कस्ता काम गर्न नजान्ने हाकिम हुन् के नखाईकन बाँच्न सकिन्छ ग्याष्ट्रिक हुदैन ?
शहिद दिवसको दिनमा मासु खानुहुन्न भनेर बोका काट्न नदिदाँ त्यो बोकाले बाख्रिलाई दिएको दुःखको क्षतिपुर्ति पैसाले खरिद गर्न सकिन्छ हाकिमसाब् ?
अलि अलि हावा त पुष २१, २२ गतेदेखि नै चलेकै हो हिजो फागुन १६ गते त निकै ठुलो हावाहुरी नै आयो , कतिले त त्यो हावाहुरीलाई अनिष्टको संकेत माने भने थोरैले शुभ संकेतको रुपमा हर्षबढाई गरे । कतिले पुष २१ गतेदेखि ल्याउन खोजिएको हिजो आएको हावाहुरी मन पराएनन् र सामाजिक सिंजालभरि लेखें । ढिलै भएपनि एकजना चर्चित युवा हाल व्यास १३ का वडा अध्यक्ष बसन्त आले जस्लाई धेरैले विद्यार्थीकालका तनहूँका गगन थापा मान्ने गर्थे उनले फेसबुकमा स्टाटस लेखे ”आशा थियो, भरोसा थियो। बादल लागेको थियो, किसानलाई पानी पर्छ भन्ने थियो, हावाले उढाएर लगेछ, पोखरातिर। जहाँ भए पनि लोकको कल्याण हुनेछ भन्ने बिश्वास छ।” आलेको त्यो स्टाटससगै व्यास नगरपालिकामा साउनदेखिको बसाईबाट लखेटिएका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाको तस्विर पनि थियो ।
वडा अध्यक्षका आफ्ना भावना होलान् तर व्यासका भर्खरै लखेटिएका प्रमुख प्रशासकिय अधिकृत अर्थात हाकिमको बारेमा दमौलीका पार्टी आश्रित बुद्धिजिवीहरुको अलि भिन्न धारणा रहेको पाईन्छ ।
‘‘अरे यार ! त्यो पनि तरिका हो ? प्रमुख प्रशासकिय अधिकृत (हाकिम) भए भन्दैमा कुन कर्मचारी कति बेला आउछ, हाजिर गरेको छकि छैन, कार्यालयको ड्रेस लगाएको छैन चेक गर्ने ? एक दिन म सेवाग्राहीको रुपमा कार्यालय गएको त हाकिम हाजिर चेक गर्न हिडेका रे । कर्मचारीलाई आर्दशको पाठ पढाउन हिडेका रे । ति हाकिमले अमिताभ बच्चनको फिल्म हेरेका थिएनन् क्या हो अमिताभ बच्चनले भन्छन् नि ”हम् जहाँ खडे हो जाते है लाईन वहि से शुरु होता है ” त्यस्तै हाम्रो व्यासमा पनि ”जस्ले जे गरेको छ त्यसैलाई नियम मान्नुपर्छ” भन्ने बुझ्न सकेनन् बिचरा बिचैमा लखेटिए । त्यस्ता हाकिम लखेटिएकोमा त एउटा नगरवासीको नाताले खुच्चिगं भन्छु म त” एकजना बुद्धिजिविको भनाई थियो । ”कागको हुलमा बकुल्ला बन्न खोज्ने बेलैमा लखेटे ठिकै भयो ” नजिकै उभिएका एकजनाले ”हो” मा ”हो”थपे ।
म पनि ति मनुवाहरुको तर्कमा एकदमै सहमत भए के भएको छैन व्यास नगरपालिकामा र ति हाकिम सुधार्छु भनेर कस्सिएका ? काठमाण्डौका उतिबेलाका चर्चित टेलिभिजन कार्यक्रम संचालक रवि लामिछानेदेखि गण्डकी छड्केका अपिल त्रिपाठीले त हाम्रो नगरपालिकाको नाम लिएकै छन् । महालेखा परिक्षकको प्रतिवेदन नियाल्यो भने बिकास निर्माणमा फड्को मारेको नभेटिए पनि बेरुँजु, फजुल खर्चमा हाम्रो नगरपालिकाले बर्षैपिच्छे नाम टप फाईभमा परेकै छ ।
के रे नाम हरिराम नागिला हो क्यारे ति हाकिमको ! एकदिन अन्तर्वार्तामा भनेको सुनेको थिए ”व्यास मेरो जन्मभुमी हो म यो नगरको भलो चाहान्छु , बेरुँजु अचम्मसग घटाउछु । अघिल्लो बर्ष खाजा खर्चमा १ करोड १० लाख रुपैयाभन्दा बढि रकम खर्च देखियो त्यो खर्च शुन्यमा झार्छु ।” कस्ता काम गर्न नजान्ने हाकिम हुन् के नखाईकन बाँच्न सकिन्छ ग्याष्ट्रिक हुदैन ? अनावश्यक काम गर्न खोज्ने के ति हाकिम पनि, २५ लाख खर्च गरेर बर्षैपिच्छे गरिने मानहूँकोटदेखि पुलिमरागंसम्मको व्यास अल्ट्रा म्याराथन ६ लाख रुपैया खर्च गरेर सम्पन्न गरे । आखिर मान्छेहरुलाई मासुभात, काजु बदाम खानै नदिईकन भोकभोकै राखेर केलाई जोगाउन खोजेका हुन् तिन्ले जनताले हाडछाला घोटेर राजश्व