गर्ने सहयात्रीहरुको अंगभंग देखाउने गर्दथे र भन्थे ”मैले त सुख्खा राज्यले दिएको मेवा मात्र खाएको हो फलानोको हेर्नुस् त महलहरु, हेर्नुस् त वैभव कस्तो भईसक्यो केहि गर्नुपर्यो हजुरहरुले , हजुरलाई प्रमाण के के दिनपर्छ म दिन्छु , हाम्रो राज्यलाई चुसेको देख्दा मेरो मन कम्ता रोएको छ” भनेर अर्तनाद गर्ने गर्दथे, वास्तवमा त्यो अर्तनाद उस्ले चुस्यो भनेर होईन कि आफु चुस्ने ठाउँमा पुग्न पाईन भनेर गरेको रोदन हुन्थ्यो भन्ने बच्चा बच्चालाई थाहा थियो ।

हे मान्यवर, एवंरितले एकादेशबाट खटाईएका जिम्मलहरुको आउने जानेक्रम चलिरहेको थियो । त्यसैक्रममा व्यास राज्यमा नै जन्मस्थान भएका एकजना व्यक्ति व्यास राज्यको जिम्मल बनेर आईपुगे । । गुडाँउनेदेखि उडाँउने विभागसम्मको जिम्मेवारी सम्हालेका ति जिम्मलले आफ्नो राज्यका मान्छे नचिन्ने, हैसियत थाहा नपाउने, राज्यमा भएको राम्रो नराम्रो कर्तुत बारे नबुझेको कुरै भएन । स्वभावत कडा उनी जब पाईला पाईलामा कडाईका साथ पेश हुदै आए व्यास राज्यका राम्रा नराम्रा सबै सेवकहरुको मात्र होईन मुखियाहरुको पनि मंसिर पुषको जाडोमा पसिना निस्कन थाल्यो।

राज्यको जिम्मलको पदमा भित्त्र्याउन नचाहदा नचाहदै स्वागत गर्नुपरेको, नराम्रो ईतिहास भएको पुष्टि नभएको, केहि गर्छु भन्दै सुधारका कार्यक्रमहरु अगाडि बढाएको जिम्मललाई हटाउन पनि गारै थियो । घरको खाजा खर्चदेखि, वाईफाई खर्च, विहानको खेलकुद खर्च, राज्यको दरवारमा रात विरात बसेर वर्डकपको मजा लिनेदेखि मनपरितन्त्रमा विश्वास गर्नेहरुका लागि जिम्मल आउनै नपाईकन घाँडो भएका थिए । ”मै मुखिया मै जिम्मल” भनेर फुक्काफाल दाँई हाल्ने गर्ने गरेका धेरैको आँखाको कसिंगर बनेका जिम्मलको हैकम पनि कम्ता थिएन ”समयमा कार्यालय आउनु, राज्य पोशाक घरमा राख्न दिएको होईन लगाएर आउनु , बेरुजुँमा राज्यले ईतिहास रचिसक्यो बेरुजुँ शुन्य अभियान चलाउनु , जनतालाई दुः ख नदिनु ,टोल टोलमा गएर टोल मुखियासग समन्वय गर्दै योजना बनाउनु , हाम्रो राज्य जनताले तिरको कुतबाट चल्ने सेवा केन्द्र हो कसैको ससुराली होईन जतिबेला मन लाग्यो त्यतिबेला आउने ? २, ४ मिनेट ढिला हुनेलाई घर फर्काउदै हाजिर फाईलमा रातो लगाउने म छदैछु” भन्दै थर्काए । ”वाफ् रे वाफ् ! हिजो फुक्काफाल हिडिरहेको आज आएको ठिटो, घाँटीमा जिम्मलको कार्ड भिरेको छु भन्दैमा हामीलाई सिकाउने ?” कतिलाई जिम्मलको प्रस्तुतिले घोच्यो त धेरैलाई रजगज समाप्त हुन लागेकोमा आत्मसम्मानमा ठुलै ठेस पुग्यो । जिम्मलले पनि अलिकति बिचार नपुर्याउदा एकदिन ठुलै मुखियाको रथ साँरथीसग घम्साघम्सी नै पर्यो । मुखियाको कार्यकक्षमा भएको घम्साघम्सिमा अप्रिय घटना भने हुन पाएन ।

