फरार मेयरले भने: सहकारीको बचतले सम्पत्ति जोडेका हौं, फिर्ता गर्न नगद छैन

सर्वज्योति
  • ख-
  • ख+

२३ माघ, पोखरा । पोखरा र बागलुङको इमेज सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीले बचतकर्ताको रकमबाट समेत आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् । तर आफूसँग अहिले बचतकर्ताको रकम फिर्ता गर्न नगद नभएको उनले बताएका छन् ।

बचतकर्ताले ठगीमा उजुरी दिएपछि गत जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत हुन् ।
मंगलबार फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै नेपालीले सहकारीको रकमबाट समेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट बचतकर्ताको रकम फिर्ता गर्ने चाहना दोहोर्‍याएका छन् ।

गत जेठ ५ गतेदेखि फरार मेयर देवकुमारले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । फेरि मंगलबार घर र जग्गाको विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उल्लेख गरेका छन् ।
‘विगतमा हामीले सहकारी सञ्चालन गर्दा हाम्रो केही निजी रकम र सहकारीका शेयर सदस्य बचतकताले जम्मा गरेको बचत तथा बैंकहरुवाट समेत ऋण लिएर स्थिर सम्पत्ति जोडेका छौं’, आफू र श्रीमती छेला नेपालीको नाममा रहेको घरजग्गाको विवरण उल्लेख गर्दै नेपालीले भनेका छन् ।

यो सम्पत्ति आजको आजै बिक्री वितरण गरेर सदस्यहरुलाई नगद रकम बचत फिर्ता गर्ने अवस्था नभएका कारण आफूहरु समस्यामा परेको उनले बताएका छन् । नेपालीले भनेका छन्, ‘यो सम्पत्ति बिक्री वितरण गर्दा बैंकको ऋण र बचतकर्ताको बचत फिर्ता गर्न सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं ।ु

बचतकर्ताको रकम फिर्ता गर्न आफू पूर्णरुपमा प्रतिबद्ध रहेको नेपालीले बताएका छन् । घरजग्गाहरु बिक्री वितरण गरेर प्राप्त हुने रकमबाट बैंकहरुबाट लिएको ऋण भुक्तान गरी सदस्य बचतकर्ताहरुको बचत फिर्तां गर्ने कुरामा साथ दिन पनि उनले अपिल गरेका छन् ।

ठगी मुद्दामा बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्दा दर्ता गरिएको छ ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्