नेपाली चिया पाकिस्तानमा चिया निर्यात हुदै

सर्वज्योति
  • ख-
  • ख+

नेपाली अधिकारीहरूले चियाको प्रमुख आयातकर्तामध्येको देश पाकिस्तानमा नेपाली चिया निर्यात सुरु गरिएको बताएका छन्।

इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी चिया व्यवसायीहरूले नेपाली चियाको माग गरेको र नेपालबाट चिया निर्यातका लागि पहल भइरहेको जानकारी दिए।

यहाँका व्यापारीहरूको संस्था टी असोसिएसनु भन्ने छ। त्यसका पदाधिकारीहरूसँग पटक(पटक छलफल गरेर यहाँको कुरा नेपालका उत्पादकहरूसँग आदानप्रदान गरिसकेपछि दुवैतर्फ एउटा समझदारी भएको छ,” उनले भने।

उनका अनुसार नेपालबाट नियमित चिया आयात गर्न पाकिस्तानका व्यवसायीहरू तयार देखिएका छन्।
पाकिस्तानले वर्षमा १७ करोड किलोग्राम चिया खपत गर्ने गरेको बताइन्छ। जसमध्ये अधिकांश चिया केन्या, युगान्डा लगायतका अफ्रिकी देशहरूबाट आयात हुन्छ।

“यहाँ ठूलो मात्रामा चिया केन्या र युगान्डाको मात्रै छ। नेपालको चिया अलि फरक स्वादको हुने भएकाले त्यसले पनि एउटा आकर्षण दिएको मेरो चाहिँ अनुभव छ,” राजदूत अधिकारी भन्छन्।

१६५ करोड किलोग्राम चिया निर्यात
नेपाली अधिकारीहरूका अनुसार नेपालले वर्षमा करिब तीन करोड किलोग्राम चिया उत्पादन गर्ने गरेको छ। त्यसमध्ये दुई करोड किलोग्राम उत्पादन सीटीसी चियाको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालले गत आर्थिक वर्ष एक करोड ६५ लाख किलोग्राम चिया विदेश निर्यात गरेको थियो। जसबापत नेपालले करिब चार अर्ब राजस्व आम्दानी गरेको थियो।

तर गत वर्ष साउनदेखि मङ्सिरसम्मको निर्यातको परिमाणको तुलनामा यो आर्थिक वर्षको मङ्सिरसम्म चियाको निर्यात १६ प्रतिशतले घटेको भन्सारको तथ्याङ्कमा उल्लेख छ।
गत वर्ष आर्थिक वर्षको पहिलो पाँच महिनामा एक करोड किलोग्राम चिया निर्यात गरेको नेपालले यो आर्थिक वर्षको पहिलो पाँच महिनामा जम्मा ७१ लाख किलोग्राम मात्रै चिया निर्यात गरेको छ।

नेपालमा उत्पादन भएर बजारका लागि सङ्घर्ष गरिरहेको चियाको बजारका लागि आफूले पाकिस्तानमा पहल गरेको राजदूत अधिकारीले बताए।

नेपालमा उत्पादन हुने सीटीसी चियाको करिब ५० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ भने अर्थोडक्स चियाको करिब ९० प्रतिशत हिस्सा निर्यात हुने गरेको छ। सीसीसी जस्तै अर्थोडक्स चियाको पनि सबैभन्दा ठूलो बजार भारत रहेको बताइन्छ।

अर्थोडक्स चाहिँ नेपालमा आठ देखि १० प्रतिशत मात्रै खपत हुने गरेको छ। बाँकी हिस्सामध्ये अधिकांश भारतमा र केही युरोपेली लगायत अन्य देशहरूमा निर्यात हुन्छ।

पाकिस्तानमा चिया पठाउन सुरु, फाइदा कस्तो
झापाको बिर्तामोडमा रहेको चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारीका अनुसार पछिल्लो महिना ३५ देखि ४० हजार किलोग्राम चिया पाकिस्तान जाने तयारीमा रहेको बताउँछन्।

“एक कन्टेनर गइसक्यो। अर्को एक कन्टेनर भन्सारको प्रक्रियामा छ,” उनले भने।

पाकिस्तानका लागी नेपालका राजदूत अधिकारीका अनुसार त्यहाँ अझै १०० टन चियाको माग भएको छ।

नेपालको सीटीसी चिया निर्यातको प्रमुख बजार भारत हो। बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी पाकिस्तानमा नेपाली चिया निर्यात हुँदा प्रतिस्पर्धी मूल्य हुने भएका कारण उत्पादकलाई फाइदा हुने बताउँछन्।

“यहाँको उत्पादन र आपूर्ति प्रणालीमा सरकारी स्तरमै अलिकति गृहकार्य गरेर सम्झौता गर्ने हो भने अहिले नेपाली चियाको बजारमा देखिएको जुन विकराल समस्या छ यसको समाधानको लागि एउटा विकल्प हुनसक्छ,” उनले भने।
उनका अनुसार भारतको भन्दा करिब १० रुपैयाँ बढी मूल्य दिन पाकिस्तानी व्यापारीहरू तयार देखिएका छन्। तर चियाको गुणस्तर अनुसार मूल्य फरक पर्ने उनले बताए।

“पाकिस्तान यो क्षेत्रको चियाको ठूलो उपभोक्ता देश हो। दक्षिण एशियामै ठूलो आयातकर्ता भएकोले आउने दिनमा नेपाली चियाको लागि ठूलो अवसर आउनसक्छ,” उनले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्