४ सय वर्षअघि नै मल्लकालमा स्थापित ‘सिंहदरबार वैद्यखाना’मा औषधी उत्पादन ठप्पः बन्दको संघारमा

  • ख-
  • ख+

काठमाडौं—देशकै सबैभन्दा पूरानो औषधी उत्पादन गर्ने सरकारी आयुर्वेदिक औषधी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । कुनै बेला देशको ८० प्रतिशत आयुर्वेदिक औषधीको हिस्सा ओगट्ने सिहंदरबार वैद्यखाना विकास समिति पछिल्लो ४ महिनादेखि एउटा मात्रै प्रडक्ट उत्पादनमा सिमित थियो । अझ पछिल्लो २ महिनादेखि कच्चा पदार्थको अभावमा त्यो पनि बन्द भएको छ । औषधी उत्पादन बन्द भएपछि विकास समितिका स्थायी ४१ र नेपाल सरकारतर्फका २ जना गरी ४३ कर्मचारी बिहान १० बजे कार्यालय पुगेर हाजिर गरी घाम तापेर फर्कने गरेका छन् । ‘दुई महिनादेखि अफिस आएर हाजिर गयो, घाम ताप्यो बस्यो,’ वैद्यखानाका कविराज सुमन झा भन्छन्, ‘चार बजे हाजिर गयो, घर गयो ।’ लामो समयदेसखको राजनीतिक खिचातानीका कारण कच्चा पदार्थ खरिद गर्न नसकेपछि हाल कुनै पनि औषधी उत्पादन हुन सकेको छैन । यसअघि वैद्यखानाको समेत कार्यभार सम्हाल्ने गरी आयुर्वेद विभागका महानिर्देशक डा। बासुदेव उपाध्यायलाई निर्देशकको समेत जिम्मेवारी दिइएको थियो । सो समयमा कच्चा पदार्थको खरिद प्रक्रिया अन्तिम अवस्थामा पुगेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले उनको जिम्मेवारी खोसेर नरदेवी आयुर्वेदालयका निर्देशक डा. प्रदीप केसीलाई निर्देशकको जिम्मेवारी दिएका थिए । तर, डा। केसीले आफ्नो दरबन्दी नभएको ठाउँमा नजाने अड्डी कसेपछि सो खरिद प्रक्रिया नै अन्योलमा परेको समितिका कर्मचारीहरु बताउँछन् । ‘औषधी उत्पादन गर्ने कच्चा पदार्थ नै नभएपछि काम ठप्प भएको हो,’ झा भन्छन्, ‘कच्चा पदार्थ भएको भए हाकिम नहुँदा पनि काम चलिरहन्थ्यो ।’ वैद्यखाना पछिल्लो दुई वर्षदेखि चरम राजनीतिक चपेटामा परेको छ । मन्त्रीपिच्छे कार्यलय प्रमुख परिवर्तन गर्ने परिपाटी लागेको वैद्यखाना पछिल्लो समय यति वेहाल अवस्थामा पुगेको छ कि त्यहाँ जान अधिकारीहरु नै हिचकिचाउन थालेका छन् । त्यसको ज्वलन्त उदाहरण डा. केसी हुन् । नरदेवी आयुर्वेदिक औषधालयका निर्देशक रहेका उनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले गत कार्तिकमा वैद्यखानाको निर्देशकमा काजमा पठाएका थिए । उनी दरबन्दी नभएको ठाउँमा काजमा नआउने भन्दै अदालत गएका छन् । तर, भित्री कुरा भने वैद्यखाना विकास समितिमा आएर सुधार गर्न नसकिने बरु बदनाम हुने डरले नआएको उनी निकट स्रोत बताउँछ । ‘बाहिर हेर्दा उहाँले आफ्नो दरबन्दी नभएको ठाउँमा नजाने भनेर अडान राख्नुभएको छ,’ स्रोतले भन्यो ‘तर, वैद्यखानामा यति राजनीति घुसेको छ, अब त्यो जो हाकिम आएपनि बदनाम नै हुने देखेर नआउनुभएको हो ।’ देशकै गौरवको उद्योग रहेको सिंहदरबार वैद्यखाना ठप्प हुँदा मन्त्रालयले प्रभावकारी कदम नचालेको कर्मचारीहरुले आरोप लगाएका छन् । वैद्यखानाका एक कर्मचारी मन्त्री बस्नेतले गम्भीरता नबुझ्दा वैद्यखाना बन्द हुन लागेको बताए । ‘कच्चा पदार्थ खरिद प्रक्रियाको अन्तिम समयमा आएर नेतृत्व परिवर्तन गर्नु भनेको मन्त्रीज्यूमा जिम्मेवारीबोध नभएको देखियो,’ ती कर्मचारी भन्छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भने मन्त्रालयले खटाएका डा. प्रदीप केसीले जिम्मेवारी नलिँदा वैद्यखानाको यो अवस्थामा पुगेको बताउँछन् । ‘अदालतको आदेशअनुसार ११ औं तहको आयुर्वेद चिकित्सक मन्त्रालयले पठाएको हो,’ उनले भने, ‘उहाँ गएर काम गर्दिनुभएको भए यो समस्या आउँदैन्थ्यो ।’ उनले डा. केसी अदालत गएको हुँदा अदालतको निर्णय नआएसम्म कार्यलय प्रमुखको विषयमा मन्त्रालयले केही गर्न नसक्ने बताए । झण्डै ४ सय वर्षअघि नै मल्लकालमा सिंहदरबार वैद्यखाना स्थापना भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्