साउन ३० । तनहूँ । तनहूँको दमौलीमा निर्माणाधिन सभागृह अपागंमैत्री नभएकोमा सरोकारवालाहरुको गम्भिर आपत्ति जनाउनुभएको छ । उक्त भवन पुर्णरुपमा मानवमैत्री/अपाङ्गता मैत्री बनाउने प्रक्रिया सुरु नभए भदौ १ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रने र सो समयमा उत्पन्न हुने सम्पुर्ण परिस्थितिहरुको जिम्मेवार सरकार नै हुने बताईएको छ ।
सहृदयी मञ्च तनहूँ, नेपालको समन्वयमा यहि श्रावण ७ गते सङ्घीय सरकारको लगानीमा तनहूँको दमौलीमा निर्माण भइरहेको जिल्ला सभागृह हलको अवलोकन गरेको थियो । अवलोकन पश्चात साउन १० गते जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्लेलाई ध्यानाकर्षण पत्र बुझाइएको र सो पत्रको बोधार्थ सरोकारवाला विभिन्न निकायहरूमा पठाइएको थियो । साथै श्रावण २१ गते राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, सचिव कृष्ण प्रसाद अधिकारी लगायतका पदाधिकारी र जिल्लामा क्रियाशील अपाङ्गता भएका ब्यक्तिहरु सहितको एक प्राविधिक टोलीले उक्त भवनको पहुँचयुक्तता परिक्षण गरेको थियो । उक्त परिक्षणको क्रममा भवन नेपाल सरकार पक्षधर रहेको अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धी महासन्धी २००६, विभिन्न ऐन, नियमावली, निर्देशिका र आचारसंहिता अनुरुप (Universal Design) मानवमैत्री रअपाङ्गता मैत्री नभएको पाइएकाले यसलाई सुधार गर्न महासंघले यहि श्रावण २८ गते नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ पोखरा समक्ष विभिन्न १४ बुँदे सुझावहरु पेश गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरुलाई समाजबाट झनै एक्ल्याउने मनसायबाट यस्ता भवनहरुको निर्माण भएको र ध्यानाकर्षण पत्रमा उपलब्ध गराइएको समयसिमा भित्र यस सुझावहरुको अक्षरस पालनागरि उक्त भवन पुर्णरुपमा मानवमैत्री बनाउने प्रक्रिया सुरु नभएको खण्डमा भाद्र १ गते देखि अपाङ्गता भएका ब्यक्तिहरु चरणबद्ध आन्दोलनमा उत्रन पनि सहृदय मन्च तनहूँले सबैलाई अपिल गरेको छ ।