मुखियाको कार्यकक्षमा भएको उक्त धम्साधम्सि सेवकहरुको भनाई अनुसार जिम्मलको अत्याचार र जिम्मलको भनाई अनुसार सुधारको प्रयासलाई विफल बनाउने कार्यको परिणाम यति तल्लो स्तरमा पुग्यो कि जनताले तिरेको कुतबाट चलेको राज्यमा सुन्नै नसक्ने गालीका बर्षाहरु भए । जिम्मल ”आफ्नो गृह राज्यको सुधारका लागि थिति बसाल्छु भन्दा यस्तो गर्ने ?” भन्दै राज्यले प्रदान गरेको अध्यङ्कसङ्गणक र भ्रमणध्वनि क्रमाङ्कः टेवलमा राखेर बाहिरिए । तत्पश्चात टुटे फुटेका सेवकहरुको समुह, एक अर्कालाईदेखि नसहने सेवकहरु एकजुट भए र सल्लाह भयो ”अब त्यो जिम्मललाई व्यास राज्यको दरवारमा छिर्न नै नदिने ।”

हे मान्यवर, व्यास राज्यमा घटेको असली कथा त श्री स्वास्थानी व्रत प्रारम्भ हुने दिन अर्थात पुष २२ गते शुक्रवारका दिन बिहान व्यास राज्यको दरवार खुलेपछि शुरु भयो । जिम्मलले अन्याय अत्याचार गरेको आरोप लगाएर लगभग लगभग सबै सेवकहरु एकजुट भएर जिम्मलको कार्यकक्षमा राखिएको नेमप्लेट झिकेर फ्याँकियो, कार्यकक्षमा ताला लगाईयो, जिम्मललाई फिर्ति पठाउनका लागि हस्ताक्षर अभियान चलाईयो र भनियो ”श्रीमान् मुखियाज्यु यो जिम्मललाई यो राज्यबाट धपाईयोस् ।”

बृहस्पतिवार बिहान जिम्मलले आफ्नो रथ हाँक्नेलाई भने ” मैले प्रयोग गर्ने गरेको रथ लिएर आउनु मलाई आराम छैन म एकादेशको राजधानी जान्छु ” तर जिम्मल विरुद्ध एकजुट भएकाहरुले किन दिने त्यस्लाई रथ भनेर साँरथीलाई रथको साँचो नै दिएनन् त्यसपछि जिम्मल आफ्नै सुरमा व्यास राज्य छोडेर एकादेशको राजधानीतिर लागे ।
एक कान दुई कान मैदान व्यास राज्यको राजधानीमा भएको काण्ड गाउँ शहरभरि फैलियो । धेरैले ”व्यास राज्यमा उहिल्यैदेखि सधै यस्तै हो छोटे मुखियाहरु आफुलाई मुखिया र जिम्मलभन्दा धेरै माथि सोच्छन् । जो मुखिया र जोे जिम्मल आएपनि यीनीहरुलाई तह लाउन कसले सक्दैन । विचरा केहि थिति बसाल्न खोजेका थिए तर चाँस्निमा डुबुल्की मार्न पल्केकाहरुले दिएनन् ” भनेर भनिरहे । सेवकहरुले एकजुट भएर ”हाम्रो पनि पिडा छ” भनेर भनिरदा त्यो कुरा कसैले पनि सुन्न र पत्याउनै चाहेन ।

