युएईको सेक्यूरिटी कम्पनीका २५ नेपाली श्रमिक १० महिनादेखि बन्धकः दूतावासले नसुनेको श्रमिकको गुनासो

  • ख-
  • ख+

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को अवुधाबी मुसफास्थित अल फलाह सेक्यूरिटी सर्भिस र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी कम्पनीले २५ नेपाली युवालाई सबै सेवा सुविधाबाट वञ्चित गरेर बन्धक अवस्थामा राखेको छ ।

काम गरेबापत पाउनु पर्ने तलब, ओभरटाइम भत्ता र इन्ड अफ सर्भिस (उपदान) को रकमसमेत नदिई कम्पनीले बन्धक बनाएको हो । सेक्यूरिटी गार्डको रूपमा त्यहाँ कार्यरत नेपाली कामदारलाई विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर क्याम्पमा बन्धक अवस्थामा राखिरहेको अवुधाबीबाट केही दिनअघिमात्र नेपाल आएका पासाङ वाईबाले नेपाल प्रेसलाई बताए ।

वाईवाले भने, ‘त्यस कम्पनीमा १२ वर्ष अघिदेखि काम गरेका नेपालीहरू छन् । उनीहरूले काम छोडेर स्वदेश फर्किँदा पाउनु पर्ने रकम ठूलो परिमाणमा छ । कुनै मेनपावरबाट नभई एजेन्टमार्फत त्यहाँ काम गर्न पुगेका थियौं । म केही दिनअघि मात्रै नेपाल आएको हुँ’, पासाङले भने, ‘भिसा सकिएका र कम्पनीले बन्धक बनाएर २५ जना नेपाली श्रमिकलाई त्यहीँ राखेको छ । उनीहरूले विभिन्न सुविधाको १ करोडभन्दा बढी रकम भुक्तानी पाउनुपर्ने छ ।’

उनका अनुसार अल फलाह र नाइट्सब्रिजले विभिन्न समयमा राजीनामा दिन बाध्य पारेर १० महिनादेखि विभिन्न बहाना र झूठो आश्वासन दिई आबुधावीको वेस्ट बानियास, अल मफ्रक, चाईना क्याम्प, वर्कर सिटी-२ स्थित अल ईशोस भिलेज क्याम्पमा बन्धक बनाएको छ ।

बन्धक बनाइएकामध्ये कतिपयको भिसाको अवधि सकिएका कारण ‘ओभर स्टे’ भएर हिँडडुल गर्न नपाउने अवस्थामा छन् । उनीहरूले आफूहरूले पाउनुपर्ने रकम दिलाउन मागसहित अवुधाबीस्थित नेपाली दूतावासमा अगष्ट ३ तारिखमा पुनः निवेदन दिएका छन् । यसभन्दा अघि पनि पटक(पटक निवेदन दिएकोमा सुनुवाइ नभएको पीडित श्रमिकहरूको गुनासो छ ।

‘हामी विगत १० महिनादेखि बेरोजगार भई क्याम्पमा बन्दी जसरी बस्नु परेको छ । यसरी बस्दा मानसिक आघात, फ्रस्ट्रेसन, डिप्रेशनको सिकार बनेका छौं । यहाँ आएर आर्थिक उपार्जन गरी घर व्यवहार धान्नुपर्ने हाम्रो जिम्मेवारी कम्पनी कै लापरबाही र बेवास्ताका कारण भताभुङ्ग बनेको छ । त्यसैले राजदूतसँग हामीले पाउनुपर्ने सम्पूर्ण इन्ड अफ सर्भिस रकम र १० महिनासम्म विनाकाम क्याम्पमा बन्दी बनाई राखेको हुँदा त्यसको क्षतिपूर्तिसमेत दिलाई दिन पूर्ण आशाका साथ सविनय अनुरोध गर्दछौं,’ बन्धक बनाइएका श्रमिकले यूएईस्थित नेपाली राजदूतलाई बुझाएको निवेदनमा उल्लेख छ ।

अल फलाह र नाइट्सब्रिज ग्लोबल सेक्युरिटी दुबईमा दर्ता गरेको कम्पनी जाएद फलाह हामुद जराह अल कतानीले चलाइरहेकोमा दुवै कम्पनी योजनावद्ध रुपमा बन्द गराई भाइको नाममा अर्को नयाँ सेक्यूरिटी कम्पनी नाइट्सब्रिज ग्लोबल सेक्यूरिटी अवुधाबीमा दर्ता गरेका छन् । पुरानो कम्पनीमा काम गरिरहेकाहरूलाई दिनुपर्ने तलबभत्ता नदिई नयाँमा काम गर्न दबाब दिन थालिएको छ ।

पासाङका अनुसार नयाँ कम्पनीमा काम सुरू गर्न अल फलाहमा काम गर्ने श्रमिकहरूसँग भिसाबापत प्रति व्यक्ति ४५ सय दिराम ९१ लाख ६२ हजार रूपैयाँ० जबर्जस्ती तिर्न भनिएको छ । उपदानबापतको रकम नलिई नयाँ कम्पनीमा आबद्ध नहुने भए राजीनामा गर्न दबाब दिइँदै आइएको छ । कम्पनीको दबाबकै कारण बाध्यतावस राजीनामा दिएको नेपाली श्रमिकको भनाइ छ । सो कम्पनीमा नेपाली बाहेक पाकिस्तान, फिलिपिन्स, भारतलगायतका मुलुकका डेढ सयको हाराहारीमा श्रमिक छन् ।

बन्धक बनाएर राखिएका नेपाली श्रमिकमध्ये कहीको भिसाको अवधि सकिसकेको छ । यस अगाडि सो कम्पनीका काम गरेका १४ जनाले गत फागुन २१ गते श्रम सचिवलाई सोही प्रकृतिको पत्र पठाउँदै आफूहरूले पाउनुपर्ने रकम दिलाइदिन आग्रह गरेका थिए । युएईस्थित नेपाली दूतावासका श्रम काउन्सेलर दिनबन्धु सुवेदीले सो कम्पनीमा काम गरेका र रकम नदिइएका नेपालीहरुलाई न्याय दिलाउन दूतावासले निरन्तर प्रयत्न गरिरहेको भन्दै आश्वासन दिएका थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यूएईमा काम गर्ने २५ जना नेपाली श्रमिक बन्धक बनाएकोबारे मन्त्रालय र श्रम विभागलाई कुनै जानकारी नभएको बताए ।

यी हुन् १० महिनादेखि बन्धकमा परेका २५ नेपाली श्रमिक
दिनेश उप्रेती, देवप्रसाद पुलामी, शिभराम गिरी, शुशील लामिछाने, पासाङ लामा, प्रितम थापामगर, इन्द्रबहादुर बस्नेत, किसनबहादुर विक, प्रदीप विष्ट, उज्वल रेग्मी, शमित सिंह, डिकबहादुर कार्की, मीनकुमार राई, दिलानन्दसिहं धामी, रेशमबहादुर मगर, सन्तोश थापा, सुरेन्द्र बुढाथोकी, आत्मराम भण्डारी, किशोर शाही, विवेक शिवा, मिनराज गिरी, राजेश भट्ट, विक्रम पन्त र विशाल क्षेत्रीलाई विगत १० महिनादेखि कम्पनीले बन्धक बनाएर राखेको छ ।

दूतावासमा उनीहरूले बुझाएको संयुक्त निवेदन

(नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्