तनहूँ । कोरोना माहामारीको प्रकोपका कारण तीर्थस्थल देवघाटमा हरेक बर्ष माघे सङ्क्रान्तिको दिनमा हुने मेला यस बर्ष स्थगन गरिएको छ ।
पवित्र यस वर्ष माघेसङ्क्रान्ति मेला नहुने भएको छ । हरेक वर्ष देवघाटमा हुने माघे सङ्क्रान्तिको मेला यस वर्ष नहुने तनहूँको देवघाट क्षेत्रविकास समितिले जनाएकोे छ ।
तीन जिल्ला चितवन, तनहूँ र नवलपरासीका सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थितिमा भएको बैठकले मेला नगर्ने निर्णय गरेको हो ।
माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति भनिएको हो । उक्त दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकाले दिन लामा र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
भविष्य पुराण, विष्णुबचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यसदिन पवित्र तीर्थस्थलमा स्नान गरी घीउ, चाकु, तिलको लडडु, सागपात, तरुल, बस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।
देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा दुई दिनअघि देखिनै आएर मेला भर्ने प्रचलन रहेकोे थियो , उक्त मेलामा छिमेकी मुलुक भारत र नेपालभरिबाट भक्तजन यहाँ आउने गर्छन् । समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार माघे सङ्क्रान्तिमा ३६ घण्टाको अवधिमा पाँच लाख तीर्थालु भक्तजन मेला भर्न आउने गरेको अघिल्ला बर्षहरुको तथ्याङ्क रहेको छ ।
पुस मसान्तमा बेनीमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गर्ने गरिन्छ । मेला नभए पनि विधि भने पूरा गरिने जनाइएको छ । साथै समितिले सकेसम्म घरमै रहेर पुजा गर्न आग्रह गर्दै स्नान मात्र गर्न आउनेलाई भने हामी रोक्दैनौं तर स्वास्थ्य सतर्कता अपनाएर स्नान गर्न अनुरोध गरेको छ ।