हे मान्यवरहरु, उक्त दिन नै व्यास राज्यका वरिष्ठ मुखियाहरुको नियमित सभा बस्नु पर्ने थियो । बैठक प्रमाणित गर्ने जिम्मल नै उपस्थित नभएपनि बैठक बस्यो । जिम्मल उपस्थित नभएको बैठकले पुष २८ गते माघ कृष्ण पन्चमी बृहस्पतिवारका दिन राज्यको बृहत सभा गर्ने निर्णय गर्यो ।

व्यास जस्तो विराट राज्यमा आएका जिम्मललाई साथ दिने अरु नहुने त कुरै भएन जब जिम्मलको बारेका खबर फैलियो जिम्मलका शुभचिन्तकदेखि व्यास राज्यमा पकड बनाउन अग्रसर सबैले ”के गर्या त्यस्तो ?” भनिरहे । । ”जिम्मलको कार्यशैली हैकमवादी छ” भनेपनि बृहस्पतिवारको घटनापश्चात उनी गलत थिए भन्नुको कुनै अर्थ नै थिएन । धेरैले जिम्मलले हिजो अन्याय गरेको भए पहिल्यै किन बाहिर ल्याएनौे भनेर उल्टो प्रश्नको ओईरो गरिरहे ।

शनिश्चरवार विदा भयो रविवार व्यास राज्यमा घटेको घटनाको हल्ला जताततै फैलिएपछि सत्यतथ्य बुझ्न धेरै समुहहरु व्यासका मुखियासग सम्पर्कमा आए । कोहि थर्काउने शैलीमा वार्गेनिगं गर्न आए, कोहि ”खुच्चिगं ” भन्न आए । जो जति आए सबैले ”देख्यौ नि तिमीहरुले जिम्मल हाम्रै गोत्रको भन्थेउ नि त्यसैले तिमीहरुको तेल निकाल्दैछ” भन्न आए । कोहि कोहि त ”हामीलाई त के छ र देशमा हाम्रो शासन चल्दैछ यो जिम्मललाई आउन दिएनौ भने हाम्रै जिम्मल ल्याउछौ अनि तिमीलाई नचाउछौ” भन्न पनि आए ।

सोमबारका दिन व्यास राज्यका सेवकहरुले जिम्मलको अन्याय अत्याचारको बारेमा पत्रकार सम्मेलन गर्ने भनेपनि त्यो भनाई पानीको फोका जस्तै भयो । तर सोमवार नै एउटा तस्विरले भने निकै हल्ला फैलायो । उक्त तस्विरले व्यास राज्यमा शासन जमाएकाहरुको मथिगंल नराम्ररी रिगांयो । व्यास राज्यका जिम्मल एकजना दारी पालेका देशकै तेश्रो चौथो ठुलै मुखियासगको नारिएको ताजा तस्विर सार्वजनिक भयो । चर्किएको मन झनै चर्किएर आयो । सबैको मनमा डरले डेरा जमाउन थाल्यो ”ति जिम्मल समग्र तन्हौं राज्यको जिम्मल भएर त आउने हैनन् ? अब के होला ?” चक्कर लाग्यो भाउन्न भएर आयो , ”ओहो ! त्यसो भयो भने त न समाउने हाँगो हुनेछ न टेक्ने डाँलो त्यो परिस्थिति आईलाग्नुभन्दा पहिल्यै नै जिम्मललाई फर्काउन तात्ने ” निर्णय भयो ।

