इन्सपेक्टरले जागिर छोड्न बाध्य पारेको प्रहरी जवानको आरोप

सर्वज्योति
  • ख-
  • ख+

२३ माघ, धनगढी । कञ्चनपुरमा पाँच महिनाअघि सुनको सिक्री हराएको प्रकरणमा मुछिएका प्रहरी जवानले आफूलाई सिनियर प्रहरी अधिकृतले जागिर छाड्न बाध्य पारेको आरोप लगाएका छन् ।

गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नरेन्द्र नाथले कञ्चनपुरमा कार्यरत हुँदा जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक विनु शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको दाबी गरेका हुन् ।

बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताएका नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा बिदाको निवेदन स्वीकृत भएरनभएको बुझ्न जाँदा बिनाकारण प्रहरीले हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाएका छन् ।

सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको नाथको भनाइ छ । तर, प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताएकी छन् ।

२२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको शाहीको भनाइ छ ।

तर, भोलिपल्ट सम्झाइबुझाइ गरेर छाडिएको बताउँदै शाहीले नाथसँग सोही दिन पहिलोपटक भेट भएको बताइन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए ।

उनले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएको बताउँदै उजुरी परेमा छानबिन गरिने बताएका छन् ।

सिक्री हराएको घटनामा नाथलाई कारबाही

यस्तै जिल्ला प्रहरी कार्यालयले नाथलाई सिक्री हराएको घटनामा कारबाही समेत गरेको खुलेको छ । गत असोज ६ गते भीमदत्त नगरपालिका(२ को उल्टाखाम चोकमा स्थानीयबीच झगडाका क्रममा कैलालीको गोदावरीका गणेशराज भट्टले लगाएको सुनको सिक्री हराएको थियो ।

स्थानीयले घटनास्थलमा भेटेपछि तत्काल प्रहरी चौकी बागफाँटामा कार्यरत उनै प्रहरी जवान नाथलाई बुझाएको थिए ।

तर नाथले सुनको सिक्री बुझ्न जाँदा टुक्रा टुक्रा पारी पटकपटक गरी बुझाएको भन्दै भट्टले जिल्ला प्रहरी कार्यालयमा गुनासो गरेको डीएसपी डाँगीले बताए ।

त्यसबारे छानबिन गर्दा नाथले प्रहरीलाई बुझाएको सिक्री सुरक्षित साथ सम्बन्धित व्यक्तिलाई बुझाउनुपर्नेमा नगरेको र नियतबस टुक्राटुक्रा पारी पटकपटक गरी सम्बन्धित व्यक्तिलाई बुजाएको देखिएपछि उनलाई कारबाही गरिएको थियो ।

डीएसपी डाँगीले नाथले पदीय आचरणविपरीत काम गरेको देखिएपछि मंसिर १२ गते अभिलेखमा रहनेगरी नसिहत दिइएको बताए । त्यसको भोलिपल्ट नाथलाई जिप्रका कञ्चनपुरले उनको दरबन्दी भएको जिल्ला प्रहरी कार्यालय सरूवा गरिदिएको थियो ।

तर नाथले बाजुरा गएको महिना दिन नपुग्दै ८ पुसमा राजीनामा दिएका थिए । राजीनामा लेखेर बिदामा महेन्द्रनगर आएका नाथलाई पुस २२ गते मात्र जिल्ला प्रहरी कार्यालयमा देखिएका थिए ।

नाथले प्रहरी निरीक्षक शाहीले आफू बाजुरा सरूवा भएर गएपछि समेत अनावश्यक तनाव दिन थालेपछि राजीनामा गरेको बताउँदै आएका छन् ।

कञ्चनपुर प्रहरीले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेर अनावश्यक दुस्ख दिएको विषयमा उजुरी आएमा छानबिन गर्ने बताएको छ तर अहिलेसम्म नाथले उजुरी नदिएको डीएसपी डाँगीले बताए ।

साभारः अनलाईन खबर

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्