सुप्रिम सहकारीका अध्यक्ष र शाखा व्यवस्थापक चापागाईं पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

रूपन्देही । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ। बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय बुटवलले बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डेयलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

इप्रका बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले लुम्बिनी प्रदेशको सहकारी रजिष्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताहरुको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको बताए ।

अध्यक्ष गुरुङलाई विहीबार र पाण्डेयलाई शुक्रवार पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको उनले बताए ।
रुपन्देहीलगायत आसपासका जिल्लाका १० हजार ३९१ जना बचतकर्ताहरुको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना गरी एक वर्षदेखि संस्थाका संस्थापक अध्यक्ष एवं संरक्षक गितेन्द्र बहादुर (जिबि) राई सम्पर्कविहीन छन्।

सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो।
राईले आफू आवद्ध रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा विभिन्न ५ वटा मितिमा १२ करोड १४ लाख ८४ हजार ८६०, जिपि ग्रुप एण्ड कम्पनी लिमिटेडमा विभिन्न सातवटा मितिमा गरी १४ करोड ९९ लाख ५९ हजार ५२०, स्प्रीङ उड रियल स्टेड हाउजिङ प्रालिमा तीनवटा मितिमा ६ पटक गरी १८ करोड २१ लाख ७८ हजार १८३ रुपैयाँ ऋण लगेका थिए।

त्यस्तै राई संचालक रहेको नेचर नेष्ट प्रालिमा विभिन्न तिनवटा मितिमा २ करोड ८९ लाख ७१ हजार ८८५ र गितेन्द्र बाबु राईको नाममा तिनवटा मितिमा ६ करोड २० लाख ८८ हजार ४८९ रुपैयाँ गरी ७८ करोड ५० लाख ७६ हजार बढी रकम ऋण लगेका थिए। पाँचवटा कम्पनीमा लगेको ऋणवापत राईले सहकारीलाई व्याज मात्रै ९ करोड १९ लाख १ सय रुपैयाँ बुझाउनुपर्ने छ। सावाँ र व्याज गरी ८७ करोड ६९ लाख ७६ हजार ७६५ रुपैयाँ लिएर राई सम्पर्कविहीन भएका छन्।

त्यस्तै अन्य संचालक तथा विभिन्न ५२ जना ऋणीहरुलाई दिएको २४ करोड ३ लाख ९३ हजार ७२५ रुपैयाँ पनि सहकारीले उठाउन सकेको छैन। ती ऋणीहरुले पनि व्याजवापत मात्रै ३ करोड ९८ लाख १९ हजार ७७५ रुपैयाँ बुझाउन बाँकी देखिन्छ। बचतकर्ताहरुको यति ठूलो रकम हिनामिना गरी संरक्षक राई फरार भएपछि बचतकर्ताको उजुरीको आधारमा प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखा व्यवस्थापक पाण्डेयलाई पक्राउ गरेको हो। रूपन्देहीमा प्रदेश र संघमा दर्तावाल १ दर्जनभन्दा बढी सहकारी संकटमा परेका छन् ।
साभारः नेपाल प्रेस

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्