हे मान्यवर, पुष २६ मंगलवारका दिन पुषको जाडोको वेवास्ता गरि बिहान ८ बजे व्यास राज्यका मुखियाहरुको बैठक राखियो । बैठकमा सेवकहरुका मुखियाहरुले ”जिम्मलबाट सारै नै अमानविय व्यवहार भएको” दोहोर्याएपनि राज्यका धेरै मुखियाहरुले ”एकपक्षिय रुपमा कुरा सुनेर कसैलाई पनि दोषि करार गर्न नसकिने” बताए भने मुखिया, सहायक मुखिया र टोलका मुखियाहरुले ”राज्यलाई यसरी बन्धक बनाएर राख्न नपाईने जिम्मललाई डाँक्नुपर्ने” बताईरहदा सेवकका मुखियाहरुले ”जिम्मललाई यस स्थानमा टेक्न नै दिन नहुने” कुराहरु दोहोर्याईरहे । जिम्मललाई लिन रथ पठाउनु पर्ने सभाको निष्कर्ष भयो तर रथ हाँक्ने सारथीलाई रथको साँचो नै नदिएपछि कुरा पुनः मुखियाको कार्यकक्षमा पुग्यो । जिम्मलको कार्यशैलीबाट सन्तुष्ट नभएपनि अर्को वरणम् नभएपछि मुखियाले ”जिम्मल आएपछि जस्को गल्ती भएपनि कुरा मिलाउने” बताएपनि सेवकका मुखियाहरु त्यो कुरा मान्न राजी भएनन् । सेवकहरुको यस्तो चालाले आफ्ना ५ बर्षे अवधि त्यत्तिकै जाने कुरालाई मध्यनजर गर्दै टोल टोलका मुखियाहरु भुत्भुताउदै दिउँसो २ बजे पुनः बैठक बस्ने बाचासहित भुजा ज्युँनार गर्न बाहिरिए । त्यसपछि पनि व्यास राज्यका मुखियासग विभिन्न समुहका अगुवाहरुले भेटी ”व्यास राज्यको बदनामी भईरहेकोले समस्या सामाधान गर्न” आग्रह गरे ।
हे मान्यवर, त्यसपछि पुनः ३ बजेबाट मुखियाहरुको बैठक बस्यो । बैठकको मुख्य एजेण्डा थियो ” पुष २८ गते माघ कृष्ण पन्चमी बृहस्पतिवारका दिन गर्ने भनिएको व्यास राज्यको बार्षिक सभा जिम्मलको उपस्थिति र हस्ताक्षर विना आधिकारिक हुनैसक्दैन त्यसैले जिम्मुवाललाई ल्याउन धेरैभन्दा पहल गर्ने ।” व्यास राज्यकै २ नम्बर टोलका मुखियाले ‘‘जिम्मललाई व्यास राज्यबाट पदच्युत गर्ने आफुहरुको सामर्थ्य नभएको र जिम्मल नभईकन बैठकले आधिकारिकता नपाउने” बताएपछि व्यास राज्यका मुखियाले ”भोलि बिहान भाँलेको डाँकसगै जिम्मललाई लिन रथ जाने” बताएपछि सबै मुखियाको मुहारमा मुस्कान छायो ।
रात्रीको समयमा व्यासका मुखियाको भ्रमणध्वनि क्रमाङ्कःको ध्वनि जिम्मलको भ्रमणध्वनि क्रमाङ्कः बिच कनेक्सन भयो । तत्पश्चात व्यास राज्यबाट पठाईएको रथमा सवार भएर व्यासका जिम्मल व्यासको राजधानी आईपुगे ।

हे मान्यवर, यसरी बिक्रम सम्वत् २०७९ साल पुष २१ गते बृहस्पतिवार पुष शुक्ल चर्तुदशीका दिनदेखि ऐ. ऐ. साल पुष २७ गते माघ शुक्ल चर्तुदशी बुधवारसम्म व्यास राज्यको दरवारमा चलेको व्यास पुराण गल्ती कस्को हो निर्क्यौल नभएपनि केहिसमय थाँमिएको छ तर सामाधान भएको छैन । मैले यसरी साँझको समयमा व्यास पुराण लेखिरहदाँ बाहिर कसैले भनेको सुने ”पिक्चर अभि बाँकि हे मेरे दोस्त ।”
श्री व्यास राज्ययाँ नमो नमः ।

(कथा काल्पनिक भएपनि कसैको जिवनमा मेल खाएमा संयोग मात्र हुनेछ )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?