तिरेको पैसा ? अझ कतिसम्म भनेका थिए भने ”म्याराथनमा त्यत्रो पैसा किन खर्च गर्ने बरु त्यो एकबर्षमा खर्च गरिने २५ लाख रुपैयाले बर्षैपिच्छे कुनै भौतिक संरचना बनाईदिम् न सधैलाई हुन्छ ।” मानिसको २ दिनको चोला भोलि होला कि नहोला ? थाहा रहेनछ क्या हो तिनलाई ? बडो गज्जबका रहेछन् नरगपालिकाको सम्पत्ति जोगाउनुपर्छ भनेर लागे । अरु त अरु सधै १ लाख ५० हजार रुपैयामा हुने सार्वजनिक सुनुवाई जम्मा ५० हजार रुपैयामा सम्पन्न गरेछन् । होईन ति हाकिम काम गरेर खाईरहेका मान्छेलाई बेरोजगार बनाउन व्यासमा आएका हुन् कि के हो ? हेर्नुस् त व्यास अल्ट्रा म्याराथनको दिन अर्थात शहिद दिवसको दिनमा खसि, बोकाको मासु र भात सुरप्प सुरुप्प खादाँ कति मजा आउथ्यो पैसा जोगाउने निहूमा खाने, पचाउने सबलाई बेरोजगार बनाए ! अझ पशु अधिकार हनन् भएको देख्दा त ति हरिराम नागिला भन्ने हाकिमलाई मुद्दा हाँलु हाँलु जस्तो भाछ मलाई त ” तिम्ले शहिद दिवसको दिनमा मासु खानुहुन्न भनेर बोका काट्न नदिदाँ त्यो बोकाले बाख्रिलाई दिएको दुःखको क्षतिपुर्ति पैसाले खरिद गर्न सकिन्छ हअ हाकिमसाब् ?” हाकिम भएर पनि त्यति पनि सोच्न नसक्ने ? अझ भन्दै थिए ”बर्षमा करिब ३० लाख रुपैया त विभिन्न तालिमका लागि खर्च भएको छ, त्यो तालिमको आउटपुट केहि देखिएन त्यो रुपैया लगानी गरेर व्यासका विभिन्न वडाहरुमा बर्षैपिच्छे घरेलु तथा उत्पादनमुलक ,उद्योग, कलकारखाना खोलौ न रोजगारी बढ्छ रे” के पारा हो कुन्नी ? विदेशबाट आएको तरकारी, फलफुलदेखि लुगासम्म, गुन्द्रुकखेखि टपरीसम्म प्रयोग गर्दाको आनन्द कलकारखाना खोलेर रोजगार हुदाँ कहाँ पाईन्छ ? मुखले पो ”स्वदेशी उत्पादन प्रयोग गरौ भन्ने हो यहाँ कस्ले बाचा गरे अनुसारको काम गरेको छ र ?” बुझि बुझि बुझ पचाएका हुन् कि बुझ्न नचाहेका हुन् ति हाकिमले ? अझ ”नगरपालिका डिजिटल सिस्टममा लैजानुपर्छ, गाउँ गाउँमा स्वास्थ्य शिविर चलाउनुपर्छ , योजना छनौट वडा वडामा टोल टोलमा हुनुपर्छ” भन्दै केहि सिस्टम बसाएर गए ।
व्यास नगरको पुरानो बासिन्दा भएपछि तिनले बुझ्नु पर्दैन हामी जस्तो छ त्यस्तैमा रम्ने बानी परेका छौ। हामीलाई बेरुजुँ जति भएपनि मतलब छैन । ढिलासुस्ति जति भएपनि मतलब छैन । यी काम नभएका पत्रकारहरुले व्यासको बेथितिको बारेमा जति लेखेपनि मतलब छैन भन्ने। रवि लामिछाने सिधा कुरा जनातसगमा देखाओस् कि अपिल त्रिपाठीकी के भन्नेले गण्डकी छड्के पड्केमा कुरा काटोस् हामीलाई के मतलब ? आँखामा पावरवाला चश्मा लगाएर , घाँटिमा नेपाल सरकारको कर्मचारीको परिचयपत्र झुण्ड्याएर आएर हाकिम हुँ भन्दै हामीलाई सिकाउने ? हाम्रो आनन्दसग दौडिरहेको नगरपालिकामा कागको हुलमा बकुल्ला बन्न खोज्ने ?
आज त २ किलो खसिको मासु लगेर २,४ पनि होईन तिनलाई सम्झदै १० सिट्टी लगाएर खान मन लागेको छ र तिन्को फोटो हेर्दै भन्न मन लागेको छ खुचिगं हाकिम.. हामीलाई सिकाउन खोज्ने ? देखियो नि पावर ? एय सर बाटोमा हिड्दा त ”हाकिम साब् निकै राम्रो काम गर्नुभाछ हामी तपाईको साथमा छौ ” भन्नुभएको थियो नि भनौला … भन्न त के के भनियो के के पढेर हाकिम हुने ले बुझुनु पर्ने नि ”कुन्नि के लाई हो के पच्दैन भन्ने ” हो म त्यहि हुँ क्या ।
( हैट ! सपना के के बोलेछु के के . आजकलको प्रविधिले पनि हैरानै बनायो म निन्द्रामा बोले आफै टाईप भएछ । हाकिम साब् हजुर गईबसिक्यो मलाई सारै दुःख लागेको छ निन्द्रामा बर्बराएर के के बोले के के माफ पाउँ है।)
(मनोवाद लेखकका निजी बिचार हुन् ।)









