फोहोर टिप्ने भेषमा ‘रेकी’ गरेर ९४ लाख चोर्ने भारतिय समुह पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । काठमाडौँको तिलगंगामा बसेर फोहोर टिप्न हिँड्ने समूह तिनवटा ठुला चोरीमा संलग्न भएको भेटिएको छ । बोरा बोकेर फोहोर टिप्न हिँडेको बहानामा घर र डेरा निगरानी गरेर चोर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत घर भएका २६ वर्षीय विकाश पोद्धार उर्फ लक्काले सो समूहको नेतृत्व गर्छन् । उनको समूहका ५ जना प्रहरीको नियन्त्रणमा छन् । ‘लक्का’ सहित भारत घर भएका २८ वर्षीय जितेन्द्र पोद्धार, २७ वर्षीय भाइलाल पोद्धार, ४० वर्षीय सञ्जय पोद्धार र ५० वर्षीया मञ्जुदेवी पोद्धार काठमाडौँका ३ वटा ठुला चोरीमा संलग्न देखिएका छन् ।

२८ माघमा गोकर्णेश्वर नगरपालिका–४ माकलबारीस्थित दिलमाया आलेमगरको घरमा चोरी भयो । ५० वर्षीया दिलमायाका परिवार दिउँसो सवा २ बजेतिर ढोका बन्द गरेर बाहिर निस्किए । फर्किंँदा ढोकाको ताला फुटाएको अवस्था देखेपछि दिलमायाले प्रहरीलाई खबर गरिन् । दिलमायाको घरबाट आमा र छोरीको सुनका गहना करिब ६५ लाख बराबरको चोरी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । रेग्मी भन्छन्– ‘त्यस्ता ३ वटा चोरीमा भारतीय समूह संलग्न देखिन्छन् ।’

माकलबारीमा चोर्नुअघि उनीहरुले २८ माघमा नै गोकर्णेश्वरस्थित गीता राईको घरबाट ४ लाख १० हजार चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार २४ माघमा बुढानीलकण्ठ नगरपालिका–१० स्थित दिनेश घिमिरेको घरबाट उनीहरुले २५ लाख बराबरको सुनका गहना चोरी गरेका हुन् ।

चोरीमा संलग्न ५ जना आरोपीहरू गौशालास्थित तिलगंगामा बस्छन् । फोहोर टिप्ने बोरा बोकेर ‘योजनाबद्ध’ रूपमा घरहरू रेकी गर्छन् अनि, चोर्न छिर्छन् । अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिलबहादुर मल्ल भन्छन्– ‘घरधनी हिँडेपछि समूह नै मिलेर चोर्ने र सामान व्यवस्थापन गर्ने गरेको देखिन्छ ।’

मान्छे घरमा नभएको मौका छोपेर चोर्ने समूहको नेतृत्व गर्ने विकास पोद्धार उर्फ लक्का घरभित्र छिर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्ल भन्छन्– ‘चोर्ने बेलामा मान्छे आइपुगेमा बाहिर बस्नेहरूले बाजा बजाएर वा ढोका ढकढक्याएर सङ्केत गरेर भाग्ने गरेको देखिन्छ ।’

चोरीमा संलग्नहरू दिउँसोको समयमा चोर्न पस्छन् । आरोपितहरूले चोरेको ३१ तोला ९४ लाल सुनका गहना बरामद गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । रेग्मी भन्छन्– ‘सो समूहले ९४ लाख १० हजार बराबरको गहना र नगद चोरेको अनुसन्धानबाट थाहा भएको छ ।’

गुडियामा लुकाउँथे चोरेको गहना

चोरेको गहना आरोपीहरूले बच्चाहरूले खेल्ने ‘गुडिया’ मा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । आरोपीहरूले राख्न दिएको सुनका गहना भारतीय नागरिक रानीदेवीले ‘गुडिया’ मा लुकाएर राखेको अवस्थामा बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए ।

पक्राउ परेकी मञ्जुदेवी पोद्धारले पनि गुडियामा लुकाएर राखेको गहना प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न मञ्जुदेवीको छोरा सुशील पोद्धार फरार छन् ।

आरोपीहरूले झ्यालको ग्रिलसमेत उप्काएर चोर्न पस्ने र बाहिर रेकी गर्नेले ‘आवाज’ दिएपछि खतराको सङ्केत मानेर निस्कने गरेको प्रहरीसँग बताएका छन् । अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्– ‘घर बाहिर सडकमा हेर्ने टोली खटाएर उनीहरू चोर्न पस्ने गरेको देखिन्छ ।’

तिलगंगास्थित पोडेटोलमा बस्ने आरोपीहरूलाई दिलमायाको घरबाट चोरेर हिँडेको अवस्थामा क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको फुटेजको आधारमा पक्राउ गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्