पुत्रशोकमा विक्षिप्त बुवाआमाको रहस्यमय निधनः एकजना सुतिरहेको र अर्को झुन्डिएको अवस्थामा मृत भेटियो

सर्वज्योति
  • ख-
  • ख+

रुपन्देही । चार वर्षअघि छोराको मृत्यु भएपछि पाल्पाको रिब्दीकोट ८ फेक काहुलेका गाह परिवार मानसिक रूपमा विक्षिप्त जस्तै बनेका थिए । तीन छोरीपछि चौथो सन्तान रहेका छोराको मृत्युपछि ५१ वर्षका अम्मरबहादुर गाहा र ४५ वर्षका श्यामकला गाहा दिनहुँ मदिरा सेवन गर्ने र टोलाउँदै हिँड्न थालेका थिए ।

साधारण परिवारका उनीहरूको यो अवस्था देख्दा उनका छिमेकीहरू पनि आश्चर्यमा पर्न थालेका थिए । दुई छोरीको बिहे गर्दिइसकेका र कान्छी छोरी बुटवलमा पढ्दै गरेको अवस्थामा गाउँमा उनीहरू दुई जना मात्रै बस्दै आएका थिए ।

सधैँजस्तै आइतबार पनि दुई जना नजिकैको होटलमा पुगेर रक्सी पिएर केही रक्सी लिएर घरमा फर्केका थिए तर अचानक सोमबार उनीहरू दुवै जना रहस्यमय तरिकाले मृत भेटिएका छन् । गाह परिवारका छिमेकी तथा सोही वडाका जनप्रतिनिधि थम्मन उचैका अनुसार श्रीमती घर नजिकै घाँटीमा निल डामसहित मृत अवस्थामा भेटिएकी छन् भने श्रीमान् कोठामा झुन्डिएको अवस्थामा भेटिएका छन् ।

कोठामा असरल्ल राखिएका खानेकुरा र पसलबाट लिएर आएको रक्सी पनि भेटिएको छ । स्थानीयका अनुसार रक्सी सेवन गरेर घरमा आएका गाह परिवार एकआपसमा बाझिएर झगडा गरेपछि श्रीमान् अम्मरले श्रीमतीको हत्या गरेको र पछि घटना बाहिर जाने डरले आफूले आत्महत्या गरेको हुनसक्छ ।

छिमेकी थम्मन उचैले भने, ‘४ वर्षअघि छोराको मृत्यु भएपछि दुवै जनाको अवस्था सहज थिएन, पहिले निकै साधारण र मेहनती परिवार थिए, तीन छोरीमध्ये दुईको बिहे भइसकेको र एक छोरीले बुटवलमा पढ्ने भएकाले उनीहरू घरमा एक्लै बस्थे, घटनाको प्रकृति हेर्दा झगडापछि श्रीमतीको हत्या गरेर श्रीमानले आत्महत्या गरेकोजस्तो देखिन्छ, प्रहरीको अनुसन्धानले अन्य कारण भए पत्तो लगाउला ।’

उनका अनुसार गाउँमा गाह परिवारको कसैसँग रिसबी र झगडा सुनिएको थिएन ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले रिब्दीकोट गाउँपालिका वडा नं. ८, फेक काहुलेका श्यामकला गाहा र उनका श्रीमान् अम्मरबहादुर गाहा मृत अवस्थामा भेटिएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले श्रीमती श्यामकला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेकी हुन् भने श्रीमान् अम्बरबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान टोली खटिएको थियो । दुवैको जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टम गरिएको छ ।

साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्